
काठमाडौं / नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले कोशीमा नामाकरणविरुद्ध भइरहेको आन्दोलनको एमालेले प्रतिवाद गर्ने बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले माओवादीले पहिले कोशी प्रदेश नामकरणमा साथ दिएको र पछि पुनर्विचार गर्नुपर्छ भनेर भड्काइरहेको आरोप समेत लगाए ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशमा नामकरणविरुद्ध भइरहेको आन्दोलनमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रत्यक्ष संलग्नता रहेको बताए । अब नेकपा एमालेले तयारीका साथ दनक दिनुपर्ने अवस्था भयो । किनभने सरकारले यस्तो गराइरहेको छ भने एमाले चुप लागेर बस्न सक्दैन’, उनले भने । कोशीमा प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री नारायणकाजी श्रेष्ठले एमालेविरुद्ध पहिचानको नाममा मान्छे भड्काइरहेको ओलीको आरोप छ ।