
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मिथ्या सूचनाले देश, जनता र व्यवस्थालाई नोक्सान पुर्याउने भन्दै सचेत रहन पत्रकारहरुलाई आग्रह गरेका छन् । शीतलनिवासमा पत्रकारसँगको भेटघाटमा राष्ट्रपतिले मिथ्या सूचनाले सत्यलाई विस्थापन गर्ने अस्वस्थ प्रतिस्पर्धा चलेको भन्दै गम्भीर चिन्ता व्यक्त गरे ।
पत्रकारिता क्षेत्रले पेशागत मूल्यमान्यता अनुरुप देश र जनतालाई सूसूचित गर्ने काममा सदैव अग्रसरता देखाएको स्मरण गर्दै उनले व्यवस्था बचाउन र शान्ति तथा विकासका लागि थप काम गर्ने पनि अपेक्षा गरे ।
‘पत्रकारिता जगत लोकतन्त्रको आधार स्तम्भ हो । विगतमा नेपाली पत्रकारिता जगतले लोकतन्त्रको स्थापना र पुनस्र्थापनमा मात्र हैन मुलुक अफ्ठ्यारो अवस्थाबाट गुज्रदाँ आफ्नो पेशागत मूल्यमान्यता अनुरुप देश र जनतालाई सूसूचित गर्ने काममा सदैव अग्रसरता देखाएको छ । ’ राष्ट्रपति पौडेलले भने, ‘यस्तो अवस्थामा पत्रकारिता जगतले सत्यतथ्य, सन्तुलित र विश्वसनीय समाचार सम्प्रेषण गरी हामीले लामो संघर्ष र वलिदानबाट प्राप्त गरेको संघीय लोकतान्त्रिक गणतन्त्र, शान्ति, विकास, सुशासन र रुपान्तरणका पक्षमा कलम चलाउनेनैछ भन्ने मलाई विश्वास छ ।’