मंगलबार , बैसाख २९, २०८३

काठमाडौँ — नेकपा माओवादी केन्द्रले आफ्नो चुनावी पोस्टरमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको तस्बिरसमेत राखेको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहालको आधिकारिक फेसबुक पेज ‘क. प्रचण्ड’ बाट बुधबार सार्वजनिक गरिएको डिजिटल पोस्टरमा अध्यक्ष दाहालसँगै अर्थमन्त्रीसमेत रहेका नेता जनार्दन शर्मा र प्राधिकरणका कार्यकारी निर्देशक घिसिङको तस्बिर राखिएको छ ।

‘अँध्यारोबाट उज्यालोको यात्रा’ लेखिएको उक्त पोस्टरमार्फत माओवादीले लोडसेडिङ अन्त्यलाई आफ्नो ठूलो सफलताका रूपमा चित्रण गरेको छ । साथै अब नि:शुल्क बिजुलीको अभियानलाई अगाडि बढाउनेसमेत माओवादीले जनाएको छ ।

निर्वाचन आचारसंहिता २०७८ मा भने सरकारी कर्मचारीले कुनै पनि राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन रोक लगाइएको छ । कार्यकारी निर्देशक घिसिङले भने आफ्नो सहमतिबिना तस्बिर राखिएको प्रतिक्रिया दिएका छन् । ‘मेरो तस्बिर नराख्नु भनेको थिएँ । मेरो सहमतिविपरीत उहाँहरूले तस्बिर राख्नु भएछ । त्यसमा मेरो विमति छ,’ घिसिङले कान्तिपुरसँग संक्षिप्त प्रतिक्रिया दिँदै भने ।

यसअघि माओवादीले आफ्ना चुनावी प्रचार सामग्री अध्यक्ष दाहालका साथै माओ,लेनिनलगायतका तस्बिर राखे पनि यस पटक भने विद्युत प्राधिकरण कार्यकारी निर्देशक कुलमान घिसिङसमेतको तस्बिर राखेको हो ।

माओवादी अध्यक्ष दाहाल दोस्रो पटक प्रधानमन्त्री भएका बेला घिसिङलाई पहिलो पटक प्राधिकरणको कार्यकारी निर्देशक बनाइएको थियो । घिसिङले पनि तत्कालीन प्रधानमन्त्री र ऊर्जामन्त्री जनार्दन शर्माको साथ र सहयोगले नै लोडसेडिङ अन्त्य गर्न सफल भएको बताउँदै आएका छन् । दोस्रो पटक २०७८ साउनमा शेरबहादुर देउवा नेतृत्वको सरकारले माओवादीकै आग्रहमा घिसिङलाई पुन: कार्यकारी निर्देशमा नियुक्त गरेको हो । घिसिङ २०७३ मा नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त हुँदा देशमा दैनिक १२ घण्टासम्म लोडसेडिङ थियो ।

कार्यकालको पहिलो वर्षमा काठमाडौं उपत्यका र दोस्रो वर्षमा देशैभर लोडसेडिङ अन्त्य गराएका उनी त्यसयता लगातार चर्चाको केन्द्रमा छन् । आफूले नेतृत्व सुरु गर्दा ३५ अर्ब सञ्चिति घाटामा रहेको प्राधिकरणलाई आफ्नो कार्यकालको अन्तिम वर्षमा उनले सरकारी संस्थानमध्ये सबैभन्दा बढी नाफा कमाउने निकाय बनाएका थिए । घिसिङले आफ्नो चारवर्षे कार्यकालमा विद्युत् चुहावटलाई २६ बाट १५ प्रतिशतमा झारेका थिए ।

माओवादीले लोडसेडिङ हटेको विषयलाई मात्र नभएर कुलमान घिसिङलाई समेत चुनावमा ब्रान्डिङ गर्ने प्रयास गरेको छ । केही दिनअघि चितवनमा विद्युत् सबस्टेसन उद्घाटनमा घिसिङकै सामू अध्यक्ष दाहालले ‘योग्य अफिसरलाई प्राधिकरणको प्रमुख नियुक्त गर्दा देश लोडसेडिङमुक्त’ भएको बताएका थिए ।

‘हाम्रै पहलमा देशमा विद्युतीकरणसम्बन्धी योग्य अफिसरलाई विद्युत प्राधिकरणको कार्यकारी प्रमुख बनाएपछि मानिसहरूलाई आश्चर्य जस्तो भयो । केही महिनाभित्र नेपाल लोडसेडिङबाट आक्रान्त देश लोडसेडिङमुक्त भयो । त्यहाँबाट यहाँसम्म आइपुग्दासम्म लोडसेडिङमुक्त मात्रै होइन विद्युत् बेच्ने अवस्थामा आइपुग्यो । म हामीले लिएको निर्णयप्रति गर्व गर्न चाहन्छु र यो क्षेत्रमा योगदान गर्नेप्रति आभार व्यक्त गर्न चाहन्छु,’ दाहालले भनेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP