मंगलबार , भाद्र १६, २०८३

भक्तपुर । राप्रपा नेपालका अध्यक्ष कमल थापाले २०८४ साल अगाडि नै नेपालमा राजसंस्था स्थपना हुने दावी गरेका छन्।  रफत सञ्चार क्लबले शुक्रबार आयोजना गरेको सञ्चार–संवाद कार्यक्रममा अध्यक्ष थापाले अब स्थापना हुने राजतन्त्र निरंकुश नहुने , राजासहितको प्रजातन्त्र हुने तथा सर्वधर्म, समभाव सहित सबै अट्ने हिन्दु राष्ट्र हुने बताए।

उनले नेपालमा राजसंस्था स्थापना भएमा विश्वको भू–राजनीतिमा नेपालको स्वतन्त्र अस्तित्व रहने, अहिलेको लुटतन्त्र, सर्वसत्तावादी र छाडातन्त्र अन्त्य हुने र अब स्थापना हुने राजसंस्था जनाताले चुनेको संसदअन्तर्गत रहने हुनाले राष्ट्रको अभिभावकको रूपमा रहेर राष्ट्र प्रमुखको विवाद सदाका लागि समाप्त हुने स्पष्ट पारे।

राप्रपा नेपालले मान्ने राजसंस्था नेपाली कांग्रेसका नेता स्व। विश्वेश्वरप्रसाद कोइरालाले राजा र नेपाली जनताको घाँटी एकै ठाउँमा जोडिएको छ भनेजस्तै हो भन्ने अध्यक्ष थापाको भनाइ थियो। उनले २०६३ को राजनीतिक परिवर्तन असल मनसायले भएको भएतापनि अहिले आएर संघीय गणतान्त्रिक व्यवस्था व्यवहारमा असफल भइसकेको परिप्रेक्ष्यमा नेपालमा राजसंस्था पुनः स्थापनाको विकल्प नभएकामा जोड दिए।

थापाले भने, ‘संघीय लोकतान्त्रिक व्यवस्था एक भ्रष्ट व्यवस्थाको रूपमा रूपान्तरित भइकेको छ। शदीयौंदेखिको दासताको अन्त्य गर्ने भनिएतापनि त्यसको ठीक विपरीत सीमित राजनेता र राजनीतिक दलको सिन्डिकेट, सर्वसत्तावादी ढंगले देश चलाइरहेको छ।’

उनले देशमा आर्थिक सम्बृद्धि हासिल गर्ने भनेता पनि देशको अर्थतन्त्र धराशायीको अवस्थामा पुगेको बताए। ‘अर्थतन्त्र संकटग्रस्त छ। युवाशक्ति रोजगारीका लागि विदेश पलायन भइराखेको छ। राजनीतिक दलका नेताहरूप्रतिको नेपाली जनताको भरोसा टुटेर समाजमा उकुसमुकुस परिस्थिति देखापरेको छ,’ उनले भने।

मुलुक भ्रष्टाचारले आक्रान्त भइरहेको उनले बताए। ‘भ्रष्टाचारका जति पनि काण्डहरू छन्, चाहे त्यो एनसेल कर छली, होस् वा नक्कली भुटानी शरणार्थी, ललितानिवास, सुनकाण्डलगायतमा राज्य र सरकार तथा नेताहरूका परिवार नै संलग्न रहेको छ,’ उनले भने।थापाले राष्ट्रमा राजसंस्था, हिन्दुराज्य स्थापना गर्ने आन्दोलनप्रति आफू र आफ्नो पार्टीको स्वाभाविक नैतिक समर्थन रहने उल्लेख गर्दै दुर्गा प्रसार्इंको आन्दोलनमा स्वतः समर्थन रहेको प्रस्ट पारे। अध्यक्ष थापाले एक प्रसंगमा भने माओवादी, एमाले र कांग्रेस पार्टीका नेताहरूसँग निजीरूपमा कुराकानी हुँदा उहाँहरू नेपाललाई हिन्दू राष्ट्र बनाउनुपर्छ भन्ने कुरामा सहमत भएको पाएको दाबी गरे।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP