
अहिले राजनीतिमा युवाको आकर्षण बढ्दो छ । युवाहरूले हस्तक्षेप गर्न नेतृत्वमा खोजिरहेका छन् ।
वैशाख ३० मा हुने पालिका निर्वाचनमा बुटवल उपमहानपालिकाको उपमेयरमा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाबाट २६ वर्षिया भगवती पाण्डे उपमेयरको उम्मेदवार छन् । अहिले दैनिक घरदैलाेमा ब्यस्त पाण्डे राम्राे जनमत पाउने दाबि गर्छिन् ।
बुटवल–११ की स्थायी बासिन्दा पाण्डे राप्रपाको क्षेत्रीय कोषाध्यक्ष तथा नेपाल ट्रेड युनियन महासंघको जिल्ला अध्यक्ष हुन् । यहाँ राप्रपाको तर्फबाट बुटवलको प्रमुखमा मृगेन्द्र शेरचन उमेदवार छन् ।
बुटवलको पुलचोकमा रहेको दुर्गा मन्दिरमा पुगी उनले ‘म भ्रष्टाचार गर्दिन’ भन्ने प्रण गरेर उमेदवारि दिएकी पाण्डेले युवाहरूको सहभागितामा आयआर्जनमूलक कार्यक्रमहरूसहितका योजना ल्याउने र युवालाई आकर्षण गर्ने बताउँछिन् । ‘अहिले हरेक कामहरू युवाले नै गर्नुपर्दछ । हामीले कामगर्दा अझै उत्कृष्ट र पारदर्शी हुन्छ । त्यही भएर मैले उमेदवारी दिएकी हुँ । मलाई पार्टीले पनि सहयोग गर्यो,’ उनले भनिन् ।
पार्टीभन्दा पनि काम गर्न सक्ने व्यक्तिलाई मतदान गर्न उनको आग्रह छ । उनी ३ वर्षकी छोरीलाई घरमै छाडेर चुनावी मैदानमा होमिएकी छन् । उपमेयरकी उमेदवार पाण्डे आफू युवालक्षित कार्यक्रमहरू ल्याउने बताउँछिन् । उनले कक्षा १२ सम्मको शिक्षालाई निस्शुल्क गर्ने बताएकी छन् । विद्यालयमा ४५ मिनेटको जीवन उपयोगी सिपहरूको कक्षा दिइने उनले बताइन् । विद्यालयमा आधारभूत शिक्षा लिइरहेकाहरूलाई आयमा जोड्नका लागि सिप सिकाइने बताइन् ।
उनले व्यावसायिक शिक्षालाई समावेश गरिने नागरिक अनलाइसंगको कुराकानीमा उनले युवाहरूलाई आयआर्जनमा जोड्ने खालका कार्यक्रमहरू ल्याउने बताइन् । बुटवल उपमहानगरपालिकालाई भ्रष्टाचार मुक्त उपमहानर बनाउने दाबी उनको छ । यसका लागि हरेक वडा तथा उपमहानगरकै हरेक क्षेत्रमा सीसीटीभी जडान गरी निगरानी गरिने योजना उनको छ ।
यसका साथै बुटवल क्षेत्रको मुख्य समस्या सुकुम्बासी समस्या समाधान, कर तिर्ने र प्रमामण पत्र लिने कार्य अनलाइन गराउने, ७० वर्ष माथिका बृद्धबृद्धाका लागि निस्शुल्क स्वास्थ्य परीक्षण गर्ने, ज्येष्ठ नागरिकलाई निःशुल्क धार्मिक यात्राको व्यवस्थापन मिलाउने, सार्वजनिक स्थानहरूमा सीसीटीभी क्यामेरा जडान गर्ने योजना रहेको बताइन् ।
उनले बुटवलमा पहिरो नियन्त्रण तथा चुरे संरक्षणको दिर्घकालीन समाधानलाई प्राथमिकताका साथ राखेको बताउँदै बुटवलमा अव्यवस्थित रहेको पार्किङलाई व्यवस्थित गर्ने, जन्म र मृत्युदर्ता प्रमाणपत्र निस्शुल्क घरघरमै पुर्याउने योजनाहरू रहेका छन् ।
भगवती पाण्डे, बुवा कृष्णप्रसाद पाण्डे र आमा मीना पाण्डेकी छोरी हुन् । उनकी आमा मिना छोरी पार्टीमा दिनरात नभनी लागेको स्मरण गर्छिन् । लामो समयसम्म एमालेको राजनीति गरेकी भगवतीकी आमा मिनाले कुनै अवसर नै नपाएको बताउँछिन् ।
उनले भनिन्, ‘आमाले पार्टिको लागि निकै काम गर्नुभयो । परिवार भन्दा माथि पार्टीलाई पहिलो प्राथमिकतामा राख्नुभयो, जतिबेला अवसर पाउनुपर्ने हो त्यो समयमा अवसर पाउनुभएन ।’
विद्यार्थी राजनति अन्य दलबाट सुरु गरेपनि उनको परिवारले नै एकैपटक दल परिवर्तन गरि राप्रपा प्रवेश गर्यो । हिन्दु राज्य र राजा फर्काउनका लागि पार्टीले एजेन्डा राखेकाले पनि यही पार्टीमा निरन्तर बसिरहेको उनी बताउँछिन् । राप्रपामा रहेर १० वर्षदेखि राजनीतिक जीवन बिताएको तथा अबको नेतृत्व युवामा जानुपर्छ भन्ने मान्यताले नै पार्टीले टिकट दिएको उनले उल्लेख गरिन् । यता उनलाई परिवारको पूर्ण साथ रहेको छ । उनका श्रीमान कमल भण्डारी, तथा ससुरा र सासुको पनि पूर्ण साथ समर्थन रहेको बताउँछिन् ।
आफ्नो परिवार र दैनिक जीवनयापनका लागि आफ्नै व्यवसाय भएकाले कुनै समस्या नपर्ने उनी बताउँछिन् । महिला अधिकारको क्षेत्रमासमेत काम गर्दै आएकी उनी एक सफल उद्यमी पनि हुन् ।
उनले आफू उपमेयर जिते पनि कुनै केही क्षेत्रमा आर्थिक विचलन नगर्ने दाबी गर्छिन् । उनले बुटवल–११ मा केक कोशेलीसमेत सञ्चालन गर्दै आएकी छन् ।
Pic: Rajesh Gaire