
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादीसहितका दलले बनाउने भनेको समाजवादी मोर्चाको कुनै औचित्य नभएको टिप्पणी गरेका छन् ।
शनिबार आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले सँगसँगै रहेका दलहरुले समाजवादी मोर्चा बनाइरहनुको अर्थ नहुने बताएका हुन् ।‘समाजवादी मोर्चा बनाएर हुन्छ के ? किन बनाउने त्यो ? तिनै चिनेका मान्छे हो, सँगै हिँडिरहेका छन् ।’ ओलीले प्रश्न गरे, मोर्चा भने पनि नभने पनि लिभिङ टुगेदर चलेकै छ । के मोर्चा के नमोर्चा ? ’
उनले यस्ता मोर्चाको आस वास्ता गरिरहनुनपर्ने भन्दै २०८४ सालको आम चुनावबाट एमालेलाई बलियो राष्ट्रिय शक्ति बनाउने मिसनमा लाग्न कार्यकर्तालाई आग्रह गरे ।
‘यो चारतिर फर्केका, चारतिरका गलत गलत फरक फरक उद्देश्य बोकेका त्यस्ता तत्व एक ठाउँमा जम्मा भएर शराष्ट्रिय शक्ति बन्दैन’ उनले भने, ‘एमालेलाई सरकारबाट बाहिर राख्न एक छिनलाई हुन सक्छ । ०८४ सम्मलाई हुन सक्छ । हामीले मिसन ८४ को तयारी गर्नुपर्छ । राष्ट्रिय शक्ति निर्माण गर्नुछ । जसलाई कसैले पराजित गर्न नसकोस् ।’
अहिले एमालेसँग मुकाबिला गर्न र कांग्रेसलाई तर्साउन मात्र मोर्चा घोषणाको कुरा गरिएको ओलीले टिप्पणी गरे । नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, नेपाल कम्युनिष्ट पार्टी र नेपाल समाजवादी पार्टीबीच समाजवादी मोर्चा बनाएर जाने अन्तिम तयारी चलिरहेको छ ।