
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र उनका कार्यकर्तालाई पुराना दलका कार्यकर्तालाई ‘झोले’ भन्थे र अहिले पनि ‘झोले’ भनेर बेला बेला आलोचना पनि गर्छन । तर यसपटक पार्टीको बैठकमा सभापति लामिछानेले पुराना दलका कार्यकर्ताको प्रशंसा गरेका छन् । त्यतिमात्रै होईन, उनीहरुबाट सिक्नुपर्ने विषय पनि उनल् उठाएका छन् ।
‘गत महिना म रोल्पाको थवाङ पुग्दा सशस्त्र युद्धमा सहभागी भएकाहरू भन्दै थिए – त्यसबेला “आजको लडाइमा सहिद हुने पालो मेरो हो” भनेर सहिद हुन हानथाप र झगडा हुन्थ्यो रे १ सशस्त्र विद्रोहका नेतृत्वकर्ताको नियतमा शंका नै शंका छ तर तिनको एक आदेशमा ज्यान गुमाउने सहिदको नियतमा रत्तिभर शंका छैन । ती सबै जना, यो देश बन्छ भनेर गोली थाप्न तयार भएका हुन् । परिवर्तनका लागि हाँसी हाँसी गोली थाप्न तयार हुने, वर्षौं जेलनेल भोग्न तयार हुने तहको प्रशिक्षण एक अध्ययनको विषय हो ।’ रविको राजनीतिक प्रतिवेदनमा छ ।
पुराना राजनीतिक दलका कार्यकर्ताको यो प्रसंग उठाउनुका पछाडि उनले अहिले आफ्नो पार्टीमा त्याग भन्दा पनि प्राप्तिको भावना बढ्दै गएकोतर्फ संकेत गरेका छन् ।
‘३० औं वर्ष पञ्चायत विरुद्ध लड्दा उनीहरूलाई थाहा थिएन कि परिवर्तन आउँछ कि आउँदैन । तर विद्रोह अनवरत गरिरहे । १० औं वर्ष हतियार बोकेर लुकि लुकि हिंड्दा उनीहरूलाई थाहा थिएन कि परिवर्तन आउँछ कि आउँदैन । तर विद्रोह अनवरत गरिरहे । हामीलाई त स्पष्ट थाहा छ कि ४ वर्ष पदको लोभ र उम्मेदवार आफैं हुने दौड त्याग गर्यो भने ८४ मै परिवर्तन आउँछ । मात्र ४ वर्ष त्याग गर्दा परिवर्तन सुनिश्चित हुने थाहा पाउँदा पनि हाम्रो पुस्ता कतै मै हुन्छु, मै लिन्छु भनिरहेको त छैन रु परिवर्तनको सुनिश्चतता हुँदा हुँदैपनि हामी असल साथी खोज्दै हिंड्नुको साटो दौडेर आफैं पद ओगट्ने दौडमा त छैनौं रु यदि छौं भने हामी जति दौडे पनि आफ्नै गोडामा अल्झिएर लड्छौं । नेपाली जनताले एक युग कुरेर गरेको विश्वास र परिवर्तनको आशा डगमगाउन कदापि दिनु हुँदैन। यो महाअभियान जोगाउन कुनै पनि किसिमको त्याग गर्नु परे पहिलो नम्बरमा मेरो नाम दर्ज गराउन चाहन्छु । आवश्यक परे पहिला म गर्छु पद त्याग, म गर्छु उम्मेदवारी त्याग।’ उनको प्रतिवेदनमा लेखिएको छ ।
रविले आफ्ना कार्यकर्तामा पुराना दलका कार्यकर्तामा जस्तो दृढ संकल्प र राजनीतिक इमानदारिता खोजेका छन् । उनी आफ्नो प्रतिवेदनमा लेख्छन, ‘अहिले गोली खानुपर्ने, सहिद नै हुनुपर्ने परिस्थिति छैन । तर, त्यस्तै दृढ संकल्प र इमानपूर्वक राजनीतिक अभियानमा लाग्न सक्ने गरी प्रशिक्षित चाहिँ हुन जरुरी छ । हामी पार्टी स्थापनाको उद्देश्यमा प्रष्ट छौं । हिंड्ने बाटो र पुग्ने गन्तव्य प्रष्ट छ । गर्ने काम सूचीबद्ध छन् । पार्टी संरचना र संगठन विस्तार पनि सुदृढ हुँदैछ । मात्रै हामीमा इच्छाशक्ति र धैर्यताको आवश्यकता छ ।हामी बलियो र परिपक्व बन्दैछौं । फेरि पनि भन्छु हामी लड्यौं भने आफ्नै खुट्टामा अल्झिएर लड्ने हो । बाह्य शक्ति र स्वार्थले अब हामीलाई लडाउन सक्दैन ।’