
उनले जसलाई जे मन लाग्यो लाञ्छित गरिहाल्छन, कसैले केही सोध्यो कि ‘पैसा माग्न आएको थियो’ भनिदिन्छन, तिनै दुर्गा प्रसाईं अहिले गणतन्त्र विरोधी आन्दोलनको अगुवा छन । उनको पक्षमा हजारौं मान्छेहरु देखिए पनि । गणतन्त्रात्मक शासन व्यवस्था फाल्ने, राजतन्त्र र हिन्दु राज्य ल्याउने उनको घोषणा छ ।
यही क्रममा उनले आफूलाई ‘सरकार’ घोषणा गरेका छन् । उनका अनुसार अहिले देशमा दुई वटा सरकार छ, एउटा सिंहदरबारमा र अर्को मध्यपुर ठिमीमा, जहाँ उनको घर छ । प्रहरीले घरबाहिर जान नदिई घरमै नजरबन्दको अवस्थामा राखेपछि पत्रकार सम्मेलन गर्दै उनले देशमा अहिले दुई वटा सरकार रहेको बताए । ‘एउटा सरकार सिंहदरबारमा छ अर्को सरकार यहाँ छ यहाँ ठिमीमा दुर्गा प्रसाईंको घरमा ।’ प्रसाईंले पत्रकार सम्मेलनमा भने ।
अन्यायमा परेकोले न्याय खोज्दै आफू कहाँ सय जना जति महिला आएको र उनीहरुलाई आफूले खाने बस्ने व्यवस्था घरमै गरेर राखेको सुनाउँदै उनले आफू पनि सरकार रहेको जिकिर गरे । ‘बस्ने ठाउँ नभएपछि सय जना जति चेलिबेटीलाई घरमा मेस चलाएर खाना खुवाएर राखेको छु । यो सरकारले गर्न पर्ने हो कि दुर्गा प्रसाईले ?’ उनले भने ।
पत्रकार सम्मेनलकै क्रममा महिलाहरुलाई उपस्थित गराउँदै प्रसाइँले पुष्पकमल दाहाल प्रचण्ड, शेरबहादुर देउवा र केपी ओलीको घर घेर्न जाने उनले चेतावनी दिए । अन्यायमा परेकाहरुको आवाज उठाएर के अपराध गरें भन्ने प्रश्न समेत उनले गरे । प्रसाइँले भने– यिनीहरुले मसँग मजाक गरिरहेका छन, महिलाहरु लगेर केपी ओली, प्रचण्ड र देउवाको घर घेर्न जान नपरोस् । ’ उनले यसो भनिरहँदा सहभागी महिलाले हो हो भन्दै आफूहरु जान तयार रहेको बताए । नागरिकको न्यायका लागि गरिएको आन्दोलनलाई राजावादी भनेर गलत प्रचार गरिएको प्रसाईंको गुनासो छ ।