मंगलबार , बैसाख २९, २०८३

जसपा अध्यक्ष यादव र संघीय परिषद् अध्यक्ष भट्टराईबीच देखिएको विवादको बाछिटा प्रदेश २ मा पुगेका छन्। दुई नेताबीचको कलहले गर्दा महोत्तरीको बर्दिवासमा आयोजित प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रम भट्टराई पक्षधर नेता तथा कार्यकर्ताले बहिस्कार गरेका छन्।

२६ पुसमा शुरू भएको तीनदिने प्रशिक्षण जसपाका अर्का नेता महेन्द्र राय यादव पक्षधर नेताहरूले समेत बहिस्कार गरेका छन्। कृषि तथा पशुपन्क्षी विकास मन्त्री समेत रहेका यादव पक्ष पनि पार्टी संस्थापनसँग असन्तुष्ट देखिन्छन्।

महन्थ ठाकुर जसपा अध्यक्ष हुँदा एकै ठाउँमा उभिएका नेताहरू उनको बहिर्गमनपछि आरोप-प्रत्यारोपमा लागेका छन्। ठाकुरले गत भदौमा लोकतान्त्रिक समाजवादी दल गठन गरिसकेका छन्।

जसपाको विधानमा दुई अध्यक्ष रहने व्यवस्था छ। ठाकुर नयाँ पार्टीमा लागेपछि जसपाको एउटा अध्यक्ष पद रिक्त छ। त्यसमा आफूलाई लैजानुपर्ने भट्टराईको दाबी छ। उनी पक्षधर नेताहरू भट्टराईलाई अर्को अध्यक्षको जिम्मेवारी दिएर यादवको हैसियतमा राख्न चाहन्छ। तर, यादव पक्षधर नेताहरू भने भट्टराईलाई त्यो पद नदिनै लागि विधान संशोधन गरेर एउटा अध्यक्षको व्यवस्था गर्नुपर्ने पक्षमा देखिएका छन्।

जसपाको प्रभाव क्षेत्र मानिएको प्रदेश २ मा ११ वटा विषयमा प्रशिक्षण दिने कार्यक्रम तय भएको छ। २६ पुसमा दुई वटा विषयमा प्रशिक्षण भइसकेको छ भने नौ वटा विषयमा २७ र २८ पुसमा प्रशिक्षण दिइने आयोजकले जनाएको छ।

कांंग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारमा जसपाको तर्फबाट मन्त्री छनोट गर्ने जिम्मेवारी अध्यक्षद्वय यादव र भट्टराई तथा वरिष्ठ नेता अशोक राईलाई दिइएको थियो। तर, मन्त्री छनोट यादवले मात्रै गरेको भट्टराई पक्षका नेताहरू बताउँछन्।

त्यस्तै सर्वोच्च अदालतको परमादेश अनुसार २९ असारमा गठित मन्त्रिपरिषद्‌मा जसपाबाट राजेन्द्रकुमार श्रेष्ठ, महेन्द्र राय यादव, रेणुकुमारी यादव र रामसहायप्रसाद यादव मन्त्री छन्। संघीय सरकारमा सहभागी हुने बेलादेखि नै अध्यक्ष यादवले एकलौटी निर्णय गर्न थालेको असन्तुष्ट नेताहरू बताउँछन्।

जसपा केन्द्रीय कार्यकारिणी समितिका सदस्य मोहम्मद इस्तियाक राई संघीय मन्त्री र राष्ट्रिय सभा सदस्य उम्मेदवार छान्ने वेलामा विवाद देखिएको बताउँछन्। उनी भन्छन्, “रुपान्तरण र आचरणगत कुरामा समस्या देखिएका छन्, पार्टीलाई विधि र पद्धति अनुसार चलाउनु पर्दछ भन्ने हाम्रो जोड हो।”

राष्ट्रिय सभाको निर्वाचनको लागि समेत उम्मेदवार चयनमा यादवले एकलौटी गरेको विपक्षी नेताहरूको भनाइ छ। सत्ता साझेदार दलहरूसँग चुनावी तालमेल गरेको जसपाले प्रदेश १ मा हेमराज राई र प्रदेश २ मा मोहम्मद खालिद सिद्दिकीलाई उम्मेदवार बनाएको छ।

अध्यक्ष यादवले निर्णय गर्दा पार्टीमा सामूहिक रुपमा छलफल नगर्ने र आफूखुशी निर्णय गर्ने गरेको भट्टराई पक्षका नेताहरू बताउँछन्। स्रोतका अनुसार, पार्टी विभाजन हुँदा यादवले इस्तियाक राईदेखि प्रदीप यादवसम्मलाई मन्त्री बनाउने आश्वासन दिएका थिए।

संघीय परिषद् अध्यक्ष भट्टराईको सिफारिशमा एक जनालाई पनि मन्त्री नबनाएपछि जसपाभित्र असन्तुष्टि चुलिएको हो। इस्तियाक राई, प्रदीप यादव, राजकिशोर यादव, कृषिमन्त्री महेन्द्र यादव लगायतका नेताहरू अध्यक्ष यादव विरुद्ध उभिएका छन्।

जसपाका नेता नवराज सुवेदी पछिल्लो कार्यकारणी समितिमा केही विषयमा बहस भएको बताउँछन्।

प्रदेश २ को प्रशिक्षण कार्यक्रममा संघीय परिषद् अध्यक्ष भट्टराईलाई नबोलाएपछि विवाद चुलिएको हो। जसपा प्रदेश समितिका उपाध्यक्ष सुशील यादव प्रदेश समिति स्वायत्त रहेको र  कुन नेतालाई बोलाउने वा नबोलाउने भन्ने विषयमा निर्णय गर्न सक्ने बताउँछन्। उनले स्वतन्त्र रुपमा काम गर्न नदिएकाले आफूहरू प्रशिक्षणमा सहभागिता नभएको बताए।

जसपाका केन्द्रीय सदस्य देवेन्द्र यादव पार्टी अध्यक्ष उपेन्द्र यादवले पार्टीको हरेक निर्णयमा एकलौटी गर्ने गरेको कारणले समस्या आएको बताउँछन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP