मंगलबार , भाद्र १६, २०८३

महोत्तरी /  बाँके नेपालगञ्ज–२५ शान्तिनगरका सशस्त्र प्रहरी सहायक निरीक्षक थमनबहादुर विकलाई महोत्तरीमा मधेश आन्दोलनको समयमा लखेटीलखेटी निर्ममतापूर्वक हत्या गरेको ८ वर्ष बितिसकेको छ । यो अवधिमा विकको हत्या हुँदा ३ वर्षका छोरा सुवोध विक ११ वर्ष पुगेका छन् । यसैमध्ये नियोजित ढंगले लाठी र जुत्ता बजारेर निर्मतापूर्वक हत्या गरेको  आरोप लागेका मुख्य आरोपी लक्ष्मी महतो कोइरी महोत्तरी क्षेत्र नम्बर १ बाट संघीय संसदमा निर्वाचित भए पनि निलम्बनमा परेका छन् ।

निलम्बनसँगै पक्राउ पर्ने डरले फरार रहेका कोइरीलाई खोज्दै नेपालगञ्जवाट थमनका छोरा र श्रीमती शोभा विक यतिबेला संघीय राजधानी काठमाडौं आएर न्यायको याचना गरिरहेका छन् । प्रमाणसहित ८  वर्ष अगाडि मृतक थमनका दाजु प्रेम विकले किटानी जाहेरी दिएका उनै कोइरीलाई  खोज्दै श्रीमती शोभा र उनका छोरा सुबोध न्याय नपाएपछि काठमाडौं आइपुगेका हुन् ।

‘संघीय राजधानी आएपछि श्रीमानको हत्या फेला पार्न सकिन्छ र न्याय पनि पाइन्छ कि भनेर छोरालाई लिएर  काठमाडौं आइपुगेको छु,’ थमनकी श्रीमती शोभाले न्युज कारखानासँग भनिन् ।  अहिले थमनका छोरा सुबोध घरी–घरी आमालाई बुबाकाबारेमा सोध्ने गर्छन् ।  बुबाको फोटो हेर्दै टोलाउँदै गर्ने सुबोध पछिल्लो समय समाचारमा आएका बिषयवस्तुले  बालमष्तिकमा गहिरो चोट पुगेको आमा शोभा बताउँछिन् ।

२०७२ साल भदौ २५ गते  आन्दोलनकारीलाई नियन्त्रण गर्ने क्रममा घाइते भएका थमनलाई उपचारको लागि जनकपुर लैजाँदै गर्दा एम्बुलेन्सबाट निकालेर धानबारीमा लखेटेर हत्या भएको थियो ।  समाचारबाट यी विषयहरु थाहा पाएका सुबोधको नै आग्रहमा आमा शोभा काठमाडौं आएको बताउँछिन् ।

‘छोराले निकै कर गरेपछि न्यायको खोजीमा काठमाडौँ आइपुगेका छौँ,’ उनले भनिन्, ‘संघीय राजधानी आएपछि न्याय पाइन्छ भन्ने उद्देश्यले हारगुहार गर्न यहाँ आएका हौँ ।’

एम्बुलेन्सबाट निकालेर धानबारीमा लखेटेर मुक्कका र लात्तीले हान्दै निर्ममतापूर्वक थमनको हत्या गरेको दृश्यले श्रीमती शोभा निक्कै दुखित हुन्छिन् ।

यही घटनाका कारणले शोभाले डिप्रेसनको औषधि खानु परेको छ  । ‘मन दरो बनाउन नै सक्दिनँ । छोरालाई हेरेर मन दरो बनाउँ भन्छु  । तर, सकेको छैन,’ उनी भन्छिन् ।

अझ श्रीमानलाई हत्या गर्ने मुख्य योजनाकार भनिएका कोइरी पक्राउ नपर्दा शोभा मात्र होइन उनका छोरा सुबोध पनि निक्कै दुखित छन् ।

‘हुन त राज्यले छोरालाई निःशुल्क पठनपाठन गराइदिएको छ । वहाँको मासिक पैसा पनि मलाई आउँछ । तर, न्यायविनाको यो सबै फिक्का बनेको छ,’ शोभाले भनिन् ।

मृतक थमनका दाइ प्रेमले दिएको किटानी जाहेरीपछि २०७५ साउन २८ मा महोत्तरी जिल्ला अदालतले २८ जनाविरुद्ध मुद्दा दर्ता गरेको थियो ।

तीमध्ये लक्ष्मी महतो कोइरीलाई तारेखमा रिहा गर्ने निर्णय गरेको थियो । तर, साउन २८ मा महोत्तरी जिल्ला अदालतले गरेको आदेशमा त्रुटि भएको भन्दै सरकारी वकिल कार्यालय महोत्तरीले असोज ११ मा उच्च अदालत जनकपुरमा रिट दायर गरेको थियो।

साधारण तारेखमा छुटेका अभियुक्तहरूलाई थुनामा राखेर अनुसन्धान गनुपर्ने मागसहित सरकारी वकिलले उच्च अदालतमा हालेको रिटमाथि सुनुवाई गर्दै  फौजदारी अभियोगमा पुर्पक्षका लागि जेल चलान गर्नुपर्ने सजाय सुनाएदेखि फरार कोइरीले  गत वर्षको मंसिरमा सम्पन्न आमचुनाव महोत्तरी १ बाट निर्वाचित भए । उनी एमालेबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचि भएका हुन् ।

७ पुस २०७९ मा प्रतिनिधिसभा सदस्यहरुको शपथ ग्रहण कार्यक्रममा सरिक हुन उनी नयाँबानेश्वरस्थित संघीय संसद भवन छिरेका थिए । त्यसपछि २५ पुसमा बसेको प्रतिनिधिसभाको पहिलो बैठक र २६ पुसको दोसो बैठकमा कोइरी उपस्थित भएको संसदको रेकर्डमा छ ।

तीन पटकसम्म संसद भवन छिरेर निस्कँदासमेत नसमातिएका कोइरीलाई  ६ माघ २०७९ मा गृह मन्त्रालयले  पक्राउ गर्न देशभरका जिल्ला प्रशासनलाई निर्देशन दिएको थियो । तर, अझैसम्म उनी भेटिएका छैनन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP