मंगलबार , बैसाख २९, २०८३

काठमाडौं, १५ वैशाख । चितवनको भरतपुर महानगरपालिकाको मेयरमा बागी उम्मेदवारी दिएका कांग्रेस नेता तथा पूर्वसांसद जगन्नाथ पौडेलले कुनै पनि हालतमा आफ्नो उम्मेदवारी फिर्ता नहुने प्रष्ट पारेका छन् । उनलाई फकाउन गृहमन्त्री बालकृष्ण खाँण र राज्यमन्त्री उमेश श्रेष्ठ चितवन पुगेका थिए । मन्त्री खाँणले उम्मेदवारी फिर्ता लिन आग्रह गरेका थिए । तर, पौडेलले भने आफू निकै अघि बढिसकेको भन्दै पछि हट्न नसकिने बताएका थिए ।

मन्त्री खाँणले गठबन्धनअनुसार चितवन महानगरपालिका माओवादी केन्द्रको भागमा परेको भन्दै नोमिनेसन फिर्ता लिन आग्रह गरेका थिए । तर, पौडेलले भने बरु अनुशासनको कारबाही भोग्न तयार रहेको बताए ।

‘म फिर्ता नहुने ठाउँमा पुगिसकेको छु । चितवन जिल्ला र साथीहरूको मान मर्यादा, प्रतिष्ठा, उहाँहरूको भविश्वसँग जोडिएको विषय भएकाले मैले एक्लैले निर्णय गर्ने विषय भएन् । जसले गर्दा उम्मेदवारी फिर्ता गर्न सम्भव भएन भन्ने कुरा राखे,’ पौडेलले गृहमन्त्रीसँग भने ।

बिहानको छलफल निष्कर्षमा नपुगेपछि गृहमन्त्री खाँणले पुनः छलफलमा बस्ने बताएका थिए । पौडेलले पनि आफू कुनै पनि हालतमा आफ्नो अडानबाट पछि नहट्ने भन्दै पुनः बस्दा पनि आफ्नो अडान यही रहने प्रष्ट पारेका थिए । ‘गृहमन्त्री खाँणसँग फेरि बस्ने भन्ने कुरा गर्नुभयो । तर, मनोनयन फिर्ता हुने विषय भने असम्भव भएको बताएको छु,’ पौडेलले भने, ‘भरतपुर महानगरको ३२ जना मेयरका दाबेदारमध्ये एकजना म हुँ । मेरो कारणले केन्द्रीय गठबन्धनलाई असर गर्नुपर्ने कुनै कारण छैन ।’

आफूले एउटा सामान्य नागरिकको हिसाबले मेयर पदमा उम्मेदवारी दिएको उनको भनाइ थियो । यसमा अनुशासन उल्लंघन गरेको जस्तो लागेमा कारवाही स्वीकार्न तयार रहेको बताएका थिए । ‘तपाईहरूले पनि एउटा कांग्रेसको कार्यकर्ता भएको नाताले यस्ले उम्मेदवारी दिएछ भन्ने सोच्नुपर्छ । यदि तपाईलाई लाग्छ अनुशासनको सीमा नाघ्यो भने अनुशासनमा कारबाही गर्न सक्ने व्यवस्था पनि छ । त्यसमा मलाई कुनै आपत्ति हुँदैन, त्यसमा मेरो कुनै गुनासो हुँदैन,’ पौडेलले भने ।

आफ्नो उम्मेदवारी गठबन्धनलाई असर पर्ने वा पार्टीमा समस्या हुने गरी भन्दा पनि चितवनमा मतदाताको सम्मानका लागि भएको उनले गृहमन्त्रीसँग स्पष्ट पारेका थिए । ‘यो पार्टी र गठबन्धनको संकट जुन छ त्योसँग मलाई जोडेर हेर्नुभएन । यो त केवल स्थानीय पार्टी बचाउने विषयसँग सम्बन्धित छ,’ उनले भने, ‘केन्द्रसँग कुनै लेनदेन छैन । भोलिसम्म अन्याेलका स्थिति होला । त्यसपछि सहज रूपमा अगाडि जान्छ ।’

उनलाई मेयर पद छाडेको खण्डमा प्रदेश सभा सदस्य बनाउने प्रस्तावसमेत गृहमन्त्री खाँणले राखेका थिए । त्यति मात्र नभएर प्रतिनिधिसभामा समेत लैजाने र मन्त्री बनाउने प्रस्तावसमेत गरिएको थियो । तर, उनले आफू मेयर पदका लागि निकै अघि बढिसकेको र पछि फर्किन सम्भव नरहेको भन्दा प्रस्तावहरू अस्वीकार गरेका थिए ।

पाँच दलीय गठबन्धनको भागबन्डाको आधारमा भरतपुर महानगरपालिका माओवादी केन्द्रको भागमा परेको छ । जहाँबाट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी छोरी रेणु दाहाल मेयरमा उठेकी छिन् । नेपाली कांग्रेसका पूर्वसांसद पौडेलले बागी उम्मेदवारी दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP