मंगलबार , बैसाख २९, २०८३

इटहरी । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीसहित मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक भएको छ । मुख्यमन्त्री कार्कीसहित मन्त्री शमशेर राई, गणेशप्रसाद उप्रेती र कमलप्रसाद जबेगुले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् ।

मोरङको बुढीगंगा गाउँपालिका–२ स्थायी ठेगाना भएका मुख्यमन्त्री कार्कीको श्रीमती शान्तादेवी बस्नेतको नाममा बुढीगंगामा १ कठ्ठा १२ धुर जग्गा छ । सम्पत्ति विवरणअनुसार उनको बुढीगंगा र विराटनगरमा गरेर ७ वटा घडेरी छन् । सो जग्गाको मूल्य १ करोड ५६ लाख ९९ हजार बराबरको रहेको उल्लेख छ ।

यस्तै, उनको परिवारमा विवाह, उपहार तथा खरिद गरेको २५ तोला सुन र चाँदी ८० तोला रहेको उल्लेख छ । यस्तै, श्रीमती बस्नेतकै नाममा विभिन्न बैंकमा ७ लाख ९४ हजार रुपैयाँ नगद छ । सो रकम तलब भत्ता, बचत र व्याजबाट आम्दानी गरेको उल्लेख छ ।

यस्तै, विभिन्न ५२ वटा बैंक तथा वित्तीय संस्था तथा कम्पनीको सेयर आफ्नो, श्रीमती र परिवारको सदस्यको नाममा १ लाख ८७ हजारको रहेको छ भने कृषि विकास बैंकको हालको मूल्य ५ लाख ६३ हजार ४५६ मूल्य बराबरको २ हजार २७२ कित्ता रहेको छ । यस्तै, १ करोड ८ लाख २ हजार ऋणमध्ये मुख्यमन्त्री कार्कीले ८ लाख ७० हजार मात्रै तिरेको उल्लेख गरेका छन् । श्रीमती बस्नेतको नाममा ३ लाख १८ हजारको एक थान स्कुटर मात्र रहेको उल्लेख छ ।

विराटनगरको सबै जग्गा विभिन्न ठाउँको जमिन बिक्रीबाट खरिद गरेको कार्कीले खुलाएका छन् ।

त्यस्तै, सरकारका प्रवक्तासमेत रहेका आन्तरिक मामिला तथा कानुनमन्त्री शमशेर राईले इलामको रोङ गाउँपालिका ४ र ६ को ५ ठाउँमा जग्गा रहेको खुलाएका छन् । १० तोला सुन र बैंक मौज्दात ६२ हजार र सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थामा आफ्नो परिवारको सदस्य मालती राईको नाममा १ लाख ५० हजार रुपैयाँबराबरको सेयर पुँजी रहेको राईले उल्लेख गरेका छन् ।

यस्तै, भौतिक पूर्वाधार विकासमन्त्री कमलप्रसाद जबेगुले पाँचथरको फालेलुङ १, फालुलुङ २ र झापाको मेचीनगर नगरपालिका–५ मा ६ कित्ता जग्गा रहेको सार्वजनिक गरेका छन् । यस्तै, ११ तोला सुन र १५ तोला चाँदी रहेको उल्लेख गरेका छन् । उनको १ लाख रुपैयाँ बैंक मौज्दात रहेको र अरुण काबेली हाइड्रो पावर लिमिटेडमा ५० कित्ता सेयर रहेको खुलाएका छन् ।

त्यस्तै, वन, पर्यटन तथा वातावरणमन्त्री गणेश उप्रेतीले श्रीमती नरमाया भट्टराईको नाममा विराटनगरमा १ कठ्ठा ५ धुर र सुनसरीको इटहरीमा ११ धुर जग्गा रहेको उल्लेख गरेका छन् । उनको परिवारसँग १० तोला सुन र २० तोला चाँदी तथा विभिन्न बैंकमा परिवारको नाममा २ लाख ७८ हजार रुपैयाँ नगद रहेको उल्लेख गरिएको छ ।

उप्रेतीको परिवारको नाममा विभिन्न वित्तीय संस्थामा १ हजार ४ सय ५० कित्ता सेयर रहेको सम्पत्ति विवरणमा खुलाइएको छ । उनले विभिन्न बैंक तथा वित्तीय संस्थामा ३९ लाख ५० हजार ऋण तिर्न बाँकी रहेको देखाएका छन् । कोशी प्रदेशमा नयाँ सरकार गठन भएको सय दिन पुग्नै लाग्दा बुधबार मात्रै मुख्यमन्त्री तथा मन्त्रीले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP