
काठमाडौं । इजरायलबाट नेपाल आउन चाहने विद्यार्थीलाई लिन नेपाल एअरलाइन्सको जहाज त्यसतर्फ उडेको छ । नेपाल एअरलाइन्सको जहाज ढिलो गरी बिहान ४ बजे दुबई उडेको हो । परराष्ट्रमन्त्री एनपी साउद समेत सवार जहाज बिहान साढे २ बजे उड्ने तालिका रहेकोमा डेढ घन्टा ढिलो ४ बजे मात्रै उडेको हो ।
विद्यार्थीलाई लिएर जहाज बिहीबार नै बेलुकी ८ः२० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने तालिका रहेकोमा उड्न ढिलो भएकाले आउन पनि ढिलो हुनेछ ।
इजरायलका लागि नेपालका राजदूत कान्ता रिजालका अनुसार पहिलो चरणमा २५४ जना विद्यार्थी फर्काउन लागिएको हो। उनले स्वदेश फर्किन चाहनेको सङ्ख्या धेरै भएपछि पहिलो चरणमा विद्यार्थी मात्रै फर्काइने बताइन ।
त्यसपछि क्रमशः श्रमिकलाई फर्काइने छ।बुधबार बसेको मन्त्रीपरिषद्को बैठकले परराष्ट्रमन्त्री साउदको नेतृत्वमा उद्धार टोली पठाउने निर्णय गरेको थियो ।
नेपालबाट ‘लर्न एन्ड अर्न’ कार्यक्रम अन्तर्गत इजरायल गएका विद्यार्थी ल्याउने विशेष योजना हो। त्यसै कार्यक्रममा गएका १० जना विद्यार्थी भने हमासको आक्रमणमा परी दिवङ्गत भएका थिए। उनीहरूको शव भने उक्त विमानमा नल्याइने भएको छ। इजरायलको ‘प्रोटोकल’ अनुसार तत्काल शव ल्याउन नमिलेको बताइएको छ ।