
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज स्वास्थ्योपचारको लागि थाइल्याण्ड जाँदैछन् । बैंकक उड्नुअघि उनले पार्टीको कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति पूर्णबहादुर खड्कालाई सुम्पिएका छन् ।
खड्का देउवाका विश्वासपात्रको रुपमा चिनिएका छन् । हालै बसेको कांग्रेस–एमाले नेताहरु सम्मिलित उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा भने खड्का सहभागी भएनन् । महामन्त्री गगन थापापनि सहभागी भएका थिएनन् । पछिल्लो समय कांग्रेसका पदाधिकारी तहकै नेताहरुले सरकारको गति सुस्ताएको भन्दै सार्वजनिक रुपमा आलोचना बढाएका छन् ।
नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तीको विषयले सत्ता गठबन्धनमा असमझदारी पैदा भएको चर्चा थियो । तर, प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति देउवाबीचको एक्लाएक्लै भेटवार्ताले गभर्नर नियुक्तीको विषयमा पनि सहमति गरेको बताईन्छ । देउवाले अघि सारेको नाममा प्रधानमन्त्री ओलीको सहमति रहेको जनाईएको छ ।
राष्ट्र बैंकको निर्देशकबाट डा. गुणाकर भट्टले राजीनामा दिएपछि उनैले गभर्नरमा बाजी मार्ने अड्कलबाजी चलिरहेको छ । तर, गभर्नर नियुक्ती प्रक्रिया अघि नबढ्दै यो विषय अदालत पुगेको छ । आज सुनुवाईको लागि पेशी तोकिएको थियो । तर, मुद्दा हेर्न नभ्यार्ईनेमा राखिएको छ । गनर्भर नियुक्तीको प्रक्रियाको थालनी नै नहुँदै देउवा भने उपचारको लागि बैंकक जान लागेका हुन् । उनी एक साता उतै बस्ने भनिएको छ ।
उनको बैंकक बसाईलाई एमालेले भने शंकाको दृष्टिकोणले हेर्न थालेको पनि चर्चा गाईंगुईं चल्न थालेको छ । कांग्रेसले यही बैशाख १७ गते बस्नेगरि केन्द्रीय समितिको बैठक आह्वान गरेको छ । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले सरकार लामो नजाने र नयाँ वर्षमा नयाँ सरकार आउने दाबी गरेको बेलामा कांग्रेसले पनि सक्रियता बढाएको छ ।
यद्धपी सभापति देउवाको निवासमा बसेको पदाधिकारी, पूर्व पदाधिकारी र सरकारमा सामेल भएका मन्त्रीहरुको संयुक्त बैठकमा तत्काल सरकार फेरवदलको सम्भावना नरहेको निश्कर्ष निकालेको थियो । प्रवक्ता डा. प्रकाशशरण महतले त सरकार ढल्ने माओवादी अध्यक्ष प्रचण्डको भनाईबारे ‘प्रचण्डले चाहँदैमा सरकार बन्ने र ढल्ने नहुने’ जवाफ फर्काएका थिए ।
तर, सभापति देउवालाई भने दबाब रहेको बताईन्छ । सडकमा व्यवस्थाविरोधी आन्दोलन, विपक्षीहरुको निरन्तर संघर्ष र भारतसँगको सम्बन्धमा सुधार नदेखिएपछि कांग्रेस नेतृत्व यतिवेला दबाबमा रहेको छ । एमालेसँगको सहकार्यलाई लिएर भएको ७ बुँदे सहमति कार्यान्वयन नभएको भनेर कांग्रेसभित्रैबाट आलोचना भैरहेको छ ।
पार्टीभित्रको दबाब थेग्न नसक्ने अवस्थामा पुगेपछि देउवाले यही बैशाख १७ गते केन्द्रीय समितिको बैठक बोलाएका छन् । सरकारमा रहेका मन्त्रीहरु यतिवेला बजेट निर्माणमा व्यस्त छन् । तर, सरकारको भविष्यलाई लिएर उनीहरुपनि चिन्तित छन् । कांग्रेसकै कतिपय नेताहरुले भने अब बस्ने पार्टीको केन्द्रीय समितिको बैठकले नै सरकारमा कांग्रेसको निरन्तरता वा ब्रेक लिने भन्नेबारे निर्णायक निर्णय लिने विश्वास राखेका छन् ।