मंगलबार , बैसाख २९, २०८३

रुपनी जि एम/रासस-
जानकी (बाँके) । “मलाई बहिनीले दिदी बचाउनूस् भनिरहिन्। म आफैँ भूकम्पमा पुरिएकी थिएँ। मेरो सास रोकिएको थियो। म बोल्नै र हलचल गर्न सकिरहेकी थिइनँ। मैले टुलुटुलु हेर्नुबाहेक केही गर्न सकिनँ। मैले उनलाई बचाउन सकिनँ। मैले बहिनीलाई मेरै कारणले गुमाएँ” यो चित्कारले नेपालगञ्जस्थित भेरी अस्पतालको वार्ड स्तब्ध थियो।

साथी जस्तै बहिनी गुमाएको पीडामा होस फर्किएदेखि छट्पटाउने गर्छिन् जाजरकोट भेरी नगरपालिका-१ की जुनी विष्ट। शुक्रबार राति जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पमा जुनीले बहिनी मात्रै गुमाइनन्, आफैँ पनि घाइते भएकी छन्।

जुनीको देब्रे हातको नशामा बढी चोट हात चल्दैन। खुट्टा उपचार भएको चौथो दिनदेखि बिस्तारै चल्न थालेको छ तर हिंड्डुल गर्न सक्दिनन्। उनलाई अहिले शय्याबाट झर्न र चढ्न सहारा दिनुपर्छ। सुतेकै अवस्थामा पनि शय्यामा फर्कनसमेत नसक्ने जुनीलाई बहिनीको शोकले झन् थलाउँदै लगेको छ।

भूकम्पमा परेर अर्को जीवन पाएकी १७ वर्षीया जुनी बहिनीलाई बचाउन नसकेकामा आत्मग्लानि भइरहेको छ। शनिबारदेखि भेरी अस्पतालमा उपचाररत जुनीले ‘बहिनी बचाउन सकिनँ’ भन्दै डाँको छाडेर रोइरहिछन्।

अस्पतालका मनोसामाजिक परामर्शकर्ता कमला डाँगीका अनुसार जुनी उनको रेखदेखमा आएको आफन्तसँग पनि बोल्दिनन् । “दिनभरि कि सलले मुख छोपेर सुत्नुहुन्छ कि त बहिनी बचाउन नसकेको गुनासो आफैँसँग गर्दै भक्कानिएर रुनुहुन्छ”,डाँगीले भनिन्, “जुनीलाई शारीरिक चोटभन्दा बढी बहिनीलाई आँखै अगाडि गुमाउनु पर्दाको मानसिक चोट धेरै छ।”

जुनीलाई भूकम्प आफ्नो घरमा मात्र आएको र भूकम्पमा बहिनी मात्रै पुरिएको भन्ने लागिरहेको मनोसामाजिक परामर्शकर्ता डाँगीले बताइन्।

अस्पतालमा भर्ना भएदेखि आजसम्म तीन चरणमा जुनीसँग कुरा गर्दा पहिलो र दोस्रो चरणमा उनी बोल्दै नबोलेको र तेस्रो चरण सामान्य चिनाजानमा मात्रै केन्द्रित रहेको डाँगीले बताइन् ।

“कुराकानी गर्न लागेको आज तेस्रो दिनमा मात्रै उहाँले मसँग मनमा गुम्सिएका पीडालाई भक्कानिँदै खोल्नुभयो। उहाँलाई आफूलाई लागेको चोटभन्दा पनि धेरै माया गरेर सँगै हुर्किएकी बहिनीलाई गुमाएकामा लागेको रहेछ।” डाँगीकाे बुझाई छ ।

भूकम्प जानुअघि शुक्रबार रातिसँगै खाना खाएर दुई बहिनी एउटै ओछ्यानमा भुइँतलामा सुतेका थिए । उनीहरुबीच शनिबार गाउँमा लागेको मेला हेर्न जाने र मेलामा जाँदा दिदीको नयाँ कुर्तासुरुवाल बहिनीले लगाउने सल्लाह पनि भयो । तर राति नै भुकम्प आयो  र  बहिनीको त्यो चाहना अधुरै रह्यो । यसले  जुनीलाई चोट परेको छ ।

“जुनी नबोल्दा कसैसँग पनि बोल्नु हुन्न। उहाँलाई जति नै बोलाए पनि केही जवाफ दिनु हुन्न। तर आफ्नै सुरमा एकोहोरो बहिनीलाई सम्झिएर डाँको छोडेर रुनुहुन्छ”, मनोसामाजिक परामर्शकर्ता डाँगीले भनिन, “उहाँको शरीरमा लागेको चोट औषधिले बिस्तारै निको हुँदै जान्छ। तर उहाँमा मनोसामाजिक समस्या बढी देखिएकाले यो समस्याबाट बाहिर निकाल्न अति नै संवेदनशील भएर कुरा गर्नुपर्ने हुन्छ।”

परामर्शको चार दिनपछि डाँगीसँग जुनीले बुबा रोजगारीको सिलसिलामा विदेश गएको, आमा र भाइलाई सामान्य चोट लागेको बताइन्। डाँगीका अनुसार जुनीले आफूले पनि स्टाफ नर्सको पिसिएलमा नाम निकालेको कुराकानीका क्रममा बताइन् । जुनीले बहिनी गुमाएको शोकमा खाना, पानी, औषधिलगायत केही पनि नखाइदिनाले उनको शारीरिक चोट पनि निको हुन समय लागेको छ।

“जुनीको मन र मस्तिष्कमा लागेको आघात निको पार्न उहाँसँग परमर्श र कुराकानी गर्नु नै उत्तम उपाय हो”, डाँगीले भनिन् । भेरी अस्पतालमा अहिले ४९ जनाको उपचार भइरहेको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिए। उनका अनुसार अस्पतालमा भूकम्पमा परी घाइते भएका ५३ जनालाई उपचारका लागि ल्याइएको थियो।

“तीन जना निको भई घर फर्कनुभएको छ भने एकजनाको उपचारका लागि अस्पताल ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको थियो”, प्रजिअ पोखरेलले भने, “उपचाररत बिरामीको स्वास्थ्य अवस्था खतरामुक्त छ। धेरैको स्वास्थ्य सोधारोन्मुख हुँदै गइरहेको छ।”

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP