
काठमाडौं । धरान उपमहानगरपालिकाका उपप्रमुख अइन्द्रविक्रम बेघा प्रमुख हर्क साम्पाङका कामकारवाही र गतिविधिप्रति चर्को असन्तुष्टि जनाउँदै प्रतिवादमा उत्रिएका छन् । कार्यपालिका बैठकमा बेघा कडा रुपमा प्रस्तुत भएपछि मेयरसँग द्वन्द्व सुरु भएको छ।
१८ महिनादेखि प्रमुख साम्पाङलाई साथ दिँदै आएका उपप्रमुख बेघा आइतबार पहिलो पटक कार्यपालिका बैठकमा प्रमुख साम्पाङमाथि आक्रामक हुँदै खनिए ।
कार्यकक्षबाट राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको फोटो हटाएको विषयबाट असन्तुष्टि जनाउँदै कुरा शुरु गरेका बेघाले आफ्नोबारे सार्वजनिक रुपमा गरेको टिप्पणीको पनि निन्दा र प्रतिवाद मात्रै गरेर असहयोग गरेको प्रमाणित गर्न चुनौती दिए ।
प्रमुख साम्पाङले केही समयअघि फेसबुकमा सेयर गरेको एउटा कन्टेन्टलाई लिएर बेघाले बैठकमा आपत्ति जनाएका हुन्।
आफूलाई विषालुको संज्ञा दिएको उक्त सामाग्रीलाई लिएर बेघाले आक्रोश पोख्दै आपत्ति जनाएपछि बैठक हलमै तनाव भयो । सधैं आक्रोशित हुने मेयर हर्कभन्दा आज बेघा आक्रामक देखिए । उनले पटक पटक असहयोग गरेको प्रमाणित गर्न चुनौती दिँदै बैठक चल्न नदिने चेतावनी दिए ।
‘तपाईले खेलाँची गरेको हो ? किन त्यो कन्टेन्ट सेयर गर्नुभयो ? तपाईंलाई आँखा चिम्लेर काँधमा बोकेर हिँडेको हो, तर जसले बोक्छ उसको टाउकोमा दिसा पिसाब गर्दै नहिड्नुस्।’ उपप्रमुख बेघाले आक्रोशित हुँदै भने,‘मलाई उपप्रमुख तपाईँले बनाएको होरु कानुनबाहिरको तपाईँको आदेश मान्दिनँ । ’
उनले आफू पनि जनताको म्यान्डेट पाएर आएको बताए।उपप्रमुख बेघाले आफूबारेको विवादित स्टाटस हटाउन र असहयोग गरेको पुष्टि गर्न बारम्बार चुनौती दिए। जवाफमा प्रमुख साम्पाङले बोलिसकेको कुरा फिर्ता नहुने बताएका थिए। आफूले भिडिओ सेयर गर्नुको कारण पनि सुनाए।
प्रमुखले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाएको विषयमा उपमहानगरपालिकाको लेटरप्याड प्रयोग गरेर बेघाले क्षमा मागेका थिए। प्रमुख राईले बेघाको यस्तो कार्यले असहयोग भएको आरोप लगाए। ‘माफी माग्नुपर्यो भने मैले माग्ने हो, तपाईंले त्यसरी माग्ने होइन,’ प्रमुख साम्पाङले बैठकमा भने। बेघाले १८ महिनादेखि निरन्तर साथ दिए पनि अहिले घाँटी अठ्याएको बताए। आफूमाथि लगाएको आरोप पनि पुष्टि गर्न उनलाई चुनौती दिए।
बेघाले १८ महिनायता आफूले गरेको असहयोगबारे पुष्टि गर्न चुनौती दिँदै त्यो पुष्टि गर्न नसकेपछि अब अवरोध थाल्ने बताए। तर उता प्रमुख साम्पाङले बोलिसकेको कुरा नफर्किने बताउँदै राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाएकोबारे उपप्रमुख बेघाले उपमहानगरको लेटरप्याड प्रयोग गरेर असहयोग गरेको बताए। उपप्रमुख बेघाले आफूलाई त्यही कुरामा पनि असहयोग गरेको उनले बताए।
प्रमुख साम्पाङ र उपप्रमुख बेघाबीच बैठक हलमै चर्काचर्की भएपछि वडाअध्यक्षहरूले बोल्ने समय मागे। वडाअध्यक्षहरूले कार्यपालिका बैठकमै झगडा र विवादले धरानको बेइज्जत भएको गुनासो गरे।कार्यपालिका बैठकको झगडा र विवादले धरानको बेइज्जत भइरहेको वडाध्यक्षहरूले बताए। उनीहरुले प्रमुख-उपप्रमुखसँगै कार्यपालिकाका सबैजना मिलेर अघि बढ्न र अभिभावकीय भूमिका खेल्न सुझाव दिए ।
केही महिना अघिसम्म प्रमुख र वडाध्यक्षहरूबीच चर्काचर्की हुँदा उपप्रमुख बेघाले मिल्न आग्रह गर्थे। तर आइतबारको कार्यपालिकामा भने वडाध्यक्षहरूले प्रमुख र उपप्रमुखलाई मिलेर अघि बढ्न सुझाए।
कार्यपालिका बैठकमा उपस्थित १७ नम्बर वडाका वडाध्यक्ष मनोज भट्टराईले जनप्रतिनिधिका कारण धरान बद्नाम हुँदै गएको बताए।