मंगलबार , बैसाख २९, २०८३

महामन्त्रीको मतगणना चलिरहेका बेला आफू पछि परेपछि रक्षामन्त्रीसमेतको जिम्मेवारी पाएका कांग्रेस नेता मिनेन्द्र रिजालले मन्त्री पदबाट राजीनामा दिने घोषणा गरे ।

यतिबेला कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाको क्याबिनेटमा रक्षा मन्त्रालय खालि भएको छ ।

त्यस्तै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको कोटाबाट उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री भएका भनिएका गजेन्द्रबहादुर हमालले ४८ घण्टामै राजीनामा बुझाए । उक्त मन्त्रालय पनि खालि छ ।

खालि भएका दुवै मन्त्रालयमा देउवाले महाधिवेशनमा आफूलाई सघाउनेहरूलाई सेटल गर्न लागेका छन् ।

पहिलो चरणको प्रतिस्पर्धाबाट सभापति निर्वाचित हुन नसकेपछि देउवाले सभापतिका तीन प्रत्यासीबाट दोस्रो चरणको मतदानमा सहयोग पाएका थिए ।

प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङको सहयोग लिएर देउवाले शेखर कोइरालाविरुद्ध शानदार जीत हासिल गरे ।

अब ज-जसले आफूलाई सहयोग गरेर सभापति जिताए, उनीहरूमध्ये केहीलाई यिनै दुईवटा मन्त्रालयमा सेटल गर्नतिर देउवा लागेका छन् ।

दोस्रो चरणको निर्वाचनअघि देउवाले सिंहले तत्कालै उपप्रधानमन्त्री बनाउने वाचा गरेको समाचार बाहिरिएको थियो । सिंहनिकट स्रोतले यसको खण्डन गरिसकेको छ ।

तर सिंहको प्यानलबाट उपसभापति लडेकी गिरिजापुत्री सुजाता कोइरालाले मन्त्री बन्न लबिङ शुरू गरिसकेकी छन् । निधिलाई के उपहार दिन्छन् भनेर यहिल्यै यसै भन्न सकिने अवस्था छैन ।

सुजाताले देउवा सरकार गठनकै बेला आफूलाई उपप्रधानमन्त्री बनाउनुपर्ने मागसमेत राखेकी थिइन् । स्रोत भन्छ, ‘उपप्रधानमन्त्रीसहित एक मन्त्रालय सुजाताले पाउने लगभग पक्कापक्की छ ।’

अमेरिकी सहयोग परियोजना (एमसीसी)को छिनोफानो भएलगत्तै देउवा मन्त्रीमण्डल पुनःगठन गर्ने सोचाइमा पुगेका छन् ।

देउवालाई अर्को अप्ठेरो पनि छ । मन्त्रिपरिषद बिस्तार गर्दा उपप्रधानमन्त्री पद नराख्ने निर्णय गरेका देउवाले आफ्नै पार्टीबाट कसैलाई उपप्रधानमन्त्री बनाउनुपर्यो भने गठबन्धनका अन्य दलहरूले पनि सोही पद माग्न सक्छन् ।

देउवालाई पार्टीभित्रैबाट पनि अप्ठेरो परेको छ । दुवै मन्त्रालयमा आफूखुसी नियुक्ति गर्दा शेखर कोइराला समूह बिच्किन सक्छ । एक मन्त्रालय आफूले पाउनुपर्ने शेखरको दाबी अस्वाभाविक रहेन ।

सभापतिमा हारेर पनि पार्टीभित्र शक्तिशाली नेता बनेर उदाएका शेखरलाई नजरअन्दाज गर्न देउवालाई गाह्रो छ ।

यदि शेखरले एउटा मन्त्रालय आफ्नो भागबण्डामा पारेमा गगन थापा उपयुक्त पात्र हुनेछन् ।

महामन्त्रीमा करीब दुईतिहाइ मतसहित बाजी मारेका गगनलाई एउटा मन्त्रालय दिएर आफूविरुद्ध उठ्ने पार्टीभित्रकै प्रतिपक्षी आवाज मधुरो हुन सक्ने देउवा समूहको आंकलन छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP