मंगलबार , भाद्र १६, २०८३

इलाम । इलाम नगरपालिका–५ बरबोटेका किसान सामवेद चापागाईले २० रोपनी क्षेत्रफलमा सुन्तला खेती गरेका छन् । अन्यत्र उत्पादन घटेका बेला चापागाईको बगानमा भने सुन्तला लटरम्म फलेको छ । ‘मैले २०६० सालदेखि सुन्तला खेती गर्न थालेको, यस वर्ष सबैभन्दा बढी रु १० लाखमा बेच्न सफल भएको छु’, चापागाईले भने ।

सुन्तला लगाएको पहिलो वर्ष तीन हजारमा बिक्री भएको सम्झँदै उनले यस वर्ष आफ्नो बगानको सुन्तला पाक्न नपाउँदै १० लाखमा बिक्री भएको बताए । जिल्लाका विभिन्न ठाउँमा सुन्तला मासिदै गएकाले चापागाईको जस्तो बगान भेट्न निकै मुस्किल पर्छ । ‘गत वर्ष चार लाखमा बिकेको यस बगानमा यस वर्ष उत्पादन राम्रो छ’, उनले भने, ‘धेरैतिर उत्पादन कम भएपछि व्यापारीले पोहोरको तुलनामा दोब्बरभन्दा बढी मूल्य दिएका छन् ।’

कृषि ज्ञान केन्द्र इलामले पनि चापागाईको बगान नै इलाममा अहिले सबैभन्दा बढी सुन्तला उत्पादन हुने बगान रहेको हुनसक्ने जनाएको छ । केन्द्र प्रमुख टोनी बर्देवाले केन्द्रले किसानलाई सुन्तलाखेतीमा अनुदान र प्राविधिक सहयोग गरिरहेको बताए । गत वर्ष दुई हजार सात सय ४४ मेट्रिक टन सुन्तला उत्पादन भएको इलाममा यस वर्ष दुई हजार सात सय ४० मेट्रिक टन सुन्तला उत्पादन भएको बर्देवाले बताए । कार्यालयका अनुसार यो वर्ष इलाममा विगतको तुलनामा सुन्तला खेती गर्ने क्षेत्रफल समेत घटेको छ । आर्थिक वर्ष २०८०/८१ मा दुई सय ७८ दशमलव पाँच हेक्टरमा मात्र सुन्तला खेती भएको छ ।

गत आव २०७९÷८० मा दुई सय ८० हेक्टरमा सुन्तलाखेती गरिएको थियो । इलाम नगरपालिका–५ माइजोगमाईको नामसालिङ, रोङको वडा नं ६ लगायत क्षेत्रमा व्यावसायिकरुपमा सुन्तला उत्पादन भएको उनले बताए । ‘पुरानो बोट, रोग–कीरा, मौसम परिवर्तन, समयमा छाँटकाँट, सिँचाइ अभाव, जलवायु परिवर्तनको असर आदि कारणले पनि बगान मासिँदैछन्’, उनले भने, ‘अहिले उच्च क्षेत्रमा पनि सुन्तला फल्न थालेको खबर आएका छन् । किवीखेती हुने स्थानतिर सुन्तला फलेको पाइएको छ ।’ केन्द्रले पनि सुन्तला मासिन नदिन बगैँचा व्यवस्थापन सुदृढीकरण कार्यक्रम सुरु गरेको बर्देवाले बताए ।

सुन्तलाको आम्दानीलाई नियमित बनाउन जिल्लाका किसानको मेहनत घटेको छैन । किसान चापागाईँ बिहान उज्यालो नहुँदै सुन्तला स्याहार्न पुग्छन् । साँझसम्म पनि सुन्तलाको स्याहारसुसारमै दिन बित्छ । सुन्तलामा लाग्ने कीरा नियन्त्रणका लागि उनले बेग्लै प्रविधि निर्माण गरेका छन् । उनको बगान हेर्दा सफाचट देखिन्छ । बेला–बेला सिँचाइ समेत गर्नुपर्छ । ‘बोटदेखि भुइँसम्म लत्रिएका दाना, देख्दै टिपौँ–टिपौँ लाग्ने सुन्तला स्याहार्दै दिन बिताउन खुब मज्जा लाग्छ’, उनले भने ।

बगानमा केही पुराना बोट मरे पनि नयाँ थपेको बताउँदै उनले भने, ‘एउटा उत्कृष्ट बगान बनाउन मन छ, त्यसमै लागिपरेको छु ।’ यो समय सुन्तला उत्पादनको मुख्य सिजन पनि हो । कात्तिक दोस्रो सातादेखि बजारमा निस्किएको सुन्तलाको खुद्रा मूल्य अहिले प्रतिकिलो रु एक सय २० देखि एक सय ५० छ । तर धेरैजसो बगान बोट सुकेर रित्तिइसकेका छन् । वर्षैपिच्छे बोटै सुकेर सुन्तलाको उत्पादन कम हुन थालेपछि किसान चिन्तित भएका छन् ।

यो वर्ष गत वर्षभन्दा निकै कम फल लागेको सूर्योदय नगरपालिका–३ का गणेश अर्यालले बताए । पाँच–छ वर्षको वयस्क बोटमा पनि दाना कलिलैमा पहेँलो हुने, भित्रभित्रै कीरा पर्ने र बोटै पहेँलो भएर सुक्ने भएपछि त्यसको उपचार गर्नै नसकिएको अर्यालको गुनासो छ । चार नगरपालिका र छ गाउँपालिका भएको इलामका १० स्थानीय तहमा नै सुन्तलाको आंशिक खेती हुँदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP