मंगलबार , बैसाख २९, २०८३

डारविन अष्ट्रेलिया| अष्ट्रेलियाको भिक्टोरिया राज्य, मेलबर्नमा निर्माण भएको नेपाली बहुसांस्कृतिक केन्द्रमा यस वर्षको दशैं पर्वलाई विशेष उल्लासका साथ मनाइने भएको छ । दशैंको नवरात्रीभर नवाह ज्ञान महायज्ञ हुनेछ । आगामी अक्टोबर १५ देखि २४ तारिखसम्म आयोजना हुने यस धार्मिक अनुष्ठानको नेतृत्व पण्डित दिनबन्धु पोखरेलले गर्नुहुने भएको छ ।

शनिबार अष्ट्रेलियन नेप्लीज मल्टिकल्चरल सेन्टर (एएनएमसी) को परिसरमा आयोजना गरिएको पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार यस पटक दशैंको अवधिभरमा १० हजारभन्दा बढी भिक्टोरियावासी नेपालीहरुले मन्दिर भ्रमण गर्ने अपेक्षा छ । कार्यक्रममा बोल्दै एएनएमसीका अध्यक्ष गान्धीप्रसाद भट्टराईले निःशुल्क जमरा वितरणको यसअघिको कार्यक्रमलाई निरन्तरता दिइने र यस पटक दशमीका दिन मन्दिरमा नै टिका लगाउने व्यवस्था समेत गरिने जानकारी दिनुभएको छ ।

“अक्टोबर १५ देखि सुरु हुने मेलबर्न सप्ताहको दोश्रो संस्करणको मुख्य उद्देश्य कम्तिमा एक पटक भएपनि भिक्टोरियामा बसोबास गर्ने नेपालीहरु आफ्नै मन्दिर परिसरमा मा आउन् भन्ने नै हो”, एएनएमसीका सहकोषाध्यक्ष एवं मेलबर्न सप्ताहका संयोजक अनन्त पौडेलको भनाई छ । पत्रकार सम्मेलनमा अनलाईन र प्रत्यक्ष रुपमा सहभागी भएका पत्रकारहरुको जिज्ञासाको जवाफ दिँदै सचिव डा. तिलक पोखरेलले १५ अक्टोबरमा कलश यात्राका साथ महायज्ञ सुरु हुने जानकारी दिए । अन्य दिन सोमबारदेखि शुक्रबारसम्म दिउँसो ४ बजेदेखि राति ८ः३० बजेसम्म, शनिबार र आईतबार दिउँसो २ बजेदेखि साँझ साढे ८ बजेसम्म सप्ताह तथा नवाह कथावाचन गरिनेछ ।

 

आरति हरेक दिन साँझ ७ः३० बजे गर्ने योजना छ । महायज्ञको समापन विजया दशमीको दिन अक्टोबर २४ मा टीका जमरा सहित गरिनेछ भने अक्टोबर २२ तारिखका दिन भिक्टोरिया राज्यका बहुसांस्कृतिक मन्त्रीका साथै अन्य अतिथिहरुको उपस्थितिमा नवनिर्मित संरचनाहरुको उद्घाटन गरिनेछ । भिक्टोरिया राज्य सरकारको अनुदानमा हालै मन्दिर परिसरमा सार्वजनिक शौचालय निर्माण, कार्यक्रमहरु गर्नका निम्ति छुट्टै स्टेजसहितको व्यवस्था, परिसरको सुरक्षा व्यवस्थाका लागि सीसीटिभी लगायतको जडान गरिएको थियो । केही समय अघि मन्दिरमा भगवान पशुपतिनाथ, गणेश र दुर्गा भवानीको मूर्तिमा प्राणप्रतिष्ठा सम्पन्न गरिएको थियो । यस्तै भगवान गौतम बुद्धको मूर्ति स्थापना गरी यसलाई ध्यान केन्द्र समेत सञ्चालन गरिएको छ । करिब १ सय १५ रोपनी क्षेत्रफलमा फैलिएको बहुसांस्कृतिक केन्द्रको बृहद गुरुयोजना अन्तर्गत यसलाई मर्मत, निर्माण गरिएको हो ।

भिक्टोरिया राज्य सरकारले गत वर्षमात्रै करिब ६ लाख अष्ट्रेलियन डलर अनुदान दिएको थियो । पत्रकार सम्मेलनमा अष्ट्रेलियन नेप्लीज जर्नलिष्ट एशोसिएसनका अध्यक्ष चिरञ्जीवी देवकोटा, एएनएमसीका सहसचिव शैलेश घिमिरेले अष्ट्रेलियामै पहिलो पटक आफ्नै बहुसांस्कृतिक केन्द्र स्थापना गरी चाडवाड संयुक्त रुपमा मनाउन थाल्नु ऐतिहासिक उपलब्धी भएको र सबै मिलेर सफल बनाउनुपर्ने धारणा राख्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP