मंगलबार , भाद्र १६, २०८३

बेदकोट । फूल बिक्री नहुँदा व्यावसायिक रूपमा फूल खेती गरिहरेका किसान निराश बनेका छन् । पछिल्लो समय प्लास्टिक फूलमालाको प्रयोग बढेकाले स्थानीयस्तरमा उत्पादित फूलले बजार पाउन नसकेको कञ्चनपुरको भीमदत्त नगरपालिका–३ भाँसीका पुष्प व्यवसायी जनकबहादुर सिंहले बताए।

‘फूल राम्रै फुलेका छन्, तर बजार नै पाइएको छैन’, उनले भने, ‘अहिलेसम्म फूल बिक्री नै भएको छैन, बिक्रीका लागि तयार भएका फूल कुहिँदैछन् ।’ बजारमा प्लास्टिक फूलमालाको उपलब्धताले स्थानीयस्तरमा उत्पादित फूल बिक्री हुन नसकेको उनको भनाइ छ । ‘प्लास्टिक फूलमालाको प्रयोग बढ्दो छ, अहिले प्रशासनले प्लाष्टिकजन्य फूलमालामा रोक लगाएको छ’, उनले भने, ‘अब फूलले बजार पाउने आशा छ ।’

कृषि ज्ञान केन्द्र कञ्चनपुरमा प्रावधिक पदमा कार्यरत सिंह विगत तीन वर्षयता व्यावसायिक फूल खेती गर्दै आएका छन् । उनले भीमदत्त नगरपालिका–३ भाँसीस्थित जानकी कन्या माध्यमिक विद्यालयको जमिन भाडामा लिएर फूल खेती गरेका छन् । ‘फूलको बीउ आफैँले छरेको थिएँ, सात कठ्ठा जमिनमा फूल खेती छ’, उनले भने, ‘फूल फुलेको दुई साताभित्र टिपेर बेचिसक्नुपर्छ, नभए फूलको बाहिरी पत्र कुहिएर फूल ढल्छ ।’

उनका अनुसार यस वर्ष अहिलेसम्म फूल बिक्री हुनसकेको छैन । भाडामा लिइएको सात कठ्ठा जमिनमा सयपत्री फूल खेती गरिएको छ । उनले यसअघि भीमदत्त नगरपालिका–१० तिलकेनीमा पुष्प व्यवसाय गरेका थियो । फूल बिक्री गर्नै हम्मेहम्मे परेको किसानको भनाइ छ । जसोतसो फूलमाला बिक्री भए पनि उचित मूल्य नपाउने गरेको किसानको गुनासो छ ।

‘फूल र माला बनाएर बेच्ने गर्छौ, रु पाँच सय प्रतिकिलो ग्रामका दरले फूल बेच्ने गरेका छौँ’, उनले भने, ‘रु एक सयको फूलमाला बिक्री गर्ने गरेका छौँ ।’

स्थानीयस्तरमा उत्पादित फूलको बजारीकरणका लागि जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले प्लास्टिक मालामा रोक लगाएको छ । प्लाष्टिकजन्य फूलगुच्छा तथा माला र ४० माइक्रोनभन्दा कम तौलका प्लास्टिक झोला प्रयोग तथा बिक्री वितरणमा प्रशासनले रोक लगाएको हो ।

दीपावली, नेपाल संवत् तथा छठपर्वलगायतका चाडपर्व, मेला, महोत्सव तथा अन्य सभा–समारोहमा प्लास्टिक फूलगुच्छा तथा मालाको प्रयोग अधिक हुने भएकाले त्यसमा रोक लगाइएको सहायक प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले बताए । दोस्रो ठूलो चाड तिहारको हर्षोल्लास गाउँसहरमा छाएको छ । घरबाट टाढा भएकाहरू तिहारलाई घर फिर्ती भएका छन् । बारीमा फूल ढकमक्क फुलेका छन् । तिहारमा घर सिङ्गार्न, लक्ष्मी पूजा गर्नदेखि भाइटीकाको दिन दाजुभाइलाई माला लगाउन सयपत्री र मखमली फूलको प्रयोग हुन्छ ।-रासस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP