
नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सर्वाधिक मत ल्याएर गगन थापा महामन्त्रीमा निर्वाचित भएका छन्।
पार्टी सभापतिमा निर्वाचित शेरबहादुर देउवा प्यानलबाट चुनाव लडेका दुई जना उम्मेदवार डा. प्रकाशशरण महत र प्रदीप पौडेल दुवैले पाएको मत जोड्दा पनि ६४ मत बढी ल्याएर थापाले जितेका छन्।
थापाको ३ हजार २३ र महतले १ हजार १ सय ५० तथा पौडेलले एक हजार चार सय ९ मत प्राप्त गरे। ०४६ सालमा कक्षा ९ मा अध्ययन गर्दै गर्दा बाल कांग्रेसको सदस्यका रुपमा राजनीतिक यात्राको सुरुवात गरेका थापा ०४६ सालको जनआन्दोलनमा सहभागी भएका थिए।
०५१ मा स्वतन्त्र विद्यार्थी युनियन त्रिचन्द्र क्याम्पसको सदस्य बनेका थापा ०५३ सचिव र ०५५ सभापति बनेका थिए। ०५५ मा त्रिभुवन विश्वविद्यालयको सिनेट सदस्य भएका थापा ०५७ मा नेपाल विद्यार्थी संघको उपाध्यक्ष र २०५९ मा महामन्त्री बनेका थिए।
तत्कालिन राजाको निरंकुश कदमविरुद्ध संयुक्त विद्यार्थी आन्दोलनको अगुवाई गरेका थापाले स्वतन्त्रताको लागि आन्दोलनको नेतृत्व गर्दैगर्दा ०६०–०६१ मा राज्यविरुद्धको आरोपमा राजद्रोहको मुद्दा खेपेका थिए।
०६२/६३ को जनआन्दोलनमा पनि अग्रणी भूमिका खेलेका थापा ०६४ सालको संविधानसभा निर्वाचनमा समानुपातिकबाट संविधान सभा सदस्य निर्वाचित भए। ०७० को संविधानसभाको दोस्रो निर्वाचनमा काठमाडौं क्षेत्र नं. ४ बाट अत्यधिक मतले निर्वाचित भएका थिए।
०७३ सालमा नौ महिना स्वास्थ्य मन्त्री बनेका थापामा ०७४ को प्रतिनिधि सभा निर्वाचनमा पनि काठमाण्डौं–४ बाट पुनः निर्वाचित भए। उनी ०६७ सालमा भएको नेपाली कांग्रेसको महाधिवेशनमा सर्वाधिक मत ल्याएर केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए।
१३ औं महाधिवेशनमा भने महामन्त्री पदमा पराजित भए। इन्जिनियर बुबा महेन्द्रकुमार थापा सरकारी जागिरको शिलशिलामा सिन्धुपाल्चोकमा कार्यरत रहेका बेला आमा रामेश्वरी थापाको कोखबाट गगन थापाको जन्म भएको हो।
उनको बाल्यकाल सिन्धुपाल्चोकको लामसाङमा बित्यो। हाल उनी काठमाडौं महानगरपालिका–३०, रातोपुलमा बस्दै आएका छन्। क्यामेष्ट्रिबाट बिएससी गरेका थापाले समाजशास्त्रमा स्नातकोत्तर गरेका छन्।