शनिबार , जेठ २५, २०८२

सप्तरी । तराई मधेसका जिल्लामा अत्याधिकरूपमा गर्मी बढेको छ । पानी परेको छैन, तापक्रम दिनदिनै बढ्दो छ । यसले मधेसमा गर्मी असह्य बनेको छ । बिहानैदेखि लाग्ने चर्को घामले जनजीवन कष्टकर बनाएको छ । उखरमाउलो गर्मीले सहर-बजारमा दिउँसो चहलपहल पातलिएको छ । गर्मी यति बिघ्न छ कि पङ्खाबिना एकै क्षण बस्न पनि गाह्रो छ ।

सप्तरीको बोदे बर्साईन नगरपालिका-३ मधुवनका रामअशिष यादवका छोरा १८ वर्षीय रामनरेश यादव आज घरबाहिर निस्कन सकेनन् । टन्टलापुर घाम र गर्मीका कारण घरबाट बाहिर निस्कन नसकेका उनी हावा खान घरकै बरन्डामा बसे । असह्य गर्मीका कारण पर्खालमा टेबल पङ्खा राखेर हावा लिन थाले । अचानक हातले पङ्खामा छुन पुगेका रामनरेश करेन्ट लागेर घाइते भए । घाइतेलाई उपचारका लागि छिन्नमस्ता अस्पताल राजविराज ल्याइयो । चिकित्सकले ढिला भएको भन्दै मृत घोषणा गरे ।

करेन्ट लागेर सप्तरीमा योसमेत नयाँ आर्थिक वर्षमा मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । साउन १८ गते कञ्चनरूपमा बुहारीलाई करेन्ट लागेको देखेर जोगाउन जाँदा ससुरा समेतको मृत्यु भएको सप्तरीवासीले बिर्सिएका छैनन् । कञ्चनरूप नगरपालिका-६ घोघनपुरका नरेश सरदारकी श्रीमती २० वर्षीया अञ्जली सरदारलाई करेन्ट लागेको देखेर जोगाउन गएका उनका काका ससुरा ४० वर्षीय मधु भनिने सौदानन्द सरदारको समेत मृत्यु भएको थियो । घर आँगनमा रहेको ट्युबवेलमा जडान रहेको पानी तान्ने मोटर चलाउँदा अञ्जलीलाई करेन्ट लागेको थियो ।

यसैगरी सप्तरीको राजगढ गाउँपालिका-२ कमलपुर बस्ने दुखी साहका छोरा ५६ वर्षीय शिवशङ्कर साहको समेत साउन १७ गते करेन्ट लागेर मृत्यु भएको थियो । आफ्नै घरको आँगनमा रहेको चापाकलमा जडान गरिएको मोटरमा पानी तान्ने क्रममा करेन्ट लागी उनको मृत्यु भएको हो । खडक नगरपालिका-११ लालपुरमा साउन ९ गते खेतमा सिँचाइ गर्नका लागि जडित मोटर खोल्ने क्रममा करेन्ट लागेर ६० वर्षीय शत्रुघ्न खङ्ग मण्डलको ज्यान गयो ।

लापरवाहीकै कारण सप्तरीमा गत एक वर्षको अवधिमा करेन्ट लागेर १२ जनाले अकालमा ज्यान गुमाएका छन् । यो वर्षको सुरुआतमै पाँच जनाको करेन्ट लागेर मृत्यु भइसकेको सप्तरी प्रहरीले जनाएको छ ।

आर्थिक वर्ष २०७८/०७९ को तथ्याङक हेर्दा करेन्ट लागेर ज्यान गुमाउनेको सङ्ख्या १२ र घाइते हुनेको सङ्ख्या २६ जना रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जानकारी दिएको छ । ज्यान गुमाउनेमा चार महिला, छ पुरुष र दुई बालक रहेका छन् । जिल्ला प्रहरी कार्यालय सप्तरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेका अनुसार करेन्टका ४० घटनामा तीन चौपायाको समेत मृत्यु भएको छ । घाइते हुनेमा १२ महिला, आठ पुरुष र छ बालक थिए ।

ज्यान गुमाउनुको मुख्य कारण मानिसहरूको लापरवाही र विद्युत् प्राधिकरणको पनि लापरवाही हुने गरेको जिल्ला प्रहरी कार्यालयको निष्कर्ष छ । सावधानीपूर्वक बिजुलीको प्रयोग गर्न, बिग्रेका विद्युत् उपकरणको समयमै मर्मत गरेर उपयोग गर्न र गैरकानूनी तरिकाले बिजुलीको दुरूपयोग नगर्न सप्तरी प्रहरीले अपिल गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP