मंगलबार , बैसाख २९, २०८३

काठमाडौँ । ‘राम्रा’ भन्दा ‘हाम्रा’ लाई पदाधिकारी नियुक्त गर्ने प्रवृत्तिका कारण विश्वविद्यालयहरू थलिन पुगेका छन् । दोस्रो जनआन्दोलन २०६२/६३ पछि राजनीतिक भागबन्डाका आधारमा विश्वविद्यालयका पदाधिकारी नियुक्त गर्ने प्रवृत्ति स्थापित हुन पुग्यो ।

यसले गर्दा विश्वविद्यालय लथालिङ्ग हुनुका साथै राजनीति गर्ने थलोका रूपमा विकास हुन पुगेका छन् । योग्य व्यक्ति नेतृत्वमा नरहँदा शैक्षिक क्यालेन्डर लागु हुन सकेको छैन । पछिल्लो समय विश्वविद्यालयहरूले विद्यार्थी पाउन छाडेका छन् ।

विश्वविद्यालयको खस्किँदो गुणस्तरका कारण नेपाली विद्यार्थीको आकर्षण विदेशी विश्वविद्यालय बन्न पुगेका छन् । नेपालको पुरानो तथा ठुलो विश्वविद्यालयका रूपमा रहेको त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा धर्मकान्त बाँस्कोटाको कार्यावधि गत साता सकिएको छ ।

त्रिविको उपकुलपति हुनका लागि सत्तारूढ दलहरू आबद्ध प्राध्यापकहरूको रस्साकस्सी सुरु भइसकेको छ । सत्ता गठबन्धनको मुख्य साझेदार दल नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) र जनता समाजवादी पार्टीबिच समझदारी हुन नसक्दा त्रिवि उपकुलपति नियुक्तिमा कुरो मिल्न सकेन ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले त्रिविका कुलपतिसमेत रहेका प्रधानमन्त्रीसमक्ष उपकुलपति रिक्त रहेको लिखित जानकारी दिएको छ । नियम अनुसार प्रधानमन्त्रीले ‘सर्च कमिटी’ गठन गर्नुपर्ने हुन्छ । सो कमिटीले तीन जनाको नाम सिफारिस गर्नुपर्ने र तीमध्येबाट मन्त्रीपरिषद्ले उपकुलपति छनोट गर्नुपर्ने हुन्छ ।

सर्च कमिटी गठन भइसकेको छैन तर त्रिविका शिक्षाध्यक्ष प्राडा शिवलाल भुसाललाई बढीमा तीन महिनाका लागि उपकुलपतिको जिम्मेवारी दिइएको छ । त्रिविका पूर्वउपकुलपति केदारभक्त माथेमाले २०४६ सालपछि त्रिविमा राजनीतीकरणको बीजारोपण भएको बताउँदै भने, “त्यो बेला विश्वविद्यालयभित्र राजनीतिक रङले प्रवेश पाए पनि योग्य र सक्षम व्यक्तिलाई पदाधिकारीमा नियुक्त गरिन्थ्यो । २०६२/६३ पछि राजनीतिक भागबन्डा उत्कर्षमा पुग्यो । अब त योग्य र सक्षमभन्दा राजनीतिक चलखेल गर्नेले बल्छी मार्न थाले । भागबन्डा हद भएको छ । हालत लथालिङ्ग छ । कार्यकर्तालाई भर्ती गर्दा त्रिवि यति धेरै धराशायी भयो ।”

त्रिविका निवर्तमान उपकुलपति डा. बाँस्कोटाको चारवर्षे कार्यकाल शैक्षिक र प्राज्ञिक रूपमा स्मरणीय हुनै सकेन । उनको कार्यकालमध्ये ४०७ दिन तालाबन्दी रह्यो । २०७६ सालमा विश्वविद्यालय पदाधिकारी नियुक्त गर्ने क्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले रोस्टरका लागि आवेदन आह्वान गरेको थियो । आवेदन परेकामध्येबाट छनोट नगरी उनलाई जस्केलाबाट ल्याइयो । यो समाचार गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP