काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारलाई विभिन्न १० प्रश्न सोधेका छन् । शनिवार सामाजिक सञ्जाल मार्फत लामिछानेले सरकारलाई नक्कली भुटानी शरणार्थी प्रकरण, ललिता निवास काण्ड, सुन काण्ड, एनसेल प्रकरण, टेराम्याक्स घोटाला, वाइडवडी खरिद काण्ड, यती काण्ड, ओम्नी काण्ड, गिरिबन्धु काण्डलगायत सरकारको नालायकीपनको उदाहरण भएको भन्दै यसका दोषी उम्काउने को हो भन्दै सरकारलाई प्रश्न सोधेका छन् ।
‘जवाफ चाहियो सरकार’ शीर्षकमा उनले सोधेका छन् :
•नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी उम्काउने ?
• ललिता निवास काण्डमा दोषी उम्काउने?
• सुन काण्डमा तस्करहरू रोजी रोजी जोगाउने ?
• एनसेल प्रकरणमा मिलेमतो गरी राज्यलाई ठग्ने?
• टेराम्याक्स घोटालामा संलग्नलाई कारबाही नगर्ने?
• वाइडवडी खरिद काण्ड, यती काण्ड, ओम्नी काण्ड, गिरि बन्धु काण्डका फाइल थन्क्याउने ?
• नारायणघाट -बुटवल, मुग्लिन- पोखरा लगायतका सडकहरू वर्षौँ अलपत्र पारि जनतालाई धुलोमा डुबाउने ?
• प्रधानमन्त्री र मन्त्री भने करोडौँ खर्चमा जहाजमा विदेश, हेलिकप्टरमा स्वदेश सयर गर्ने ?
यी त सरकारका नालायकीपनका केही प्रतिनिधि काण्ड हुन ।
हुँदा हुँदा.. पेट पाल्न विदेश जान्छु भन्ने गरिब श्रमिकलाई बिच सडकमा गोली हान्ने?
आज पीडित परिवारसँग कुरा गर्दा अत्यन्त विक्षिप्त भइयो। यो दर्दनाक अवस्थाबाट नेपालीले कहिले मुक्ति पाउने ?
लामिछाने अगाडि लेख्छन, देशभर रास्वपाले विरोध कार्यक्रमहरू सुरु गरेको छ। पुतला जलाएर होइन, पुतला सजाएर प्रश्न गर्छौ।
रास्वपा अब रोकिँदैन। यो देशको दुर्गति बनाउनेहरूको अब भण्डाफोर हुन्छ , हुन्छ।’









