मंगलबार , बैसाख २९, २०८३

काठमाडौँ । पैँतिस वर्षअघि स्थापना भएको त्रिभुवन विश्वविद्यालय (त्रिवि) को जनसङ्ख्या अध्ययन केन्द्रीय विभाग यतिखेर विद्यार्थी अभावमा बन्द हुने अवस्थामा पुगेको छ । कुनैबेला वार्षिक तीन सय विद्यार्थीले अध्ययन गर्ने गरेको यो विभागमा अचेल विद्यार्थी पढ्न आउँदैनन् ।

बिहान सबेरै पढाउन गएका प्राध्यापकहरू कक्षाकोठामा विद्यार्थी नपाएपछि घर फर्किने गरेका छन् । एकाबिहानै विभाग आइपुगे पनि विद्यार्थी नआएपछि उक्त विभागका सहप्राध्यापक बालकृष्ण माबुहाङले दुई दिनअघि फेसबुकमै लेखे, “पढाउने पिरियडभरि विद्यार्थी पर्खी बसेँ, आएनन् । कसलाई, कसले दोषारोपण गर्ने वा विद्यार्थी खोज्न जाने १”

विगतमा महिलाको प्रजननदर अधिक भयो, घटाउनु पर्छ भनेर बहस गरेकोदेखि जनसङ्ख्या समस्या समाधानका लागि ‘पड्किन तयार बम’ भन्ने उपमा पाएको यो विभागमा मुस्किलले १२ जना विद्यार्थी भर्ना भएका छन् तर पढ्न भने कहिलेकाहीँ मात्रै आउने गरेका छन् । दुई जना प्राध्यापक, पाँच जना सहप्राध्यापक र पाँच जना उपप्राध्यापक कार्यरत रहेको विभागको वेबसाइटमा उल्लेख छ ।

त्रिभुवन विश्वविद्यालयको स्थापना भएसँगै २०१६ सालमा स्थापना भएको हिन्दी केन्द्रीय विभागको अवस्था पनि उस्तै दयनीय छ । पाँच जना प्राध्यापक कार्यरत रहेको यस विभागमा दुई सेमेस्टरमा गरेर छ जना विद्यार्थी भर्ना भएका छन् तर पढ्न भने कहिलेकाहीँ मात्रै आउँछन् ।

विभागका प्रमुख डा. सञ्जिता बर्माले भनिन्, “स्कुल तथा विश्वविद्यालयको तल्लो तहमा हिन्दी विषयको पढाइ नभएपछि माथिल्लो तहमा भर्ना हुने विद्यार्थीको अभाव भएको हो । हिन्दी विषय पढ्ने विद्यार्थीका लागि विश्वविद्यालयले बनाएको अन्य नीतिगत व्यवस्था पनि बाधक बनेको छ ।”

पछिल्लो समय त्रिविवि अन्तर्गतका थुप्रै केन्द्रीय विभागले विद्यार्थी अभावको समस्या झेल्दै आएका छन् । बजारको माग अनुसार नयाँ विषय नहुनु पनि विद्यार्थी सङ्ख्या घट्नुको कारण हो । पछिल्लो समय नेपाली विद्यार्थीको लर्को विदेशी विश्वविद्यालयतर्फ भएपछि नेपालका विश्वविद्यालय प्रायः सबैले विद्यार्थी अभाव झेल्न थालेका छन् ।

प्राध्यापक तथा प्रशासनिक कर्मचारीसमेत पर्याप्त रहे पनि विद्यार्थी नआएपछि विभागलाई कसरी अघि बढाउने भन्ने चिन्तामा विभागीय प्रमुखहरू छन् । विशेषगरी मानविकी तथा सामाजिकशास्त्र सङ्काय अन्तर्गतका केन्द्रीय विभागहरूले यस्तो समस्या झेल्दै आएका छन् । सोही सङ्कायको नेपाली केन्द्रीय विभाग, मनोविज्ञान केन्द्रीय विभाग, भाषा विज्ञान केन्द्रीय विभागलगायतमा पनि नगण्य मात्रामा मात्रै विद्यार्थी छन् ।  यने समाचार गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP