
काठमाडौं । सहकारीमा फसेको रकम उठाइदिन र ठगलाई कारवाहीको माग गर्दै अभिनेत्रीहरु बसुन्धरा भुसाल र चैत्यदेवी माइतीघर मण्डलामा दशघण्टे अनसनमा बसेका छन् ।
सहकारी पीडितले ६१ दिनदेखि माइतीघरमा जारी रहेको धर्नामा नेपाली फिल्मका दुई वरिष्ठ अभिनेत्रीहरु पनि सोमबार सहभागी भएका हुन् । सोमबार राति १० बजेसम्म उनीहरुले धर्ना दिनेछन् । सिभिल सहकारीमा आफूहरुको २ करोड ६० लाख रुपैयाँ फसेको उनीहरुले बताएका छन्। सहकारीसँग पटक–पटक रकम माग्दा पनि फिर्ता नपाएको उनीहरुको गुनासो छ।
अभिनेत्री चैत्यदेवीले आफूले माग्दा पनि रकम नपाएको गुनासो गरिन् । फसेको रकम झिक्न पहल गर्न भन्दै बसुन्धरा, चैत्यदेवी र भुवन चन्दले प्रधानमन्त्रीदेखि दलका शीर्ष नेताहरुलाई भेटिसकेका छन् । तर कहींबाट पहल नभएपछि आफूहरु धर्नामा बस्न बाध्य भएको उनीहरुले बताएका छन् ।
चैत्यदेवी र बसुन्धराका आफन्त र परिवारका १४ जना सदस्यले जम्मा गरेको दुई करोड ६० लाख रुपैयाँ फसेको जनाइएको छ । साथै, सामाजिक संस्था भुवन चैत्य बसुन्धरा फाउण्डेसनको नामबाट सिभिल सहकारीमा जम्मा गरिएको १५ लाख रुपैयाँ समेत फसेको छ ।