
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले छिटो सम्पत्ति कमाउने मोह बढ्नु गम्भिर चिन्ताको विषय भएको बताएका छन् ।
मंगलबार बिहान काठमाडौंमा आयोजित कान्तिपुर एजुकेशन समिट (शैक्षिक बहस) मा बोल्दै प्रधानमन्त्री प्रचण्डले चिन्ता व्यक्त गरेका हुन् । छिटो धेरै सम्पत्ति कमाउने मोहमा रोजगारीको अवसर प्राप्त गरेकाहरू नै विदेश पलायन भइरहेको उनले टिप्पणी गरे ।
‘उत्पादकत्वमा कमि, बेरोजगारी लगायतका कारण देशभित्र भविष्य नदेख्ने बाध्यात्मक परिस्थिति एक ठाउँमा छ, तर देशभित्रै रोजगारीको अवसर प्राप्त गरेका र सामाजिक रुपमा समेत प्रतिष्ठित व्यक्तिहरूमा समेत शीघ्रातीशीघ्र सम्पत्ति आर्जनको मोह अनपेक्षित रूपमा बढ्दै गएको छ । यो चाहिँ हाम्रा निम्ति साँच्चिकै चुनौतीको विषय हो ।’ उनले भने ।
प्रधानमन्त्री प्रचण्डले शैक्षिक नीति, पाठ्यक्रम र संरचनामा रूपान्तरण जरूरी भएको समेत बताए । नेपालको उच्च शिक्षाले भूमण्डलीकरणको वैश्विक समस्याको सामना गरिरहेको भन्दै त्यो पनि चुनौतीको रुपमा विद्यमान बनेको प्रधानमन्त्रीले बताए ।
‘भूमण्डलीकरणको प्रत्यक्ष प्रभाव विश्वभरि परिरहेको छ, त्यसमध्ये पनि नेपाल जस्ता विकासशील देशहरूमा यसको बहुआयामिक प्रभाव चुनौतीकै रूपमा विद्यमान छ ।’ प्रधानमन्त्रीले भने , ‘यसले साना, स्वतन्त्र र स्वाधीन देशहरूको अर्थतन्त्र, शिक्षा, मनोविज्ञान र सामाजिक संरचनामा नै काफी हदसम्म हेरफेर ल्याएको छ ।’ यो तथ्यलाई विचार गरी शैक्षिक नीति, पाठ्यक्रम र संरचनामा परिवर्तन गरेर मात्र यो चुनौतीलाई छिचोल्न सकिनेमा प्रधानमन्त्रीले जोड दिए ।