मंगलबार , भाद्र १६, २०८३

काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले रुसी सेनामा भर्ना भएका मध्ये १०० जना हाराहारी नेपाली हराइरहेको र घाइते भएको उजुरी आएको बताएका छन् । राष्ट्रिय समाचार समितिसँगको कुराकानीमा परराष्ट्रमन्त्री साउदले यो जानकारी दिएका हुन् ।  उनका अनुसार करिब २ सय नेपाली रुसी सेनामा संलग्न भएको अनुमान छ  ।

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार गठन भएको एक वर्ष पूरा भएको सन्दर्भमा रासससँग कुरा गर्दै परराष्ट्रमन्त्री साउदले रुसी सेनामा नेपालीलाई सहभागी गराइएकोबारे त्यहाँको सरकारलाई चासो राखिएको बताए ।

‘रुसी सेनामा केही नेपाली नागरिक भर्ना भएको र त्यसमध्ये सात जना मारिएको भन्ने सूचना रुसी सरकारले नै दिएको छ । यसबाहेक सयजना हाराहारीमा हराइरहेका र घाइते भएकाको उजुरी मन्त्रालयमा आएको छ । उनीहरूका परिवार र साथीभाइले खबर गरेका छन्’ मन्त्री साउदले भनेका छन्,’यसका लागि नेपालस्थित रुसका राजदूतलाई मन्त्रालयमा बोलाएर हाम्रा चासोहरू रुसी सरकारसम्म पुर्‍याउनका लागि स्पष्ट सन्देश दिएका छौँ । मस्कोस्थित नेपाली दूतावासलाई पनि राष्ट्रिय मानवअधिकार आयोगको चासोलाई समेत राखेर नेपाल सरकारको दृष्टिकोण सम्प्रेषण गरेका छौँ । यसमा हामी प्रयत्न गरिरहेका छौँ ।’

रुसी सेनामा कति नेपाली संलग्न छन् भन्ने यकिन विवरण नभएको परराष्ट्रमन्त्री साउदको भनाइ छ । ‘करिब दुई सयजना काम गर्न, अध्ययन र भ्रमण भिसामा रुस गएका नेपाली युवा त्यहाँको सेनामा भर्ना भएको आशंका गरिएको छ । त्यसभन्दा केही बढी भर्ना भएको हुनुपर्छ भन्ने हो । किन भने सयजना हाराहारीमा हराइरहेका र घाइते भएकाको उजुरी मन्त्रालयमा आएको छ । यो संख्या दुई सयभन्दा बढी रहेको हुनसक्ने हाम्रो अनुमान छ,’ उनले भने ।

सरकारले रुसमा नेपाली नागरिक सैन्य भर्तीका लागि जान नपाउन् वा नजाउन् भनेर ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी)को प्रबन्ध गरिएको पनि साउदले जानकारी दिए । उनले दक्षिण एसियाको भारत, बंगलादेश र श्रीलंका तथा खाडी क्षेत्रका ६ देशबाट एनओसी चाहिने गरी प्रबन्ध मिलाइएको जानकारी दिए । उनले थप कोही त्यहाँ गएको भन्ने सूचना आएको अवस्थामा विमानस्थलमा थप निगरानी बढाइएको बताए ।  रुसी सेनामा नेपाली नागरिक सहभागी हुन नपाउन् भन्नका लागि सरकारले आफ्नोतर्फबाट गर्ने पहलकदमीमा केही कसर बाँकी नराखेको उनको दाबी छ ।

युक्रेनमा बन्दी बनाइएका नेपालीलाई नेपाल फर्काउन पहल भइरहेको परराष्ट्रमन्त्री साउदले जानकारी दिए । उनले भने, ‘युक्रेनमा बन्दी बनाइकाका हकमा हामी युक्रेन सरकारको सम्पर्कमा छौँ । युक्रेन हेर्ने हाम्रो राजदूतले उद्धारका लागि वार्ता संवाद गरिरहनुभएको छ । दिल्लीस्थित नेपाल हेर्ने युक्रेनको राजदूतावासमा पनि कुरा भइरहेको छ । अन्तर्राष्ट्रिय रेडक्रसलाई युद्ध बनाइएका चार नेपालीलाई तत्काल रिहाइका लागि सहजीकरण गरिदिन आग्रह गरेका छौँ । यसको परिणाम चाँडै आउँला भन्ने मैले विश्वास लिएको छु ।’

त्यस्तै, हमासले बन्धक बनाएका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि पनि सरकारले पहल गरिराखेको मन्त्री साउदले जानकारी दिए । ‘विपिन जोशीको उद्धार र रिहाइका लागि अन्तर्राष्ट्रिय रेडक्रस, कतारका प्रधानमन्त्रीसम्मलाई म आफैँले भेटेर पहल गरिदिन आग्रह गरेको छु । अहिलेसम्मको विवरणअनुसार विपिन जोशीको जीवन सुरक्षित नै छ । आउँदो युद्धविराममा हामी विपिन जोशीलाई छुटाउन सफल हुनेछौँ भन्ने मेरो दृढ विश्वास छ,’ उनले भने ।   हमासले इजरायलमाथि आक्रमण गरेसँगै जोशीलाई बन्धक बनाएर लगेको थियो। हमासले इजरायलमाथि आक्रमण गर्दा त्यहाँ पढ्न गएका १० नेपाली विद्यार्थी मारिएका थिए भने जोशीलाई बन्धक बनाइएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP