
अध्यागमन विभागले नेपाल आउजाउ गर्ने यात्रुका लागि नयाँ नियम जारी गरेको छ । ओमिक्रोन भेरियन्टसहितको नयाँ कोरोना संक्रमित भेटिन थालेपछि विभागले विदेशबाट नेपाल आवागमन हुने र नेपालबाट प्रस्थान गर्ने यात्रुको यात्रा व्यवस्थापनसम्बन्धी आदेश जारी गरेको हो ।
आदेशमा विदेश जाँदा आफू जाने मुलुकले तोकेबमोजिम खोप तथा स्वास्थ्य परीक्षण गरेको हुनुपर्ने, नतोकिएको अवस्थामा प्रस्थान गर्ने बोर्डिङ पास प्राप्त गर्नुभन्दा ४८ घण्टाभित्रको कोभिड–१९ को नेगेटिभ रिपोर्टको प्रमाण साथमा हुनुपर्ने, कोभिड–१९ संकट व्यवस्थापन समन्वयन केन्द्रको वेभसाइट सीसीएमसी डट गोर्भरमेन्ट डट एनपीमा लगइन गरी अन्तर्राष्ट्रिय अनलाइन प्रस्थान फारम भरेको कागजात, खोप लगाएको क्युआर कोडसहितको प्रमाणपत्र पनि अनिवार्य हुनुपर्ने उल्लेख छ ।
नेपाल आउनेको हकमा कोरोनाविरुद्धको खोपको मात्रा लगाएको १४ दिन पूरा भएको हुनुपर्ने, हवाइ उडानमा चेक इन हुनुभन्दा ७२ घण्टाभित्रको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ भएको प्रमाण हुनुपर्ने, यसबाहेक सीसीएमसीको वेबसाइटमा लगइन गरी नेपाल आउने व्यक्तिले फाराम भरी त्यसको प्रिन्ट साथमा राख्नुपर्ने उल्लेख छ ।