
बैठकपछि माओवादी केन्द्रीकी उपाध्यक्ष पम्फा भुसालले शान्ति र संविधानमाथिको प्रहारलाई मिलेर प्रतिवाद गर्ने निचोड निस्किएको बताइन् ।‘यदाकदा पानीको फोकाजस्तो छिटफुट देखापरेका प्रहारविरुद्ध मिलेर प्रतिवाद गर्ने सर्वसम्मत निष्कर्ष निस्कियो । जीवनभरी लडेका परिवर्तन गरेका नेताहरू गणतन्त्रको रक्षा गर्नेमा प्रतिवद्ध छौं ।’
उनले राजनीतिक परिवर्तनको सापेक्षतामा जनता सन्तुष्ट भने नभएको अहिलेको परिवेशमा दल, सरकारी निकाय र सरोकारवाला बसेर वर्तमान आर्थिक चित्र प्रस्तुत गरी निष्कर्षमा पुर्याउने गरी योजना बनाउन प्रधानमन्त्रीले प्रतिवद्धता जनाएको बताइन् ।
‘शान्ति, संविधान र व्यवस्थाप्रति जसरी आक्रमण र भड्काउने प्रयास भएको छ त्यसबारेमा सबै दलका नेताहरूले धारणा राख्नुभयो’, बैठकमा सहभागी एमाले सचेतक महेश बर्तौलाले भने, ‘ विशेष गरी व्यवस्था जोगाउने कुरामा सबैको एक मत देखियो ।’
एमाले सचेतक महेश बर्तौलाले पार्टीले सरकारका अकर्मण्यताले छाडातन्त्र मौलाएको, गृहप्रशासन कमजोर भएको विषयमा ध्यानाकर्षण गराएको जानकारी गराए । ‘शान्ति, संविधान र व्यवस्था भड्काउने जनतामा निराशा जगाउने प्रवृत्तिबारे ध्यानाकर्षण गरायौं । जनस्तर र सामाजिक सञ्जालबाट भ्रामक टिकाटिप्पणी गराउने खेती भइरहेको छ । यसबारे गम्भीर बन्न प्रधानमन्त्रीलाई भनेका छौं’, बर्तौलाले भने ।