मंगलबार , भाद्र १६, २०८३

काठमाडौं । नेपालमा रहेका कुल घरहरु मध्ये सबैभन्दा बढी एक तले घर रहेको पाइएको छ ।

राष्ट्रिय तथ्यांक कार्यालयले सोमबार जारी गरेको राष्ट्रिय जनगणना २०७८ को तथ्यांकअनुसार नेपाल भर रहेको कुल ७५ लाख ५२ हजार ६६ वटा घरमध्ये सबैभन्दा बढी ५९.८२ प्रतिशत एक तले घर रहेको पाइएको हो ।त्यस्तै दोस्रोमा २८.७८ प्रतिशत २ तले, ९.१७ प्रतिशत ३ तले। १.३ प्रतिशत ४ तले, ०.६४ प्रतिशत ५ देखि ७ तले, ०.०१ प्रतिशत ८ देखि ९ तले र ०.००३ प्रतिशत १० भन्दा बढी तले घरहरु रहेको देखिएको छ ।

तथ्यांक अनुसार मधेश प्रदेशमा एक तला भएको घर सबैभन्दा बढी अर्थात ८४.४२ प्रतिशत रहेको छ भने पाँच वा सोभन्दा बढी तला भएको घर बागमती प्रदेशमा सबैभन्दा बढी २.३४ प्रतिशत छ ।तथ्यांक अनुसार कुल ७५ लाख ५२ हजार ६६ वटा घरहरुमध्ये सबैभन्दा बढी २७.९५ प्रतिशत घर ४ वर्षसम्म पुरानो रहेको छ भने सबैभन्दा कम १०० भन्दा बढी वर्षका घरहरु ०.५ प्रतिशत रहेको राष्ट्रिय तथ्यांक कार्यालयका उप–प्रमुख तथ्यांक अधिकारी डा. हेमराज रेग्मीले बताए ।

त्यसैगरी देशभरका कुल ६६ लाख ६० हजार ८४१ परिवार मध्ये १०.२७ प्रतिशत परिवारले आवासीय घर निर्माण गर्दा सरकारी अनुदान लिएको देखिएको छ । उक्त प्रतिशत सबैभन्दा बढी बागमती प्रदेशमा २६.६४ प्रतिशत र सबैभन्दा कम सुदूरपश्चिम प्रदेशमा २.९८ प्रतिशत रहेको छ ।

त्यसैगरी, देशभरका कुल ६६ लाख ६० हजार ८४१ परिवारमध्ये ४१ लाख २२ हजार ६९० अर्थात् ६१.८९ प्रतिशत परिवारमा कम्तिमा १ जना सदस्यको बैंक तथा वित्तीय संस्थामा खाता रहेको देखिएको छ ।कुल २ करोड ९१ लाख ६४ हजार ५७८ जनसंख्यामध्ये ७४ लाख ९ हजार १८१ जना अर्थात २५.५६ प्रतिशत व्यक्तिको बैंक तथा वित्तीय संस्थामा कम्तिमा एउटा खाता रहेको पाइएको छ ।

यसैगरी कुल १ करोड ४२ लाख ५३ हजार ५५१ जना पुरुषमध्ये २६.४२ प्रतिशत र कुल १ करोड ४९ लाख ११ हजार २७ जना महिलामध्ये २४.७४ प्रतिशतको बैंक तथा वित्तीय संस्थामा एउटा खाता रहेको छ ।

राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार देशभरका कुल ६६ लाख ६० हजार ८४१ परिवारमध्ये ८ लाख ३६ हजार १२७ अर्थात १२.५५ प्रतिशत परिवारमा कम्तीमा १ जना व्यक्तिले प्राविधिक तथा व्यवसायिक शिक्षा वा तालिम लिएको देखिएको छ । जम्मा १० लाख ८१ हजार ६४६ जना व्यक्ति अर्थात ५.६७ प्रतिशत व्यक्तिले सो तालिम लिएको जनाइएको छ ।

देशभरका कुल ६६ लाख ६० हजार ८४१ परिवारमध्ये २५.५९ प्रतिशत परिवारले कुनै बैंक तथा वित्तीय संस्था वा सहकारीबाट ऋण लिएको देखिएको छ । सबैभन्दा बढी मधेश प्रदेशमा २८.८८ प्रतिशत र सबैभन्दा कम सुदूरपश्चिम प्रदेशमा २१.९६ प्रतिशतले ऋण लिएको तथ्यांक छ ।-रासस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP