मंगलबार , बैसाख २९, २०८३

काठमाडौं । काठमाडौं महानगरपालिकाको पहिलो नगर कार्यपालिका बैठकमा विवाद उत्पन्न भएको छ । फोहोरमैलाको समस्या समाधानका लागि कार्यदल बनाउने निर्णय लिने क्रममा केही वडाध्यक्षले विवाद झिकेका हुन् ।

महानगर प्रमुख बालेन्द्र साहले आफ्नो नेतृत्वमा कांग्रेस र एमालेबाट दुई-दुई जना र समाजवादीबाट १ जना सदस्य रहने गरी कार्यदल बनाउने प्रस्ताव गरेका थिए । त्यही बमोजिम बैठकको निर्णय भन्दै प्रशासकीय प्रमुखले केही बुँदा पढेर सुनाए । फोहोर व्यवस्थापनको बारेमा गठिन कार्यदलको बैठक भोलि नै बिहान बस्ने भनियो । त्यसका लागि एमाले र कांग्रेसबाट दुई–दुईजनाको नाम दिन आग्रह गरियो । लगत्तै १६ नम्बरका वडाध्यक्ष मुकुन्द रिजालले आपत्ति जनाए ।

मेयरको प्रस्तावलाई छलफलबिनै पारित गरिएको भन्दै उनले विरोध जनाएका थिए । पार्टीगत आधारमा भागबण्डा गरिनु ठिक नभएको उनको भनाइ थियो । रिजालले बोल्दा केही वडाध्यक्षले टेबुल ठटाएर समर्थन जनाए ।

‘यो पार्टीको एक जना त्यो पार्टीको एक जना भाग लगाउने को हो तपाईं ?’ रिजालले चुनौति दिए, ‘यो तुरुन्तै फिर्ता लिनुस् ।’
त्यसपछि मेयर बालेन्द्रको अनुमति लिएर महानगरका प्रशासकीय प्रमुखले उक्त निर्णय फिर्ता लिइएको बताए ।

त्यसपछि केही वडाध्यक्षले बैठकमा निर्णय गर्ने प्रक्रियाबारे सिकेर आउन आग्रह गरे ।

एक वडाध्यक्षले भने, ‘बैठकको प्रक्रिया सिक्नुस । कसरी प्रस्ताव गरिन्छ, कसरी निर्णय गरिन्छ भन्ने अध्ययन गर्नुस् । तपाईंले पार्टीको नाम लिइरहनु आवश्यक थिएन ।’

वडाध्यक्षहरु आक्रामक बन्दा मेयर बालेन्द्र भने संयमितरुपमा प्रस्तुत भए । उपमेयर सुनिता डंगोल पनि शान्त भएर बसिरहिन् । पछि मेयर र उपमेयरबीच केही साउति भएको देखियो । सम्भवत सुनिताले बालेन्द्रलाई केही बोल्न सल्लाह दिइन् ।

बैठककाे अन्तिममा बाेल्दै मेयर बालेन्द्रले आफू कसैलाई पनि पार्टीगत आधारमा हेर्ने पक्षमा नरहेको स्पष्टीकरण दिए । उनले यो प्रस्ताव मात्रै भएको र निर्णय भइनसकेको बताएर विवाद थामथुम गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP