
कर्तव्य ज्यान मुद्दामा डिल्लीबजार कारागारमा रहेका निलम्बित सांसद रेशमलाल चौधरीले नयाँ दल दर्ताको तयारी गरेका छन् । थरूहट क्षेत्रलाई आधारभूमि बनाएर चौधरीले पुस १८ गते दल दर्ता गर्ने तयारी गरेका हुन् । कैलालीको टीकापुरमा २०७२ भदौ ७ गते भएको नरसंहारमा मुख्य आरोपी बनाइएका रेशमलाल चौधरीले मधेसवादी दल परित्याग गर्दै आफ्नै नेतृत्वमा नयाँ पार्टी दर्ता गर्न लागेका हुन् । चौधरीका निकटस्थ स्रोतका अनुसार उनले मधेसी दल परित्याग गर्दै आफ्नै नेतृत्वमा नयाँ पार्टी दर्ता गर्न लागेका हुन् । प्राप्त कागजात अनुसार चौधरीले २०१ जनाको केन्द्रीय सदस्य रहने गरी नागरिक प्रजातान्त्रिक समाजवादी पार्टी दर्ता गर्न लागेका हुन् । नयाँ पार्टीको चुनाव चिन्ह ढकिया राख्न लागिएको छ ।
त्यसैगरी पार्टीको आधारभूमिका रुपमा थरूहट क्षेत्र रहने उल्लेख छ । यद्यपि यो पार्टी राष्ट्रिय सोचका साथ राष्ट्रिय पार्टीका रुपमा खोलिन लागेको दस्तावेजमा उल्लेख छ । पार्टीमा सक्रिय राजनीतिको उमेर हद ६५ वर्ष कायम गर्ने प्रस्ताव गरिएको छ र २७ जनाको पदाधिकारी समाज रहने उल्लेख छ । पार्टीमा एकजना अध्यक्ष, ७ जना उपाध्यक्ष, तीनजना वरिष्ठ नेता, एक महासचिव, ७ जना सचिव, एक कोषाध्यक्ष र सातजना सह कोषाध्यक्ष रहने उल्लेख गरिएको छ ।
त्यस्तै पार्टीको विधानमा व्यवस्था गर्नेगरी केन्द्रीय सदस्य पदमा मुक्त कम्लरीबाट एक, हलिया, हरुवा–चरुवाबाट एक, वादी महिलाबाट एक, पिछडावर्गबाट ३ र सिमान्तकृत समुदायबाट ९ जना केन्द्रीय सदस्य अनिवार्य गर्ने उल्लेख गरिएको छ । त्यसैगरी नयाँ पार्टीको शासकीय स्वरुपमा संघीयता, धर्म निरपेक्षता, जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था गरिने उल्लेख गरिएको छ । त्यसैगरी दलित जनजाति, थारु, मुस्लिम महिलाका लागि अनिवार्य आरक्षित सिटको व्यवस्था गरिने उल्लेख छ ।
त्यस्तै चेपाङ, राउटे, कुसुन्डा, सत्याल, माझी आदिका लागि निर्वाचन नै नहुने गरी अनिवार्य संरक्षित सिटको व्यवस्था गर्ने उल्लेख गरिएको छ । त्यसैगरी मन्त्रालयमा मन्त्री बनाउने वा बन्ने व्यक्ति सम्बन्धित विषयमा विज्ञता हासिल गरेका व्यक्तिहरु नै हुनुपर्ने उल्लेख छ ।
कृषि, शिक्षा, स्वास्थ्य, वातावरण, अर्थजस्ता मन्त्रालयमा विज्ञता हासिल गरेका सचिव र मन्त्रीहरु नियुक्त हुने व्यवस्था हुनुपर्ने उल्लेख छ । दल दर्ताका क्रममा सातवटै प्रदेशबाट जनजाति, दलित, मुस्लिम, महिला आदि सबैलाई समेटेर संविधान अनुसारकै व्यवस्था गर्ने पनि उल्लेख छ ।