मंगलबार , बैसाख २९, २०८३

लमजुङका शिक्षक मुक्तिनाथ अधिकारीको तत्कालीन नेकपा माओवादीका कार्यकर्ताले निर्ममतापूर्वक हत्या गरेको २० वर्ष बितेको छ । ३ माघ २०५८ मा मुक्तिनाथ चन्दा नदिएको आरोपमा झुण्ड्याइएका थिए ।मुक्तिनाथ लमजुङको दुराडाँडास्थित पाणिनी संस्कृत विद्यालयका शिक्षक हुँदै प्रधानाध्यापक भएका थिए । विज्ञानका शिक्षक मुक्तिनाथले माओवादी प्रभावित क्षेत्रमा संघर्षका साथ शिक्षण पेशालाई निरन्तरता दिएका थिए ।

माओवादी द्वन्द्वले गाउँबाट धेरै मानिस पलायन भए । तर, विज्ञान जस्तो महत्वपूर्ण विषयका शिक्षक मुक्तिनाथले विद्यार्थी र विद्यालयको माया मार्न सकेनन् ।

३ माघ २०५८ को दिउँसो १ बज्नै लाग्दा मुक्तिनाथ अधिकारी कक्षा १० मा विज्ञान पढाउँदै थिए । नेकपा माओवादीका कार्यकर्ता कक्षाको ढोका नजिक आएर काम छ भनी डाके । माओवादीको टोलीले उनलाई जर्बजस्ती लान खोजे । उनी जान तयार भएनन् । विद्यार्थीले अनुनय विनय गरे तर माओवादी कार्यकर्ताको मन पग्लेन ।

माओवादीले खुट्टा बाँधेर हिंड्न मात्र मिल्ने गरी लगेका थिए । उनलाई पेस्तोल तेर्साएर तसाईएको थियो । शिक्षकहरुले मुक्तिनाथलाई लगेको दृश्य हेर्न मात्र सके । जानेबेलामा पनि उनले विद्यालय र विद्यार्थीको चिन्ता गरेका थिए । राम्ररी विद्यालय चलाउन भनेका थिए ।

मुक्तिनाथलाई जर्बजस्ती डाँडाको टुप्पोमा लगे । आक्रमण गर्न थाले । मुक्तिनाथ चिच्याउन थाले । तर, हत्याको योजनासहित आएकाहरुले कन्चटमा गोली हाने । डाँडामा गोलीको आवाज सुनियो । मुक्तिनाथको हत्या भइसकेको थियो । हत्यापछि मुक्तिनाथलाई उत्तिसको बोटको फेदमा गलबन्दीले बाँधेर गए । हात पछाडि बानेका थिए ।

मुक्तिनाथ हत्याको मुख्य कारण चन्दा नै थियो । उनी निमित्त प्रधानाध्यापक हुँदा माओवादीले शिक्षकको २५ प्रतिशत दशैं पेश्की माग गरेका थिए । तर, अधिकारी असहमत भए । त्यसपछि उनी तारोमा परे ।

मुक्तिनाथको परिवारले विद्यालय छाड्न भनेका थिए । माओवादीको धम्कीले शिक्षकहरुले धमाधम विद्यालय छाड्न थालेका थिए । तर, मुक्तिनाथ मानेनन् । उनी विद्यालयलाई यति माया गर्थे कि कुनै दिन बिदा बस्न मान्दैनथिए ।

घरमा श्रीमती विरामी पर्दा पनि मुक्तिनाथ विद्यालय जान रोकिदैनथिए । उनको विद्यालयप्रति यति प्रेम थियो । तर, त्यही विद्यालयबाट उनलाई अपहरण गरी लगी हत्या गरियो ।

मुक्तिनाथको हत्या भएको २० वर्ष भयो । कर्तव्यनिष्ठ शिक्षकको हत्याको दोषीमाथि अझै कारबाही भएको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP