मंगलबार , बैसाख २९, २०८३

सरकारले सवारीचालक अनुमतिपत्र (लाइसेन्स) व्यावसायिक र निजी प्रयोजनका लागि छुट्टाछुट्टै दिने तयारी गरेको छ।

सरकारले सवारी दुर्घटना कम गर्न र चालकलाई जिम्मेवार बनाउने भन्दै यस्तो व्यवस्था गर्न लागेको हो।

यातायात व्यवस्था विभागले ल्याएको ‘सवारी तथा यातायात व्यवस्था ऐन, २०७७’ मा उक्त नियमको व्यवस्था गरेको छ।

विभागका अनुसार नयाँ नियम ड्राफ्ट गरेर भौतिक पूर्वाधार विकास मन्त्रालयमा पठाइएको छ। पारित भएपछि लागू हुनेछ।

‘चालकलाई जिम्मेवार बनाउनका लागि पनि यस्तो नियम ल्याउन लागिएको हो,’ विभागका एक उच्च अधिकारीले भने।

उनका अनुसार व्यावसायिक सवारीसाधन चलाउनको लागि लाइसेन्स निकाल्न अनुभवी चालक हुनुपर्नेछ।

व्यावसायिक चालकका लागि कम्तीमा पनि चालकले​ सवारीचालक अनुमतिपत्र लिएर ४ वर्ष गाडी चलाएको हुनुपर्नेछ।

निजीको लागि पहिलाकै ऐनअनुसार लाइसेन्स दिइनेछ। ‘म गाडी चलाउने पेशा नै लिन्छु भन्नेका लागि व्यावसायिक लाइसेन्स राम्रो हो,’ उनले भने, ‘यसले उसको सिप क्षमताको झनै विकास गर्छ, सर्वसाधारणको ज्यान जोखिम पनि हुन्न।’

उनले यसका लागि साधारण लेखपढ गर्नेले निकाल्न पाउने बताए।

ऐन लागू भएको २ वर्षभित्र व्यावसायिक सवारीचालक अनुमतिपत्र लिइसक्नुपर्ने प्रावधान छ।

सोही ऐनमा व्यावसायिक लाइसेन्स लिने चालकले प्रत्येक २ वर्षमा सरकारबाट मान्यताप्राप्त स्वास्थ्य संस्थाबाट आफ्नो स्वास्थ्य परीक्षण गराउनुपर्ने व्यवस्था पनि गरिएको छ।

बाइकको पछाडि बस्नेलाई अनिवार्य हेल्मेट

सरकारले ०७६ सालबाटै मोटरसाइकल र स्कुटरको पछाडि बस्नेले पनि हेल्मेट लगाउनुपर्ने निययम लागू गरेको थियो।

तर यसको निकै आलोचना भएपछि त्यो सफल भएन। फेरि ऐन नै ल्याएर अनिवार्य गराउने तयारी विभागको छ।

‘बाइकमा पछाडि बस्नेले पनि हेल्मेट लगाउनुपर्ने नराम्रो कुरा होइन नि, यो त ज्यानको सुरक्षाका लागि हो, त्यसैले विरोध गर्नुपर्ने कारण छैन, यस्तो व्यवस्था ऐनमा छ, नभए मन्त्रालयले यसको प्रावधान थपि नै हाल्छ,’ ती अधिकारीले भने।

स्मार्ट लाइसेन्सको छपाइ अझै सुरु भएन

०७७ सालबाट कार्ड सकिएर रोकिएको स्मार्ट लाइसेन्स छपाई अहिलेसम्म सुरु भएको छैन।

विभागले सवारीचालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स)का लागि फ्रान्सबाट १४ लाख थान स्मार्ट कार्ड ल्याइसकेको छ।

तर, छपाई भने भएको छैन। विभागका प्रवक्ता डा‍. लोकनाथ भुसालले छपाइका लागि ल्याब परीक्षण भइरहेको बताए। उनले भने, ‘अब छिट्टै छपाई सुरु हुन्छ।’

भुसालका अनुसार हालसम्म २० लाख कार्ड छपाइ भइसकेको छ भने ०७८/७९ भित्र थप १४ लाख नयाँ स्मार्ट लाइसेन्स कार्ड छाप्नुपर्नेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP