मंगलबार , बैसाख २९, २०८३

नेपालले आईसीसी क्रिकेट विश्वकप लिग टूको च्याम्पियन बन्ने निश्चित भइसकेको स्कटल्याण्डलाई ३ विकेटले हराएको छ ।

मंगलबार नामिवियाविरुद्ध कीर्तिमानी लक्ष्य भेट्टाएको नेपालले शुक्रबार दोस्रो ठूलो लक्ष्य पूरा गरेको हो । एकदिवशीय क्रिकेटमा नेपाली खेलाडीको ब्याटबाट लगातार एकरुपको प्रदर्शन भएको पहिलोपल्ट हो । लिग टूको २६ औं खेलसम्म आउँदा नेपालले लगातार जित हासिल गरेको पनि यो पहिलो अवसर हो ।

लिग टूमा नेदरल्याण्ड्सबाहेक एकदिवशीय मान्यताप्राप्त सात एशोसिएट टिमको सहभागिता छ । सन् २०१९ को अगष्टदेखि सुरु भएको तीनवर्षे लिगमा हरेक टिमले ९ वटा त्रिकोणात्मक श्रङ्ंखला खेल्नुपर्नेछ र कुल ३६ खेल खेल्नेछ ।

घरेलु मैदानमा दोस्रो श्रृङ्खला खेल्नुअघि नेपाली क्रिकेट नेपाल टी–२० लिगको स्पट फिक्सिङ र सन्दीप लामिछानेको पुनरागमन विवादबाट गुज्रिएको थियो । तर, खेलाडीहरुले सबै विवाद भुलेर मैदानमा सुधारिएको प्रदर्शन गरेका छन् ।

नामिवियाले दिएको २८६ रनको लक्ष्य भेट्टाउने क्रममा नेपालले एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो सर्वाधिक योगफल खडा गर्यो । शुक्रबार स्कटल्याण्डले दिएको २७५ रनको लक्ष्य इनिङ्सको १८ बल बाँकी छँदै पूरा गर्यो ।

दुई खेलमा परिवेश भने फरक थियो । नामिवियासँग नेपालका शीर्षक्रमका ब्याटरहरुले सम्हालिएर प्रदर्शन गरेका थिए । ओपनर कुशल भुर्तेल (११५) र चौथो नम्बरमा आएका कप्तान रोहितकुमार पौडेल (७१)ले तेस्रो विकेटका लागि १३३ रनको साझेदारी गरेका थिए । जुन एकदिवशीय अन्तर्राष्ट्रियमा नेपालको सर्वाधिक साझेदारी हो । सन्दीप जोरा र करण केसीले फिनिसरको भूमिका निभाएका थिए ।

स्कटल्याण्डसँग खेल्दा भने यति ठूलो लक्ष्यको अपेक्षा थिएन । किनकी १११ रन जोड्दा स्कटल्याण्डले ६ विकेट गुमाएको थियो । तर सातौं नम्बरमा आएका माइकल लिस्कले शतक बनाएपछि ठूलो योगफल तयार भयो ।

जवाफमा नेपालको सुरुवात निकै कमजोर रह्यो । नेपालले ७७ रनाउँदा ५ विकेट गुमाइसकेको थियो । तर मध्यक्रमका ब्याट्सम्यानद्धय दीपेन्द्रसिंह ऐरी (अविजित ८५) र युवा ब्याटर कुशल मल्ल (८१)ले शतकीय साझेदारी गरे । कुशल आउट भएपछि क्रिजमा टिकेका दीपेन्द्रले फिनिसरको भूमिका निभाए ।

फरक खेलमा फरक खेलाडीले जिम्मेवारी सम्हाल्नुलाई नवनियुक्त प्रमुख प्रशिक्षक मोन्टी देशाईको ‘ह्याप्पी ड्रेसिङ रुम’को रणनीतिकै प्रतिफलका मान्न सकिन्छ ।

त्यसमात्र होइन, लगातार विकेट गइरहेको अवस्थालाई कसरी संहालेर खेल्ने भनेर पनि आजको खेलमा नेपाली खेलाडीहरुले देखाए । ‘उनीहरुले एक प्रतिस्पर्धात्मक लक्ष्य बनाए । हामीले ड्रेसिङ रुममा आएर हामीले सक्छौं भन्ने मानसिकता बनायौं । यसको लागि सबै खेलाडीको साहसलाई मान्नै पर्छ । खेलाडीसँग स्किल छ उनीहरुले कसरी देखाउने भन्ने कुरा हो,’ खेलपछि पत्रकार सम्मेलनमा उपस्थित भएका प्रशिक्षक मोन्टी देशाईले भने ।

एकदिवशीय क्रिकेटमा ठूलो लक्ष्यलाई कसरी सम्हाल्ने भनेर आत्मविश्वास भर्न नयाँ प्रशिक्षक मोन्टीको भूमिकाबारे कप्तान रोहित र सिनियर खेलाडी दीपेन्द्रले प्रशंशा गरे ।

प्रशिक्षक मोन्टी भने खेलाडीहरुको तारिफ गरे । ‘नेपाली खेलाडीमा बाउन्ड्री तथा रन हान्ने क्षमता छ । त्यही क्षमतालाई अहिले उनीहरुले देशको लागि खेल्दा देखाइरहेका छन्,’ उनले भने, ‘यो सबै उनीहरुकै मिहेनत हो । नामवियासँगको अर्को खेलमा पनि यस्तै परिणामले निरन्तरता पाएको देख्न चाहन्छु ।’

लिग टू अन्त्यतिर लयमा देखिएको नेपाल

नेपालले २ चैतसम्म लिग टूमा अब १० खेल खेल्नुछ । त्यसमध्ये ६ खेल त्रिवि मैदानमा हुनेछ भने चार खेल दुबईमा हुनेछ । शुक्रबार प्लेयर अफ द म्याच चुनिएका दीपेन्द्र त हरेक खेल फाइनल बराबर मान्छन् । प्रशिक्षक देशाईले विदेशी भूमिमा पनि यस्तै प्रदर्शनका लागि टिमलाई तयार पार्दै गरेको बताएका छन् ।

किनकी एकदिवशीय विश्वकपका लागि ग्लोबल क्वालिफायरमा पुग्ने अवसर र चार वर्षअघि पाएको एकदिवशीय मान्यतालाई अर्को चार वर्षसम्म निरन्तरता दिन बाँकी सबै खेलमा यस्तै ब्याटिङ निरन्तरता दिनुपर्ने हुन्छ ।

यसअघि नेपालले धेरैजसो खेलमा जित नजिक पुगेर पनि पराजित हुनुपरेकाले पनि यस्तो नतिजा अनिवार्यजस्तै भएको छ ।

लिग टू मा २०२१ मा ओमानमा भएको खेलमा अमेरिकाले दिएको २३१ रनको लक्ष्य पूरा गरेको थियो भने २०२२ जुनमा अमेरिकामै भएको खेलमा घरेलु टोलीविरुद्ध २७४ रन बनाएको थियो । त्यो खेलमा स्कोर बराबर भएपछि अंक बाँडियो ।

घरेलु मैदानमा श्रृङ्खला खेल्नुअघि नेपालले ६ श्रृङ्खलामा २४ खेल खेल्दा जम्मा एक तिहाई अर्थात ८ खेल मात्र जितेको छ । १४ खेलमा नेपाल पराजित भएको थियो । एक खेल बराबर भएको थियो भने एक खेल वर्षाले प्रभावित बन्दा अंक बाँडिएको थियो । नेपालले अमेरिकालाई ३ पटक, ओमान र पपुवा न्यु गिनीलाई २–२ पटक तथा स्कटल्याण्डलाई १ पटक पराजित गरेको थियो ।

यसअघि नेपालले पराजय ब्यहोरेको खेलमा ब्याटिङकै कमजोर प्रदर्शन कारण थियो । आवश्यक समयमा ब्याटरहरुले रन जोड्न नसक्दा नेपालले सामान्य लक्ष्यसमेत भेट्टाउन सकेन भने विपक्षीलाई पनि ठूलो लक्ष्य दिन सकेको थिएन ।

सन् २०२० फेब्रुअरी (२०७६ माघ)मा नेपालले घरेलु मैदानमा ओमानविरुद्ध खेल्दै लिग टु मा डेब्यू गरेको हो । उक्त खेलमा १९८ रनको लक्ष्य पछ्याएको नेपाल ४६.५ ओभरमा अलआउट हुँदा १८ रनले पराजित भयो । त्यसपछि नेपालले अमेरिकालाई ३५ रनले पराजित गर्द लिग टू मा पहिलो जित दर्ता गरेको हो ।

ओमानविरुद्ध अर्को खेलमा २४९ रन बनाउँदासमेत नेपाल ८ विकेटले पराजित भयो । अर्कोे खेलमा अमेरिकालाई ३५ रनमा अलआउट गर्दै नेपालले कीर्तिमानी जित निकाल्यो ।

घरेलु मैदानमा पहिलो लिग टू श्रृङ्खला मिश्रित प्रदर्शन गरे पनि नेपालले त्यसपछिका श्रृङ्खलामा कायम राख्न सकेन । पहिलो श्रृङ्खला खेलेको झण्डै डेढ वर्षपछि मात्रै नेपालले २०२१ सेप्टेम्बरमा ओमान र अमेरिकासँगै ओमानमा दोस्रो श्रृङ्खला खेल्यो । जहाँ नेपालले दुवै टिमलाई एक–एक पटक हरायो भने एक–एक पटक पराजित भयो ।

मार्चमा युएई र पपुवा न्यु गिनीसहितको श्रृङ्खला यूएईमा खेल्यो, जहाँ नेपालले पपुवा न्युगिनीलाई दुवै खेलमा हरायो । तर घरेलु टोली युएईसँग नेपालको ब्याटिङ चलेन । १६९ र २०३ रनको लक्ष्य पछ्याउँदा पनि ३६ ओभरमै अलआउट हुँदै नेपालले हार बेहोरेको थियो । सन् २०२२ जुनमा नेपालले ओमान र अमेरिकासँग खेल्यो । नेपालले ओमानलाई एक खेलमा हराउँदा घरेलु टोली अमेरिकासँग एक खेलमा बराबर गरेको थियो । बाँकी दुई खेलमा पराजित भयो ।

त्यसपछिका दुई श्रृङ्खलामा नेपालको प्रदर्शन झन् कमजोर रह्यो । जुलाई २०२२स्कटल्याण्डमा नेपालले स्कटल्याण्डलाई हराएर इतिहास रचे पनि नामिबियासँगको दुई खेलमा पराजित भयो र स्कटल्याण्डसँग पनि एक खेलमा पराजित भयो । गत डिसेम्बरमा यही दुई टोलीसँग नामिवियामा खेल्दा नेपाल जितविहीन बन्यो । तीन खेलमा पराजित हुँदा नामिबियासँग एक खेल वर्षाले रद्द भयो । यो मात्रै एक श्रृङ्खला हो जहाँ नेपालले एक खेल पनि जित्न सकेन ।

यसअघिका ६ श्रृङ्खलामा नेपालले ब्याटिङमा एकरुपको प्रदर्शन थिएन । पूरा ओभर खेल्न नसक्नु र व्यक्तिगत ठूलो स्कोर गर्न नसक्नु नेपालको कमजोरी थियो । ६ श्रृङ्खलामा शतक प्रहार गर्न नसकेका नेपाली खेलाडीले अहिले त्यो सफलता पाएका छन् र, बाँकी खेलका लागि आश जगाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP