
काठमाडौं । गैरआवासीय नेपाली संघको ११औं महाधिवेशनबाट बद्री केसी निर्वाचित भएको घोषणा भएपछि भाँडभैलो मच्चिएको छ ।
महासचिवका एक उम्मेदवार डा. केशव पौडेलको काठमाडौंबाट झरेको मत शून्य देखाइएपछि उम्मेदवारहरुले मत परिणाममाथि शंका गरेका हुन् । काठमाडौंबाट ८०० भन्दा धेरैले मत खसालेका थिए । उम्मेदवार आफैंले आफैंलाई भोट नहाल्ने अवस्था हुन नसक्ने भन्दै घोषणा गरिएको मत परिणामप्रति शंका गरिएकोछ ।
निर्वाचनमा बद्री केसी १३७८ मत ल्याएर विजयी भएको घोषणा गरिएको छ । मत परिणाम घोषणासँगै शर्मा र श्रेष्ठले नतिजा स्वीकार नगर्ने बताएका छन् ।
‘यो निर्वाचन रद्द हुनुपर्छ, त्यति मात्र हैन यसमाथि गम्भीर छानबिन र दोषीलाई कडा कारबाही हुनुपर्छ ।’ मतदातालाई सम्बोधन गर्दै प्रतिस्पर्धी श्रेष्ठले भने। निर्वाचित भनिएको नयाँ कार्यसमिति भंग गरेर नयाँ निर्वाचन गराउनुपर्ने श्रेष्ठले बताए ।
अर्का प्रत्यासी आरके शर्माले अब गैरआवासीय नेपाली संघ शून्यमा गएको भन्दै परराष्ट्र मन्त्रालयको हस्तक्षेपपछि मात्र अगाडि बढ्ने बताए । अनलाइन भोटिङ सिस्टम ह्याक गरी मत परिणाम उल्ट्याइएको उनको आराेप छ ।
उपाध्यक्षमा जितेका खगेन्द्र न्यौपानेले आफूलाई जिताइएको भए पनि यो जितलाई स्वीकार नगर्ने बताए । उनले निर्वाचनमा धाँधली गरिएको दावी गरे ।डा. बद्री केसी दुई वर्षयता एनआरएनमा अध्यक्ष थिए । त्यसअघि उनी उपाध्यक्ष र महासचिव थिए ।