बिहिबार , बैसाख ४, २०८२

इन्द्र गुरुङ्ग ब्लूबेरी रियलस्टेटका हाउस एण्ड ल्याण्ड प्याकोजको लागि परियोजना बिक्री कार्यकारी अर्थात् प्रोजेक्ट सेल्स् एक्जुकेटिभ हुनुहुन्छ । यस क्षेत्रमा उहाँको दुई वर्ष भन्दा बढीको अनुभव रहेको छ । यती फुटबल क्लबमा पनि सक्रिय गुरुङ्ग नेपाल फेस्टिबलमा प्रमुख प्रायोजकको रुपमा ब्लूबेरीलाई चिनाउन पाउँदा खुशी लागेको बताउनुहुन्छ । हामीले नेपाल फेस्टिबलसम्बन्धी केही प्रश्नहरु गरेका थियौ र उहाँले ब्लूबेरी रियलस्टेटको नै प्रतिनिधि गरेर उत्तर दिनुभएको छ । प्रस्तुत छ उहाँसँग कुराकानी गरेको केही अंश

नेपाल फेस्टिबल मेल्वर्नको टाइटल स्पोन्सर ब्लूवेरी रियल स्टेट रहेको छ । टाइटल स्पोन्सर गर्नुको उद्देश्य ?

सबैभन्दा पहिले त तपाईंलाई प्रश्नको लागि धन्यवाद । नेपाल फेष्टिभल मेलबर्नको आयोजना विगत लामो समयदेखि भइरहेको छ । कम्तिमा पनि दुई वर्षमा एक पटक हामी नेपाली सबै एकै ठाउँमा भेला हुने मात्र होइन आफ्ना अष्ट्रेलियन साथीहरुलाई पनि हाम्रो समूदाय, समाज देखाउने अवसर यो बेला प्राप्त हुन्छ । यस्तो अवसरमा गैरआवासीय नेपाली संघले हामीलाई नेपाल फेष्टिभल मेलबर्न २०२२ को यात्रामा सहयात्रीका रुपमा सहभागी हुन गर्नुभएको आग्रहलाई हामीले स्वीकार गरेका हौं । हामी कुनै न कुनै रुपमा सहभागी त भइनै हाल्थ्यौं तर मुख्य प्रायोजन नै बनेर नेपाल फेष्टिभलमा आफ्नो उपस्थितिको पछाडी हामी हाम्रो व्यवसायका बारेमा धेरैभन्दा धेरै नेपालीहरुलाई थाहा होस् भन्ने चाहन्छौं । यो नै मुख्य कारण हो भन्ने लाग्छ । तर, योसँगै नेपाली भाषा, संस्कृति, गीत, संगीतको प्रबद्र्धन गर्न पनि नेपाल फेष्टिभलले महत्वपूर्ण भूमिका निर्वाह गर्छ भन्ने लाग्छ । हामीले अष्ट्रेलियामा हुर्कदो हाम्रो दोश्रो पुस्तालाई पनि आफ्नो उद्गमस्थल, भाषा, संगीतको ज्ञान दिन आवश्यक छ । उनीहरुलाई यस्ता कार्यक्रममा सहभागी गराउनु आवश्यक छ र यस्तो कार्यमा हामी सदैव समाज र समूदायका साथमा छौं भन्नका लागि पनि हामीले यो निर्णय गरेका हौं ।

नेपाल फेष्टिभलमा प्रमुख प्रायोजक बन्दा धेरै लगानी पनि गर्नुपर्छ भनिन्छ । तपाईंहरु ब्लूबेरी रियलस्टेटको मात्रै प्रबद्र्धन गर्न चाहनुहुन्छ कि फेष्टिभलमा अरु पनि योजना छन् ?

ब्लूबेरी रियलस्टेट हामीले सुरु गरेको केही समय मात्र भएको छ । तर, हामी यो विजनेसमा विगत लामो समयदेखि छौं । अझ अहिले त हामी रियलस्टेट व्यवसायमा यसको योजना, विकासको तहमा पनि काम गरिरहेका छौं । धेरै कमर्सियल प्रोजेक्टहरुमा समेत हाम्रो संलग्नता छ । ब्लूबेरी, भीडीए फाईनान्स एण्ड क्यापिटलले भिक्टोरियामा रहेका नेपाली समूदायका धेरैलाई आफ्नो सेवा दिइसकेको छ । उहाँहरुको प्रतिक्रियाबाट हामी उत्साही छौं । तर, नेपाल फेष्टिभलमा भने हामीले ब्लूबेरीलाई नै प्रबद्र्धन गर्न जोड दिनेछौं । किनकि, हामी चाहन्छौं यो नेपाली समूदायसम्म मात्र सीमित नबनोस् । अष्ट्रेलियाकै विश्वासिलो ब्रान्ड बनाउने हाम्रो योजना हो । नेपाल फेष्टिभलका टाईटल स्पोन्सर गर्ने भन्ने कुरा सजिलो त होइन तर यति पैसा तिरियो । यो धेरै हो या थोरै हो भन्ने हामीले हिसाब गरेका छैनौं । माथि नै भनियो यो समूदायसँगको सहकार्यका लागि पनि हो अनि हाम्रो व्यवसायिक प्रबद्र्धन पनि हो ।

फेस्टिबलमा कतिवटा स्टल राख्दै हुनुहुन्छ ?

टाईटल स्पोन्सरको रुपमा हामीले प्राप्त गर्ने स्टलहरु नै हामीले राख्ने हो । मेरो विचारमा सम्झौतामा यो विषय लेखिएको छ । हामी ब्लूबेरी रियलस्टेटको दरिलो उपस्थिति त्यहाँ आउने दर्शकहरुसमक्ष राख्नेछौं । अहिलेलाई यत्ति नै भनौं ।

नेपाल फेस्टिबलमा तपाइँहरुको लक्षित ग्राहक नेपाली मात्रै हुन्छ कि अरु समुदायको पनि ?

शायद यसको जवाफ मैले माथि दिइसकेको छु । तर, फेरि भन्छु नेपाल फेष्टिभल खासमा नेपालीहरुको लागि मात्र होइन । यो त बहुसांस्कृतिक अष्ट्रेलियामा नेपाली समूदायको उपस्थिति देखाउने एउटा माध्यम हो । मेलबर्नको मुटु फेडेरेसन स्क्वायरमा नेपाली चन्द्रसूर्य अंकीत झण्डा फहराउँदै नेपाल फेष्टिभल मनाउनु आफैंमा गर्वको विषय हो । त्यसैले हाम्रो लक्षित वर्ग बृहद अष्ट्रेलियन समाज नै हो ।

नेपाली समुदायका अन्य रियल स्टेट विजनेशहरुले पनि नेपाल फेस्टिबलमा भाग लिदैँछन् । तपाइँ यसलाई कस्तो रुपमा लिनु हुन्छ ?

यो एकदमै खुशीको कुरा हो । पछिल्लो समयमा नेपालीहरुको रोजाईको पेशा रियलस्टेट बन्न पुगेको छ । हामी समग्र अष्ट्रेलियन रियल स्टेट विजनेसको कुरा गर्ने व्यक्तिहरु हौं त्यसैले यसमा कसको, को को सहभागी भन्ने विषय रहेन । हामी मुख्य प्रायोजकका रुपमा रहेका छौं । अन्य साथीभाईहरु पनि यसमा आउनुहुन्छ भने थप खुशी नै हुनेछौं ।

हरेक दुई वर्षको अवधिमा आयोजना हुने नेपाल फेस्टिबलले कति हद सम्म नेपालको कला, संस्कृति, भाषा, भेषभूषा र खानालाई प्रवद्र्धन गरेको जस्तो लाग्छ ?

प्रबद्र्धन भएको छ । हामीले धेरै नेपाल फेष्टिभल देखिसकेका छौं । १० वर्ष अघि नेपाल फेष्टिभलमा कुनै एउटा नेपाली गीतमा नाचेको हाम्रो दोश्रो पुस्ता अहिले परिपक्व युवा बनिसकेका होलान् । उनीहरुलाई नेपाली भाषा, कला, संस्कृतिमा यो सहभागिताले रुचि जगायो होला । यस्तै हामीले देख्ने गरेका छौं नेपाल फेष्टिभलको दिनभर त नेपाली दौरा सुरुवाल लगाउने हो भन्ने पनि कैयौ जमात छन् । त्यति गर्न नसकेपनि कम्तिमा परेडमा आउँदा त हामीले आफ्नो भेषभूषा देखाउनुपर्छ भन्ने धेरै नै भेटेको छु । अर्कोतर्फ हामीले के पाएका छौं भने नेपाल फेष्टिभल केही घण्टाको नभएर पूरै दिनभरको कार्यक्रम हुँदा यहाँ फुड स्टल राख्ने कैयौं नेपाली रेष्टुरेन्टहरुले पनि आफ्नो सेवालाई थप मानिसहरुमाझ लैजान पाएका छन् । विदेशीहरु जो एक पटक नेपाल गएका छन् र नेपाली खानाको पारखी छन् उनीहरुको लागि त एकै ठाउँमा विभिन्न स्वाद प्राप्त गर्नसक्ने संगम नै बन्छ होला नेपाल फेष्टिभल । यी सबै कारणहरुले गर्दा तपाईंले भनेजस्तै नेपाल फेष्टिभलले नेपाली भाषा, संस्कृति, गीत संगीत मात्र नभएर नेपाली खानाहरुको समेत प्रबद्र्धन गरेको छ भन्ने लाग्छ ।

कसरी नेपाल फेस्टिबललाई अझ उच्चस्तरिय र विशेष बनाउन सकिन्छ जस्तो लाग्छ ?

यो नेपाल फेष्टिभल हरेक वर्ष उत्कृष्ट र थप परिमार्जित हुँदै गएको छ यो हामी सबैलाई थाहा छ । अघिल्लो पटक भन्दा केही नयाँ गरौं भन्ने सबैको ध्येय हुने गर्दछ । हामीले मुख्यत ध्यान दिनुपर्ने विषय हाम्रा अन्य अष्ट्रेलियन बहुसांस्कृतिक समाजका व्यक्ति व्यक्तित्वहरुको सहभागिता हो । यदि हामीले त्यसतर्फ ध्यान दिन सक्यौं भने यो अझ विशेष बन्नेछ । हाम्रो नेपाल फेष्टिभलमा भिक्टोरियाका मुख्यमन्त्रीलाई किन नबोलाउने ? हामीले अष्ट्रेलियाकै संघीय सरकारका उच्चस्तरीय अतिथिलाई किन नडाक्ने भन्ने लाग्छ । हामीले यस्तो गर्न सक्यौं भने उनीहरुको माझमा पनि अष्ट्रेलियन अर्थतन्त्रमा हामीले दिएको योगदान । बहुसांस्कृतिक समाजमा हाम्रो पहिचान र नेपाली मूलको अष्ट्रेलियन हुनुको गौरवबोध गर्न पाउनेछौं भन्नेमा म ढुक्क छु ।

अन्त्यमा नेपाल फेस्टिबलमा खट्नु हुने सबैजनालाइ  के भन्न चाहनुहुन्छ ?

हेर्नुहोस् । हामीले नेपाल र नेपालीको फेस्टिबलमा सानो इँटा थप्ने काम गरेका हौ । नेपाल फेष्टिभलमा हामीले धेरै मानिसको सहभागिताको कुरा गर्छौं । तर, यसको पछाडि नेपथ्यमा बसेर काम गर्ने सबै मानिसहरु स्वयंसेवी भावनाले यसमा सहभागी भएका छन् भन्दा यसै पनि गर्व लाग्छ । किनकि, उनीहरु सबैको एकमात्र उद्देश्य भनेको नेपाली गीत, संगीत, संस्कृति, परम्परा र परिकारहरुको प्रबद्र्धन नै हो । समग्रमा अष्ट्रेलियामा नेपालको प्रबद्र्धन नै हो । हामीले लाखौं डलर खर्च गरेर पनि प्राप्त गर्न नसक्ने स्वयंसेवकहरुमार्फत पाइरहेका हुन्छौं । यसैकारण पनि यो विशेष उत्सव हो भन्ने मलाई लाग्छ । नेपाल र नेपालीको फेस्टिबलमा सानो इँटा थप्ने काम गरेका छौ। म आज तपाईंको यो मिडिया मार्फत नै यी तमाम स्वयंसेवकहरुलाई नमन गर्न चाहन्छु । उहाँहरुले दिनुभएको योगदानका लागि धन्यवाद भन्न चाहन्छु । अन्त्यमा पुराखबर टिमलाइ पनि धेरै धेरै धन्यवाद ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP