शनिबार , असार १३, २०८३

काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले अध्यागमन हेरेर देशको अवस्था कस्तो छ भन्ने कुरा विदेशीले थाहा पाउने भएकाले सुधार आवश्यक रहेको बताएका छन् । आज (मंगलबार) अध्यागमन विभागको निरीक्षणमा पुगेका गृहमन्त्री लामिछानेले अधिकारीहरूको ब्रिफिङ सुनेपछि अध्यागमनलाई सुधार गर्न निर्देशन समेत दिएका छन् ।

अध्यागमनले वैदेशिक रोजगारीमा जाने र नेपाल आउनेसँग भद्र व्यवहार गर्न उपप्रधान तथा गृहमन्त्री लामिछानेले आग्रह गरेका थिए । ‘विदेशीका लागि अध्यायमन देशको मुहार हो । मुहार नराम्रो हुँदा देशप्रति नै सकारात्मक धारणा बन्दैन । अध्यागमन सुधारका योजना ल्याउनुस् । तपाईंका योजनामा मन्त्रालयले सक्दो सहयोग गर्छ,’ लामिछानेले भनेका थिए ।

गृहमन्त्री लामिछानेले मुलुकको अर्थतन्त्रमा ठूलो योगदान दिने वैदेशिक रोजगारीमा जाने नेपालीलाई अध्यागमनले सहानुभूतिसहितको व्यवहार गर्नुपर्ने बताएका थिए । ‘रेमिट्यान्स पठाएर देशको अर्थतन्त्रमा योगदान दिने श्रमिकलाई विमानस्थलमा जाँदा–आउँदा गरिने अमर्यादित र अभद्र व्यवहार नगर्न तथा अनावश्यक दुःख, कष्ट र हैरानी दिने प्रवृत्ति तत्काल सुधार्न अध्यागमनका कर्मचारीलाई आग्रह छ । सहानुभूतिसहित सकारात्मक व्यवहार गरी आजैबाट सेवाग्राहीलाई परिवर्तनको अनुभूति गराउनुहुन आग्रह छु,’ लामिछानेले भनेका थिए ।

नेपालको अध्यागमनलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार प्रविधिमैत्री बनाउनु पर्नेमा लामिछानेले जोड दिएका थिए । उनले अध्यागमनमा खटिने जनशक्तिलाई पर्याप्त तालिमको व्यवस्था गर्नुपर्ने बताए । त्यस्तै, कार्यस्थललाई स्रोत–साधान सम्पन्न बनाउन चुनौती भएपनि सुधारको प्रयास जारी राख्नुपर्ने बताए ।

अध्यागनमा केही खराब मान्छेका कारण इमानदार कर्मचारीले पनि दुःख पाउने गरेको लामिछानेको भनाइ थियो । ’खराबलाई बेलैमा चिनेर इमान्दारलाई प्रोत्साहित गर्नुपर्छ,’ उनले भने, ‘हिजोका घटनामा कसैलाई दोषारोपण गर्न चाहान्न । भविष्यमा त्यस्ता घटना र प्रवृत्ति दोहोरिनु हुन्न । दलीय आवद्धताका कारण कसैले संरक्षण गर्छ भन्ने नसोच्नु होला ।’

अध्यागमन विभाग कालिकास्थान, काठमाडौंमा भएको कार्यक्रममा गृहसचिव एकनारायण अर्यालले सकारात्मक सोचाई र व्यवहारका साथ सेवा दिन, प्रविधिमैत्री बन्न, मनसायपूर्ण गल्ती नगर्न कर्मचारीहरूलाई निर्देशन दिएका थिए । विभागका महानिर्देशक कोशहरि निरौलाले विभागको काम–कारबाही, समस्या र चुनौतिबारे गृहमन्त्री र सचिवालाई जानकारी गराएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

डार्विनमा First Aid तथा CPR तालिमका लागि ९० बढी सहभागी दर्ता, १० सिट मात्र बाँकी

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

डार्विन र ग्रेटर डार्विन क्षेत्रमा खतरनाक लामखुट्टेबाट सर्ने रोग पुष्टि

१० हजारभन्दा बढीको सहभागितासहित डार्विनमा भव्य रूपमा सम्पन्न भयो नेपाल फेस्टिभल २०२६


TOP