मंगलबार , बैसाख २९, २०८३

नेपालको राजनीतिमा चीन पुनः सक्रिय भएको छ । उसले विभाजित कम्युनिस्ट पार्टी भरसक एक बनाउने नसके चुनावी गठबन्धन निर्माणमा भूमिका खेलिरहेको छ ।

नेकपा माओवादी केन्द्रको महाधिवेशनमा चीनले विशेष चासो लिएको छ । यही क्रममा चीनको सेन्जेनमा उपचाररत माओवादी केन्द्रका प्रभावशाली नेता वर्षमान पुनको चिनियाँ उपमन्त्री चेन झाओबीच भेटवार्ता भएको छ । महाधिवेशनको दौरान चीनमा माओवादी नेता पुनको भेटवार्ता अर्थपूर्ण मानिएको छ ।

सोमबार भएको भेटमा चिनियाँ उपमन्त्री झाओले वामपन्थी शक्तिबीच एकता र सहकार्य, चुनावमा तालमेललगायतका विषयमा चासो राखेको पुनले खुलाएका छन् । पुनले यसको सम्भावना रहेको जवाफ दिएको बुझिएको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको परामर्शपछि पुनले चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभाग हेर्ने उपप्रमुख समेत रहेका उपमन्त्री झाओसँग भेटेका थिए ।

वर्षमान पुनकी पत्नी पूर्वसभामुख ओनसरी घर्ती पनि भेटमा सामेल थिइन् । पूर्वसभामुख र पूर्वमन्त्री तहका दुई माओवादी नेताले चिनियाँ उपमन्त्रीसँगको भेटमा वामपन्थी एकताको कुरा गर्नुपूर्व नै चीनले यसका लागि सक्रियता बढाउँदै आएको छ ।

नेकपा फुट्न नदिन चिनियाँ राजदूत होउ यान्छी सक्रिय भएकी थिइन् । चीनबाट उच्च स्तरको टोली नै नेपाल आएर पहल गरेको थियो । तर, त्यो सफल हुन सकेन ।
नेकपा फुटेर तीन टुक्रा भएपनि तीनवटै घटकसँग चिनियाँ कम्युनिस्ट पार्टीले सम्पर्क स्थापित गर्दै आएको छ । पछिल्लो समय गठन भएको नेकपा एकीकृत समाजवादी पार्टीसँग चिनियाँ कम्युनिस्ट पार्टीले सम्बन्ध स्थापित गरिसकेको छ । दुई पार्टीबीच भर्चुअल छलफल चल्दै आएको छ ।

चीनले वामपन्थी एकता वा चुनावी तालमेलको पहल गरिरहँदा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच चिसिएको सम्बन्धमा सुधार हुन थालेको छ । नेपाली काँग्रेसको महाधिवेशन उदघाटनमा ओली र प्रचण्ड एउटै मञ्चमा महिनौंपछि देखिए । उनीहरुले भलाकुसारी पनि गरे ।

माओवादी महाधिवेशन उदघाटनमा निम्तो गर्न प्रचण्डले ओलीसँग टेलिफोन वार्ता गरे । पछिल्लो समय दुई नेताबीच सम्बन्ध सुध्रदै गएको छ । दुवैलाई नजिक ल्याउन विभिन्न तरिकाले चिनियाँ पक्ष लागिरहेको बुझिएको छ ।

चीनले कम्युनिस्ट शक्तिलाई नै नेपाल मामलामा विश्वास गर्दै आएको छ । उनीहरुमार्फत् आफ्नो प्रभाव बलियो बनाउने रणनीति बनाइरहेको छ ।अमेरिकी सहयोगसम्बन्धी एमसीसीको विरोधमा कम्युनिस्ट पार्टीहरु खुलेकाले पनि चीन उत्साही देखिन्छ । प्रचण्डले महाधिवेशनमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा अमेरिकाविरुद्ध आक्रामक तरिकाले प्रस्तुती गरेका छन् । उनले चीनको घुमाएर प्रशंशा गरेका छन् । अमेरिकाले भारतसँगको सम्बन्ध सुदृढ गरेर चीनलाई रोक्न खोजेको टिप्पणी गरेका छन् । यसबाट पनि चीन नेपालको कम्युनिस्ट शक्तिसँग बढी आशावादी देखिन्छ । उनीहरुलाई चुनावसम्म भरसक एक बनाउने नसके तालमेल गराएर लाने गरी चीन रणनीतिक रुपमा लागेको घटनाक्रमले पुष्टि गर्दै लगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP