मंगलबार , बैसाख २९, २०८३

कञ्चनपुर । कञ्चनपुरमा आजदेखि जलपन्छी गणना सुरु भएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको अगुवाइमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोष, नेपाल पन्छी संरक्षण सङ्घ, हिमालयन नेचरगाइड, शुक्लाफाँटा नेचर गाइड एसोसिएसनलगायत सङ्घसंस्थाले जलपन्छी गणना थालेका हुन् ।
जलपन्छी गणना आजदेखि माघ ७ गतेसम्म जारी रहने नेपाल पन्छी संरक्षण सङ्घका चराविज्ञ हिरुलाल डगौराले  बताए । उनका अनुसार शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्रमा सिमसार क्षेत्र, ताल तलैया, नदीलगायत र निकुञ्ज बाहिरका जलाधार क्षेत्रमा जलपन्छी गणना हुनेछ ।

निकुञ्ज बाहिरका क्षेत्रमा डिभिजन वन कार्यालयसँग समन्वय गरी जलपन्छी गणना हुने चराविज्ञ डगौराले बताए। जलपन्छी गणनामा ‘वाइनाकुलर टेलिस्कोप’ र ‘जिपिएस’सहितको क्यामेराको प्रयोग गरिने छ । “हिँडेर पुग्न सकिने ठाउँमा स्थलगत रुपमै गणना हुन्छ”, उनले भने, “स्थलगत रुपमा हिँडेर पुग्न नसकिने ठाउँमा डुङ्गा र हात्तीमा चढेर जलपन्छी गणना गर्छौं ।”

सिमसार क्षेत्रमा आश्रित रैथाने र आगन्तुक चराको विवरण तथा अवस्था पत्ता लगाउन, सङ्ख्याको अद्यावधिक गर्न हरेक वर्षको यसै दिनदेखि जलपन्छी गणना हुँदै आएको छ । गणनाका क्रममा तालतलैयामा जलपन्छीको सङ्ख्या यकिन गर्ने कार्यसँगै सीमसारको अवस्थाबारे अध्ययन हुनेछ । कञ्चनपुरसँगै कैलाली र बर्दियाका सीमसार क्षेत्र तथा तालतलैया, नदी तथा जलाधार क्षेत्रमा जलपन्छी गणनको कार्य हुने डगौराले जानकारी दिए ।
कञ्चनपुरका सिमसार तथा जलाधार क्षेत्रमा प्रत्येक वर्षको हिउँदमा ५५ देखि ६० बढी प्रजातिका चरा बसाइँ सरेर साइबेरियालगायत उत्तरी ध्रुवबाट बसाइँ सरेर आउने गरेका छन् । रैथाने प्रजातिका जलपन्छीसमेत यहाँ रहेका छन् । उहाँका अनुसार सिमसार क्षेत्र, आहारा, सुरक्षा र गुँड लगाउनका लागि पर्याप्त स्थान भएकाले बसाइँ सार्दै पाहुना जलपन्छी यहाँका सिमसार क्षेत्र, तालतलैया, नदीलगायत क्षेत्रमा पुग्ने गर्दछन् ।

चैतदेखि जेठसम्म पुनः पन्छी साइबेरियालगायत क्षेत्रमा फर्कने गरेका छन् । नेपालमा आठ सय ७७ प्रजातीका चरा पाइने गरेका छन् । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र त्यसको आसपासको क्षेत्रमा मात्रै रैथाने प्रजातिका चार सय २३ प्रजातिका चरा पाइने गरेका छन् । नेपालमा सन् १९८७ देखि नियमित रुपमा जलपन्छी गणना हुँदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP