मंगलबार , बैसाख २९, २०८३

एउटै एज्डकेयरमा काम गर्ने एक नेपाली दम्पत्तिको सडक दुर्घटनामा परी निधन भएको छ । स्थानीय कोफिल्ड दक्षिणमा सोमबार राति उनीहरु हरियो बत्तिमा सडकको देव्रेतिर घुम्दै गरेको अवस्थामा अर्को दिशाबाट आएको विएमडब्लु कारले रेडलाईटमा नै कारलाई तिव्र गतिमा ठोक्काएको थियो । २० वर्षीय एक युवकले चलाएको उक्त विएमडब्लु कार कम्तिमा पनि १ सय ४० किलोमिटर प्रतिघण्टाको गतिमा कुदाइएको थियो ।

रूपन्देहीका सन्तोष अधिकारीले अघिल्लो शनिबार मात्रै अस्ट्रेलियाको मेलबर्नबाट घरमा फोन गरेका थिए। सियारी गाउँपालिका वडा नम्बर ४, छपिया रहेको उनको घरमा ८४ वर्षीया हजुरआमा जयकला, आमा पुनम र बुवा गणेश छन्।

भिडिओ-कलमा भएको उक्त कुराकानीमा सन्तोषले तीनै जनासँग लामो गफगाफ गरे। अब अस्ट्रेलियाको बसाइ छोट्याउने र आउने दसैंमा घर फर्किने तयारीमा रहेको सुनाए।

सन्तोषकी एक मात्र बहिनी शिल्पाको बिहे भइसकेको छ। बहिनीसँग पनि उनको भिडिओ-कलमा कुराकानी भइरहन्थ्यो।

छोरा अध्ययनका लागि सात समुद्रपारिको देश गए पनि भिडिओमा कुराकानीले भइरहने भएकाले परिवारलाई धेरै न्यास्रो हुन दिन्थेन। स्थानीय लिटल फ्लावर्स इङ्लिस सेकेन्डरी स्कुल सौ फर्साटिकरबाट एसइइ पास गरेका सन्तोषले बुटवलको तिलोत्तमा क्याम्पसबाट प्लस-टु पढेका थिए।

त्यसपछि कालिकानगरस्थित क्षितिज इन्टरनेसनल कलेजबाट बिबिए उत्तीर्ण गरे। विदेशमा गएर स्नातकोत्तर पढ्ने भन्दै २०७४ सालमा उनी अस्ट्रेलिया गएका थिए।

सन्तोषले अस्ट्रेलिया जानुअगाडि, २०७४ सालमै पूर्वी नवलपरासीस्थित रजहरकी प्रतिमा थापासँग बिहे गरेका थिए। सन्तोष बिहेलगत्तै अस्ट्रेलिया गए भने प्रतिमा ६ महिनापछि गइन्।

३३ वर्षीय सन्तोष र २४ वर्षीया प्रतिमा दुवै अस्ट्रेलियामा कमाउँदै पढ्दै थिए। नियमित रूपमा घरमा फोन गरिरहन्थे। बिहे गरेलगत्तै अस्ट्रेलिया गएका छोराबुहारी पाँच वर्षपछि दसैंमा पहिलोपटक घर आउने खबरले अधिकारी परिवारमा खुसी छाएको थियो।

हजुरआमाको हातबाट टीका लगाउने र आशीर्वाद थाप्न पाउने कुराले सन्तोष र प्रतिमा पनि उत्साहित थिए। परिवारसँगको कुराकानीमा उनीहरूले उक्त कुरा बताएका थिए।

तर अधिकारी परिवारको त्यो खुसी दुई दिन पनि रहन पाएन।

गत सोमबार मेलबर्नमा भएको सडक दुर्घटनामा सन्तोष र प्रतिमा दुवैले ज्यान गुमाए।

अहिले अधिकारी परिवार मात्र होइन, सिंगो छपिया गाउँ नै शोकमा डुबेको छ।

नेपाली समयअनुसार गत सोमबार साँझ साढे ६ बजेतिर सन्तोष र प्रतिमा कामबाट घर फर्किँदै थिए।

मृतक सन्तोषका काका सुनील अधिकारीका अनुसार अर्को दिशाबाट तीव्र गतिमा हुइँकिएर आएको कारले सन्तोष र प्रतिमा चढेको कारलाई ठक्कर दियो।

२० वर्षीय युवकले चलाएको उक्त कार १ सय ४० किलोमिटर प्रतिघन्टाको रफ्तारमा भएको स्थानीय प्रहरीले बताएको सुनीलले जानकारी दिए। प्रत्यक्षदर्शीका अनुसार सन्तोष र प्रतिमा दुवैको घटनास्थलमै मृत्यु भएको सुनीलले बताए।

सोमबार साँझ भएको उक्त दुर्घटनाको खबर छपियामा रहेका सन्तोषका परिवारले मंगलबार बिहान मात्रै पाएका थिए। मेलबर्नमा रहेका सन्तोषका आफन्त पुस्कर भुसालले घटनाबारे परिवारलाई जानकारी गराएका हुन्।

काका सुनीलका अनुसार छोराबुहारीको अप्रत्याशित मृत्युको खबरले उनीहरूको परिवार विक्षिप्त छ।

‘छोराबुहारी बितेको थाहा पाएपछि हजुरआमा र आमालाई सम्हाल्नै गाह्रो भएको छ। दसैंमा आउँछु हजुरआमा भनेर फोन गरेको नाति दुई दिनपछि बितेको खबर सुनाउँदा कस्तो भयो होला,’ सुनीलले भने।

मेलबर्नमा अध्ययनसँगै सन्तोष र प्रतिमा एज्डकेयरमा सँगै काम गर्थे।

‘पढ्न गएका छोराबुहारीले काम गरेर कमाइ पनि राम्रै गर्दै थिए। दैवको लीला यस्तै रहेछ! दुवै जनालाई एकैपटक चुँडेर लग्यो,’ सुनीलले भने।

मृतक दुवै जनाको शव पोस्टमर्टम गरेर नेपाल ल्याउने प्रक्रिया सुरू गरिएको सुनीलले बताए।

‘दसैंमा छोराबुहारीलाई स्वागत गर्ने तयारी गरिरहेको घरमा दुवैको शव ल्याउनुपर्ने संकट आइलाग्यो। यस्तो अवस्था कसैलाई नपरोस्,’ उनले भने।

@Setopati/ Bhagwati Pandey

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP