मंगलबार , चैत्र २५, २०८१

नेपाली फिल्म पाइरेसी हुने समस्याले वर्षौंदेखि प्रताडित छ । ठूला भनिएका फिल्महरु हलमा प्रदर्शन भइरहेकै समयमा डिजिटल प्लेटफर्ममा पाइरेसी हुने गरेका छन् । प्रदर्शनकै क्रममा हलबाट खिचेर फिल्म पाइरेसी हुँदा धेरै फिल्मले ठूलो नोक्सानी बेहोर्नु परेको छ । फिल्मको पाइरेसी गर्नु कानुनी रुपमा अपराध भए पनि जनचेतनाको अभावले यो समस्या निर्मुल हुन सकेको छैन ।

केही वर्ष अगाडिसम्म नेपाली फिल्म यूट्युबलगायत विभिन्न अनलाइन साइटमा पाइरेसी हुने गर्थे । यतिबेला फिल्म पाइरेसी हुने थलो टिकटक बनेको छ । हलभित्रैबाट फिल्मका दृश्यहरु मोबाइलमा कैद गरेर टिकटकमा अपलोड गर्ने क्रम विकराल रुपमा बढेको छ । दर्शकहरुले खुल्लमखुल्ला फिल्मको महत्त्वपूर्ण दृश्य मोबाइलमा खिचेर हलबाटै टिकटकमा अपलोड गरिरहेका छन् ।

गत फागुनमा प्रदर्शन भएको ‘म यस्तो गीत गाउँछु २’ र बैशाखमा प्रदर्शन भएको ‘ए मेरो हजुर ४’का कयैन् दृश्यहरु दर्शकहरुले हलभित्रैबाट खिचेर टिकटकमा अपलोड गर्दा निर्माताको भोक-निन्द्रा हराएको थियो । यसले फिल्मको व्यापारमा पनि असर गर्‍यो । अहिले यो समस्या फिल्म ‘कबड्डी ४’ले भोगिरहेको छ । शुक्रवारबाट फिल्मभित्रका दृश्यहरु टिकटकमा छ्यापछ्याप्ती छन् ।

‘कबड्डी ४’मा वीरकाजीको बिहे हुन्छ कि हुँदैन भन्ने चासो दर्शकहरुमा छ । दर्शकहरुलाई हलसम्म तान्ने अस्त्र नै यही हो । तर, हल पुगेका दर्शकहरुले यही पार्ट मोबाइलबाट खिचेर टिकटकमा अपलोड गरिरहँदा फिल्मको सस्पेन्स नै खुलेको छ । हलमा खिचेका फिल्मका दृश्यहरुले टिकटकमा लाखौं भ्यूज र लाइक्स कमाएका छन् । यसले फिल्मको व्यापारमा निकै ठूलो असर गर्ने देखिन्छ ।

फिल्मका दृश्यहरु थेगिनसक्नु गरी टिकटकमा अपलोड हुन थालेपछि अभिनेता दयाहाङ राईले यस्ता कार्य नगर्न आग्रह गरेका छन् । उनले फेसबुकमा लेखेका छन्, ‘यसरी तपाईंहरुले सिनेमा हेरिरहँदा मोबाइलबाट भिडियो बनाउँदा तपाईंलाई पनि बाधा हुन सक्छ झनै तपाईंको नजिकको साथीलाई धेरै बाधा भइरहेको हुन्छ र हामीलाई पनि । त्यसैले सबैजना बिना बाधा सिनेमा हेर्नुहोस् ।’

त्यस्तै, निर्देशक तथा अभिनेता निश्चल बस्नेतले फिल्मका दृश्य टिकटकमा हाल्दा फिल्म हेर्न पर्खिरहेका अरु दर्शकको मज्जा खराब हुने र निर्मातालाई पनि घाटा हुने भएकाले यस्तो कार्य नगर्न अनुरोध गरेका छन् । हल सञ्चालक र वितरकहरुको संस्था नेपाल चलचित्र संघले पनि एक विज्ञप्ति जारी गर्दै फिल्मका दृश्यहरु अनाधिकृत रुपमा सामाजिक सञ्जालमा नराख्न आग्रह गरेको छ ।

फिल्मका निर्देशक रामबाबु गुरुङ हलबाटै खिचेर फिल्मका दृश्यहरु सामाजिक सञ्जालमा अपलोड हुनुलाई हल सञ्चालकहरुको कमजोरी मान्छन् । हलमा दर्शकले फिल्म नै खिचेर बसेको निगरानी नगर्नु हल व्यवस्थापकको कमजोरी रहेको उनको भनाई छ । यसबारेमा आफूहरुले देशभरका हलहरुलाई मेल पठाएको बताउँदै उनले दर्शकहरुलाई पनि संयमित हुन आग्रह गरेका छन् ।

मल्टीप्लेक्सहरुमा सर्वाधिक शोसहित प्रदर्शनमा आएको फिल्मले शुक्रवार आक्रामक कमाई गरेको छ । वितरक मनोज राठी र गोविन्द शाहीको दाबी अनुसार फिल्मले पहिलो दिन ३ करोडमाथिको व्यापार गरेको छ । शनिवार फिल्मले साढे ३ करोडमाथिको व्यापार गर्ने आँकलन गरिएको छ । काठमाडौंसहितका मल्टीप्लेक्सहरुमा आइतवारसम्म फिल्मको टिकट अभाव देखिएको छ ।

रामबाबु गुरुङ निर्देशित फिल्ममा दयाहाङ राई, सौगात मल्ल, मिरुना मगर, बुद्धि तामाङ, विजय बराल, गौमाया यात्री, पुष्कर गुरुङ, कमलमणी नेपाल, कविता आले, स्वर्गीय जयनन्द लामा, प्रकाश घिमिरे, कमलमणी नेपाललगायतका कलाकारहरुको अभिनय रहेको छ । फिल्मको कथा निर्देशक गुरुङ र उपेन्द्र सुब्बाले लेखेका हुन् । ‘कबड्डी ४’, ‘कबड्डी’को अन्तिम सिरिज हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

घरमा एक्लै बस्ने वृद्धवृद्धा मारिने क्रम बढ्यो, सम्पत्ति लुटपाट मुख्य उद्देश्य

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा

आजको राशिफल ~ वि.सं. २०८१ चैत्र १३ गते बुधवार : श्री देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP