मंगलबार , बैसाख २९, २०८३

हेमन्त केसी /रासस

जाजरकोट। शुक्रबार बेलुकी खाना खाएर सुतेकी नलगाड नगरपालिका–३ का भावना पुनलाई मध्यरातमा अकल्पनीय रूपमा आएको भूकम्पले ब्युँतायो । उनी भूकम्पको त्यो धक्काको त्रास सम्झिएर सुत्न पाएको अवस्था छैन । उनको परिवारमा भूकम्पको त्रास जहाँको तहीँ छ । बस्ने घर भूकम्पले धुजाधुजा बनाएको छ, केही परिवारका सदस्य खुला आकाशमा रात बिताइरहेका छन् भने कोही अस्पतालमा बिरामी कुरुवाको काम गर्दै त्रासमा छन् ।

पुनजस्तै जुनिचाँदे गाउँपालिका लुहादहका सुरेन्द्र खड्का भेरीमालिका अपसेट प्रेसमा काम गरेर राति सुतेका थिए । राति निद्रामै भूकम्प आएपछि अहिले उनको बास खुला सडकमै छ । पटक–पटक गइरहेका पराकम्पले उनको बास सडकमै भएको हो । यातायातका साधन एकातिरबाट गुड्छन् भने अर्को भागमा उनीलगायत अन्य सर्वसाधारण सुतिरहेका छन् ।

कात्तिक महिनाको चिसोले उनीहरूलाई सताइरहेको छ । त्यही चिसोमा खलङ्गालगायत आसपास क्षेत्रका भूकम्पपीडितको बास हुँदै आएको छ । कुशे गाउँपालिकाका धनबहादुर सिंहले गाउँमा भूकम्पको त्रासले त्रिपाल टाँगेर बस्न बाध्य भएको बताए ।

‘घरभित्र बसिसाध्यै छैन’, उनले भने, ‘पराकम्प आइरहेका कारण कुन समय के हुन्छ थाहा छैन, मनभरि त्रासले बास गरेको छ ।’ जाजरकोटका पाँचवटा पालिकाका अधिकांश घर सग्ला छैनन् । नलगाड नगरपालिका–१ बाट ८ सम्म, भेरी–१, ३ र ४ का अधिकांश घरमा क्षति भएको छ । त्यस्तै छेडागाड, कुशे र बारेकोटमा समेत क्षति बनाएको छ । यहाँका सर्वसाधारणका घर बस्नयोग्य नै नभएको अवस्था छ । मानवीय क्षतिका हिसाबले नलगाड पहिलो नम्बरमा छ ।

नलगाडमा मात्र ५२ जनाको भूकम्पबाट मृत्यु भएको छ । यसपछि भेरी नगरपालिका रहेको छ । भेरीमा ४२ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । छेडागाड नगरपालिकामा एक, जुनिचाँदेमा एक जनाको मृत्यु भएको छ । गम्भीर प्रकृतिका बिरामीलाई मात्र बाहिर सुविधासम्पन्न ठाउँमा उपचारका लागि लगिएको छ भने अन्य बिरामीको पालिकास्थित स्वास्थ्य संस्थामा उपचार जारी रहेको छ । एक सय ५० जनाभन्दा बढीको उपचार जारी छ ।

अझै केहीले उपचार नपाएको समेत बताएका छन् । छेडागाड –७ मा भूकम्पका कारण घाइते भएका एक व्यक्तिको अहिलेसम्म उद्धार हुन नसकेको प्रमुख प्रशासकीय अधिकृत सिंहराज डाँगीले बताए । त्यहाँ एम्बुलेन्स नजाने भएकाले समस्या भएको उनले बताए । त्यस्तै गाउँ–गाउँमा फोन सम्पर्क हुन नसकेका कारण अझै गाउँमा घाइते हुनसक्ने अवस्था छ ।

पालिकाका मुकाममा रहेका घाइतेको उद्धार शनिबार बेलुकीसम्म जारी थियो । अन्य गाउँमा भएका बिरामीको गाउँमै उपचार भएको पालिकाका प्रमुखहरूले बताएका छन् । भौतिक रूपमा कति क्षति भयो भन्ने कुनै यकिन तथ्याङ्क आउन सकेको छैन । अधिकांश मृतकको सनाखत अझै हुन सकेको छैन । अहिलेसम्म पालिकाको नाम र सङ्ख्याबाहेक अन्य कुनै विवरण आउन सकेको छैन ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, ऊर्जामन्त्री शक्तिबहादुर बस्नेत, कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बेदराज सिंहले शनिबार नै भूकम्प प्रभावित क्षेत्रको स्थलगत अवलोकन गरी जानकारी लिएका थिए । शनिबार नै जिल्ला विपद् व्यवस्थापन समितिको बैठक बसी राहत र उपचारलाई व्यवस्थित बनाउन एक टोलीसमेत निर्माण गरिएको छ ।

राहत दिने र सहयोग गर्नेले एकद्वार प्रणालीबाट गर्न प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले बताए । सरकारी कार्यालयसमेत काम नलाग्ने गरी क्षति भएको उनले जानकारी दिए । प्रजिअको सरकारी आवास र जिल्ला प्रशासन कार्यालयसमेत बस्न नमिल्ने अवस्थामा पुगेको छ । -रासस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP