
२०७२ सालको भूकम्पपछि प्रयोगविहीन भएको पश्चिम मोहोडाका कार्यकक्षसहित आकर्ष हलहरुको समेत प्रयोग सुरु भएको छ । बुधबार एक कार्यक्रमका बीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ कार्यकक्षको उद्घाटन गने । उनले फराकिलो कार्यस्थलले सिजर्नात्मकता बढ्ने विश्वाश व्यक्त गरे । ‘यो यसघिकोभन्दा फराकिलो छ, यहाँ बसेर काम गर्न अलि बढी आइडिया फुर्छ होला,’ उनले भने,‘बरन्डाको प्रयोग पनि गर्न पाइन्छ ।’
२ वर्षभित्र सक्ने गरी लगाइएको पुनर्निर्माणको ठेक्का करिब साढे ४ वर्षपछि सकिएसँगै प्रधानमन्त्रीले भूकम्पअघिकै कार्यकक्ष प्रयोग थालेका हुन् । अब प्रधानमन्त्रीको कार्यकक्षसँगै पुरानै स्वरुपमा पुनर्निर्माण भएका स्टेट हल र बेलायती कक्ष पनि प्रयोगमा ल्याउने तयारी छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयभित्रका स्टेट हल र बेलायती कक्षसहित तत्कालीन राणा प्रधानमन्त्री श्री ३ चन्द्रशमशेरले निर्माण र प्रयोग गरेका कक्ष हुन् । यी कक्षहरु विगतमा २०७२ अघिका प्रधानमन्त्रीहरुले पनि प्रयोग गरेका थिए ।
पश्चिम मोहोडाका विशिष्ट पाहुनासँगको बैठक गर्ने विशिष्ट र ऐतिहासिक कक्षहरुको तयार भएसँगै सिंहदरबारको मूल भवनको पुनर्निर्माणको काम लगभग सकिएको छ ।
माघ २०७७ मा सिंहदरबारको पूर्वी, उत्तरी र दक्षिणी मोहोडाको पुनर्निर्माण सकेपछि तीनै मोहोडामा प्रधानमन्त्रीका लागि कार्यकक्ष र बैठक कक्ष बनाइएका थिए । ती कक्ष तयार भएपछि गृह मन्त्रालयको भवनमा सरेर बसेको प्रधानमन्त्री कार्यालय सिंहदरबारकै मूल भवनमा फर्किएको थियो ।
शहरी विकास तथा भवन निर्माण विभागका अनुसार २०७६ सालदेखि गौरीरशर्मा एण्ड न्यु टेक्निकल जेभीमार्फत पश्चिम मोहोडाका कक्षहरुको पुनर्निर्माण सुरु भएको थियो । पुनर्निर्माण प्राधिकरण विघटन भएसँगै शहरी विकास विभागअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन तथा आवास)ले यो आयोजना हेरिरहेको थियो ।
पुनर्निर्माण सकिएको सिंहदरबारको पश्चिम मोहोडा विसं २०३० को आगलागीबाट बचेको मौलिक भाग हो । आगलागीबाट उत्तर, पूर्व र दक्षिण भाग जलेर नष्ट भएको थियो । ती भागहरुको पुनर्निर्माण गरिएको थियो ।
तस्बिर: प्रधानमन्त्रीको सचिवालय