
काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह बालेनले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, डाक्टर बाबुराम भट्टराई, कांग्रेस महामन्त्री गगन थापा र पूर्वउपप्रधानमन्त्री कमल थापालाई राजनीतिक बेईमान भनेका छन । सामाजिक अभियन्ता ईःका माग र फूटपाथ व्यवसायको बारेमा आप्नो धारणा सामाजिक सञ्जाल मार्फत सार्वजनिक गर्दै बालेनले एमाले अध्यक्ष ओली र कांग्रेस महामन्त्री गगन थापा लगायतका नेताले राजनीतिक बेईमानी गरेको टिप्पणी गरेका हुन् । ईः का जायज माग पुरा गर्नुे यी नेताहरुको तर्कमा बालेन कडा आपत्ति जनाएका छन् ।
‘जहाँसम्म केपी ओली, बाबुराम भट्टराई, कमल थापा, गगन थापा , स्वर्णिम वाग्ले लगायतको उपस्थिति र जायज मागहरु पुरा गर्नु पर्ने भन्ने तर्क छ, त्यसमा हामी राजनैतिक बेइमानी देख्छौं । ’ बालेनले लेखेका छन् । उनले नेताहरुलाई जायज माग भनेको के हो ? भन्दै प्रश्नै प्रश्न सोधेका छन् । उनीहरुले सस्तो लोकप्रियताका लागि यस्ता कुरा गरेको पनि उनको तर्क छ ।
ओली र गगन थापा लगायतका नेताबारे बालेन लेख्छन् :
जहाँसम्म केपी ओली, बाबुराम भट्टराई, कमल थापा, गगन थापा , स्वर्णिम वाग्ले लगायतको उपस्थिति र जायज मागहरु पुरा गर्नु पर्ने भन्ने तर्क छ, त्यसमा हामी राजनैतिक बेइमानी देख्छौं । उहाँहरु नियम बनाउने ठाउँमा हुनुहुन्छ तर खोइ त्यो बारेमा स्पष्ट नियम बनाउनु भएको ? खोइ त्यो बारेमा प्रयत्न गर्नु भएको ? सस्तो लोकप्रियताका लागि जायज माग पुरा गर् भन्ने सतही कुरा गरि त दिनु भयो तर यो माग जायज र यो नाजायज भनेर उहाँहरुले खोइ छुट्याउनु भएको ? ती जायज मागहरु पुरा गर्न नसकिने ऐन कानुनहरु बनाउने उहाँहरु नै हुनुहुन्थ्यो त । त्यति बेला उहाँले अहिले रहेको वैधानिक प्रावधानका विरुद्धमा नोट अफ डिसेन्ट खोइ लेख्नु भएको ? त्यसो होइन भने उहाँहरुले त्यो प्रावधानका बारेमा बुझाउनु पर्थ्यो । तर त्यसो गर्नु भएन । कानुनी प्रावधान सहि नलागे संशोधन गर्न पाउने अधिकार भएको मानिसहरुमा उहाँहरु पनि पर्नु हुन्छ, खोइ त्यसको लागि पहल गर्नु भएको ?’