शुक्रबार , जेठ १०, २०८२

विसं १९९० माघ २ गते दिउँसो २ः२४ बजे भूकम्प गएको सम्झनामा आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी २४औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदैछ । ‘भूकम्पीय सचेतना, सुरक्षित संरचना’ नाराका साथ दिवस मनाउन लागिएको हो ।

भूकम्पले नभई कमजोर संरचनाले मानवीयलगायत क्षति गर्ने भएकाले भूकम्प प्रतिरोधी संरचना बनाउन नागरिकलाई चेतना जगाउने उद्देश्यले यो नारा तय गरिएको हो । विसं २०५५ देखि माघ २ गतेलाई राष्ट्रिय भूकम्प सुरक्षा दिवसका रूपमा मनाउन थालिएको छ । भविष्यमा आउनसक्ने भूकम्पका बारेमा जनचेतना जगाउने उद्देश्यले सरकारले यो दिवस मनाउन सुरु गरेको थियो ।

दिवसका अवसरमा मूल समारोह समितिले आज पाटन दरबार क्षेत्रमा विशेष कार्यक्रमको आयोजना गर्दैछ । कार्यक्रममा निश्चित मानिस मात्र भौतिकरूपमा उपस्थित हुने र अरु सबैलाई भर्चुअल माध्यमबाट सहभागी हुन आह्वान गरिएको सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक पदमकुमार मैनालीले जानकारी दिए ।

कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाँण र सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले पनि भर्चुअल माध्यमबाट सम्बोधन गर्ने कार्यक्रम छ ।

कार्यक्रममा गृह मन्त्रालय, विभाग, ललितपुर महानगरपालिका, भूकम्प प्रविधि राष्ट्रिय समाज नेपाल ९एनसेट०लगायत संस्थाका सङ्ख्या तोकिएका जनशक्तिमात्र जम्मा भएर अरुलाई भर्चुअल माध्यमबाट चेतना जगाउने गरी कार्यक्रमको स्वरुप परिवर्तन गरिएको छ । कोरोना भाइरसको नयाँ स्वरूपका कारण कार्यक्रमको स्वरुप परिवर्तन गर्न बाध्य हुनुपरेको मूल समारोह समितिले जनाएको छ ।

भर्चुअल सहभागी हुन चाहनेका लागि गृह मन्त्रालयको वेबसाइटमा जुमआइडी र पासवर्ड राखिएको भूकम्प सुरक्षा दिवस मूल समारोह समितिअन्तर्गतको प्रचार–प्रसार उपसमितिको संयोजकसमेत रहेका विभागका महानिर्देशक मैनालीले सुनाए। जुमआइडीमा जति मानिस पनि सहभागी हुनसक्ने समितिले जनाएको छ ।

यस अवसरमा भूकम्प सुरक्षा डिजिटल प्रदर्शनीको समेत भर्चुअल माध्यमबाटै आयोजना गरिने जनाइएको छ । दिवसका अवसरमा विभिन्न संस्थाले पुस १५ गतेदेखि नै जनचेतना जगाउने किसिमका कार्यक्रमको आयोजना गरिरहेका छन् । यस वर्ष कोरोना भाइरसको महामारी रहेकाले भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर कार्यक्रम गरिने जनाइएको छ ।

यो दिवस मनाउन थालेपछि विसं २०७२ वैशाख १२ गते शनिबार ११ः५६ बजे गोरखाको बारपाक केन्द्रबिन्दु भएको भूकम्पले करिब नौ हजार मानिसको ज्यान लियो । आठ लाखभन्दा बढी निजी घर ध्वस्त भए । नौ सयभन्दा बढी पुरातात्विक सम्पदा भत्किए ।

सिन्धुपाल्चोक, दोलखा, गोरखा, रामेछाप, ओखलढुङ्गा, सिन्धुली, काभ्रेपलाञ्चोक, मकवानपुर, धादिङ, नुवाकोट, रसुवा, काठमाडौँ, ललितपुर र भक्तपुरमा भूकम्पले बढी क्षति पुर्‍यायो । अन्य १८ जिल्लामा आंशिक क्षति पुग्यो ।

यसको पुनःनिर्माणका लागि छ वर्षअघि राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा रानीपोखरी र बीचमा रहेको बालगोपालेश्वर मन्दिरबाट शुभारम्भ गरिएको थियो ।

राष्ट्रपतिले पुनःनिर्माणको शुभारम्भ गरेको स्थल रानीपोखरी र बालगोपालेश्वरको पुनःनिर्माण गत वर्ष सम्पन्न भएको छ । भूकम्पपछिको पुनःनिर्माणका लागि गठन भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले तोकिएको अवधिमा काम नसकेपछि पुनःनिर्माणका बाँकी काम सम्बन्धित विभागलाई हस्तान्तरण गरिएको छ ।

भूकम्पपछिको पुनःनिर्माण भूकम्प प्रतिरोधी भएकाले सुरक्षित रहेको जनाइएको छ । पश्चिम नेपालमा ५०० वर्षदेखि ठूला भूकम्प नगएकाले शक्ति सञ्चय भई बसेको विभिन्न अध्ययनले देखाएको छ ।

भविष्यमा आउनसक्ने भूकम्पले त्यहाँ ठूला क्षति हुनसक्ने विज्ञको अध्ययनबाट देखिएकाले त्यस क्षेत्रमा जनचेतना फैलाउने कामलाई विभागलगायत सरोकार भएका निकायले प्राथमिकतामा राखेका छन् ।

दाङबाट पश्चिमका जिल्लामा अहिलेदेखि नै भूकम्प प्रतिरोधी संरचना निर्माणका लागि विभागले चेतना जगाउने अभियान सुरु गरेको छ । यसका लागि त्यहाँका स्थानीय सरकारसँग पनि सहकार्य गरिएको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा

आजको राशिफल ~ वि.सं. २०८१ चैत्र १३ गते बुधवार : श्री देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल ~ वि.सं. २०८२ वैशाख २३ गते मङ्गलवार : श्री देवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP