मंगलबार , बैसाख २९, २०८३

संसदको सबभन्दा ठूलो दल भएर पनि प्रतिपक्षमा पुगेको नेपाली कांग्रेसले राष्ट्रपतिमा ‘राजनीतिक बाजी’ मागेको छ ।

राष्ट्रपति निर्वाचनमा कांग्रेसका उम्मेदवारले सरकारको नेतृत्व गरेको माओवादी केन्द्रसहित ७ दलको समर्थन पाउने भएका छन् ।

शुक्रबार साँझ बालुवाटारमा बसेको बैठकमा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड स्वयंमले राष्ट्रपति निर्वाचनमा कांग्रेसलाई समर्थन गर्ने प्रस्ताव राखेका थिए ।

राष्ट्रपति आफूले पाउनुपर्ने कांग्रेसको दाबी नै थियो । राष्ट्रपतिमा दाबी गर्दै आएको एकीकृत समाजवादीका साथै जनता समाजवादी, जनमत, लोकतान्त्रिक समाजवादी, नागरिक उन्मुक्ति र राष्ट्रिय जनमोर्चाले पनि प्रचण्डको प्रस्तावलाई समर्थन गरेका छन् ।

एकीकृत समाजवादीका प्रमुख सचेतक प्रकाश ज्वाला भन्छन्, ‘राष्ट्रपतिको निर्वाचनमा नेपाली कांग्रेसको उम्मेदवारलाई समर्थन गर्ने टुंगो लागेको छ । उम्मेदवारका सन्दर्भमा कांग्रेसले निर्णय गर्छ ।’

राष्ट्रपतिको उम्मेदवार तय गर्न कांग्रेसले भोलि बिहान साढे ८ बजे कार्यसम्पादन समितिको बैठक बोलाएको छ । कांग्रेसमा वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्ण सिटौलाको दाबी छ ।

कपितयले सभापति शेरबहादुर देउवा राष्ट्रपति बन्न सुझाएका छन् । तर उनले अहिलेसम्म कुनै रुची देखाएका छैनन् । एक नेता भन्छन्, ‘उहाँले नै चाहनुभयो भने त सजिलै सहमति जुट्छ, तर अहिलेसम्म उहाँले आफू उम्मेदवार बन्ने संकेत समेत गर्नु भएको छ ।’

त्यसैले भोलि पौडेल र सिटौला मध्ये एक उम्मेदवार हुने सम्भावना छ । कांग्रेसका शीर्ष नेताहरुका अनुसार कांग्रेसबाट राष्ट्रपतिको उम्मेदवारमा पौडेलको नाम करिब टुंगिए जस्तै हो ।

यद्यपि सिटौलाले अझै आश मारिसकेका छैनन् । उनले आफूलाई राष्ट्रपतिको उम्मेदवार बनाउन लबिङ गर्दै आएका छन् । बन्द कोठामा हुने कतिपय छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड स्वयंमले सिटौलाको नाम लिने उनी निकटवर्तीहरुको दाबी छ । तर कसलाई उम्मेदवार बनाउने भन्ने कांग्रेसको विषय भएको र सभापति देउवासहित संस्थापन पक्षका सबैजसो नेता पौडेलको पक्षमा रहेको नेताहरु बताउँछन् ।

संसदीय दलको निर्वाचनका क्रममा पौडेललाई वचन दिएका कारण पनि देउवा दबावमा छन् । १४औं महाधिवेशनमा तटस्थ रहेर देउवालाई सहयोग गरेका पौडेल संसदीय दलको चुनावमा प्रस्तावक नै बसेका थिए । देउवा पक्षका केही नेता राष्ट्रपति बनाउने प्रतिवद्धता जनाएपछि मात्र पौडेल देउवाको समर्थन बसेको नेताहरु बताउँछन् ।

सहज अंकगणित

माओवादी केन्द्रसहितका दलको समर्थन पाएपछि राष्ट्रपतिको चुनावमा कांग्रेसको जित पक्का जस्तै छ ।

संघीय र प्रदेश सभाका सांसदको मतदानबाट राष्ट्रपति हुन कुल ५२ हजार ६२८ मत भारमा ५० प्रतिशत बढी अर्थात २६ हजार ३१५ मतभार पुर्‍याउनु पर्दछ ।

कांग्रेससँग १६ हजार १४२, माओवादीसँग ७ हजार ७४५, एकीकृत समाजवादीसँग दुई हजार ५७४, जसपासँग दुई हजार १४५ मतभार छ । जनमत, नागरिक उन्मुक्ति, लोसपा र राष्ट्रिय जनमोर्चा पनि थपिएकाले २५ फागुनमा हुने निर्वाचनको नतिताप्रति कांग्रेस ढुक्क छ ।

@onlinekhabar

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP