
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गणतन्त्रको विकल्प नभएको बताएका छन् । नेपाली कांग्रेस तनहुँले सोमबार गरेको जिल्ला सम्मेलन तथा भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै देउवालेसङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउनुपर्नेमा जोड दिए ।
देउवाले पार्टीलाई बलियो बनाउन पार्टीभित्र समझदारी र एकताको खाँचो रहेको पनि बताए। ‘पार्टीलाई बलियो बनाएर अघि जानुपर्छ। तबमात्र देशको ठूलो र शक्तिशाली पार्टी बन्न सकिन्छु, उनले भने।
सभापति देउवाले अहिलेको संविधानका कारण एउटै पार्टीको बहुमत आउने अवस्था नरहेकाले चुनावमा गठबन्धन गरेर जानुपरेको दाबी गरे। ‘ुसंविधान समावेशी छ। संविधानका कारण एउटै पार्टीको बहुमत आउँदैन। गठबन्धन गरेर जाँदा कांग्रेस ठूलो शक्तिका रुपमा निर्माण गर्न सकिन्छ’, देउवाले भने।
डा. शेखर कोइराला र गगन थापाहरूले २०८४ को चुनावमा गठबन्धन नगरी एक्लै लड्नुपर्ने विषयलाई जोडतोडका साथ उठाईरहेका बेला देउवाले गठबन्धनमा जोड दिएका हुन् । कार्यक्रममा कांग्रेस उपसभापति एवम् कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री धनराज गुरुङले सहमति, सहकार्य र समझदारी अहिलेको आवश्यकता रहेको औँल्याए।
देशको प्रमुख समस्या अशिक्षा, गरिबी र भ्रष्टाचार भएकाले यसको अन्त्यका लागि कांग्रेस, एमाले र माओवादी मिल्नुपर्नेमा उनले जोड दिए।