आइतबार , भाद्र १४, २०८३

बुटवल ­ नेपालबाट दैनिक एक हजार ३ सय युवा रोजगारीका लागि बाहिरिन्छन् । यसबाट देशमा प्रतिदिन २ अर्ब ७५ करोड ९७ लाख रुपैयाँ रेमिट्यान्स भित्रिन्छ । कुल गार्हस्थ उत्पादनमा वैदेशिक रोजगारीको भाग २८–२८ प्रतिशत छ । देशको यतिठूलो अर्थतन्त्र धान्ने वैदेशिक रोजगारीलाई व्यवस्थित गर्न र परदेशमा बगाएको पसिनाबाट सिर्जीत रकमको सही सदुपयोगमा भने राज्यको ध्यान जान सकेको छैन । राज्य अभिभावक भएर वैदेशिक रोजगारीमा जानेबेलादेखि फर्केसम्म सहजीकरण गरेमात्रै रेमिट्यान्सको सही सदुपयोग हुने उनीहरुले जनाए ।

बुटवलमा शुक्रबार आयोजना गरेको ‘परदेशको पसिना ः कसरी लिने प्रतिफल ?’ विषयमा केन्द्रीत रहेर वैदेशिक रोजगारी, श्रम आप्रवासन र अवसरका ढोका विषयमा छलफल गरे । अन्तरक्रियामा सहभागीले राज्यले मैले गरेको लगानी डुब्दैन भन्ने वातावरण बनाइदिनुपर्ने र वैदेशिक रोजगारीलाई व्यवस्थित बनाएर समृद्धि खोज्नुपर्ने सुझाब दिए । वैदेशिक रोजगारीबाट फर्केकाले लिएर आउने रकम मात्र होइन ज्ञान, सीप र उद्यमी बन्ने खुबीलाई प्रयोग गर्न सरकारी नीतिमा सुधार ल्याउन माग गरे । ‘हामी विदेशमा सिकेको सीप, त्यहा कमाएको रकम यहाँ उपयोग गर्न चाहान्छौं,’ ८ वर्ष खाडी मूलुकमा बसेर फर्केका नवराज भुसालले भने, ‘तर कहांबाट सुरु गर्ने र अगाडि बढ्ने दिसानिर्देश गर्ने कोही छैन ।’

वैदेशिक रोजगारीबाट फर्केका दुर्गा भुसालले अस्पष्ट नीति, अदुरदर्शी नेतृत्व र भ्रष्ट कर्मचारीतन्त्रका कारण वैदेशिक रोजगारीको रकमको सही सदुपयोग र फर्किएकाहरू उद्यमी बन्न नसकिरहेको बताए । उनले वैदेशिक रोजगारीमा जानेको निश्चित प्रतिशत रकम बैंकमा अनिवार्य जम्मा गर्ने नीति मात्रै बनाउन सकेपनि फर्केपछि सहज हुने जनाए । उनले वैदेशिक रोजगारीमा जानेलाई पनि एउटा आधारभूत आवश्यकता पूरा गर्न रकम जम्मा गर्ने र अर्को लगानी गर्न बचत गर्ने प्रयोजनमा दुईवटा बैंक खाता अनिवार्य गर्न सके उत्पादनमूलक क्षेत्रमा रेमिट्यान्सको सदुपयोग हुने बताए ।

विश्लेषक ध्रुब आचार्यले रेमिट्यान्सको सही सदुपयोगका लागि वैदेशिक रोजगारीमा गएका परिवारलाई समेत परामर्श गर्नुपर्ने बताए । ‘राज्यले नै निश्चित प्रतिशत उत्पादन क्षेत्रमा लगाइदिनुपर्छ ।’ उनले भने । विश्लेषक मनिकर कार्कीले परदेशको पसिनाको प्रतिफल निकाल्ने बहसअघि स्वदेशको पसिना स्वदेशमै कसरी लगाउने भन्नेबारे पनि छलफल चलाउन सुझाब दिए ।

तथ्यांक अनुसार वैदेशिक रेमिट्यान्स मुलुकको ६० प्रतिशत घरमा पुगेको छ । वैदेशिक रोजगारीबाट फर्केपछि पुनः दोहो¥याएर जानेको संख्या ३५ प्रतिशतभन्दा बढी छ । फर्किएकामध्ये ३७.५ प्रतिशत कृषिमा आवद्ध हुन्छन् । थोरैले मात्रै आर्थिक उपार्जनमा लगानी गर्छन् ।

किताब पब्लिसर्सले गरेको अन्तरक्रियामा बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयले वैदेशिक रोजगारीमा जाने र त्यहाँबाट फर्किएकाको तथ्यांक वडास्तरबाटै संकलन गर्ने काम भइरहेको बताए । उपमहानगरले वैदेशिक रोजगारीमा जानुपूर्व अपनाउनु पर्ने उपाय, रेमिट्यान्सको सदुपयोग र फर्केका युवाको पुर्नस्थापना गर्न उनीहरुबीच छलफल, मनोपरामर्श र उद्यमशीलता कार्यक्रमसमेत संचालन गरिएको उनले जनाए । ‘बेरोजगारलाई रोजगारीमा जोड्न, सीप सिकाउन र सीपलाई काममा जोड्न काम थालिएको छ,’ प्रमुख पाण्डेयले भने, ‘तर स्वदेशमा बस्नुपर्छ र यही काम गर्नुपर्छ भन्ने संस्कार नसिक्दासम्म समस्या छ ।’

लुम्बिनी प्रदेशका अर्थ सचिव नेत्रप्रसाद सुवेदीले प्रदेशले श्रम तथा रोजगार नीति बनाउदै गरेको बताए । वैदेशिक रोजगारीबाट फर्केका युवाको सीप मापन गर्न र उनीहरुलाई सीप अनुसारको रोजगारीमा जोड्न बजेट विनियोजन गरेको उनले जनाए । ‘वैदेशिक रोजगारीबाट फर्केका युवालाई पुर्नस्थापित गर्न उद्योग खोल्दा प्राथमिकता दिनेदेखि कृषि व्यवसाय, उद्योगधन्दा संचालनमा अनुदानको व्यवस्था गरिएको छ,’ उनले भने, ‘यद्यपि स्थानीय तहबाट यकिन तथ्यांक नआउदा कार्यान्वयनमा कठिनाइ देखिएको छ ।’ सचिव सुवेदीले परदेशको पसिनाको सही प्रतिफल निकाल्न उनीहरुले पठाउने रेमिट्यान्सको सदुपयोगबारे पनि सहजीकरण चलाउने योजना बनाएको उनले सुनाए ।

श्रमिक संजालका सदस्य संगिता तिमिल्सीनाले वैदेशिक रोजगारीबाट नेपाल भित्रिने रेमिट्यान्स धेरैजसो आधारभूत आवश्यकतामै खर्च हुदा त्यसको देखिनेगरी प्रतिफल नहुने बताइन् । ‘एउटा महिला विदेश गएर कमाएर छोराछोरी पढाउँछिन्, स्वाथ्योपचारमा खर्च गर्छिन् । यसले समाजमा शिक्षित र स्वस्थ जनशक्ति उत्पादनमा भूमिका खेल्छ,’ उनले भनिन्, ‘तर समाजले यस्तो काम देखिदैन ।’ सरकारले वैदेशिक रोजगारीलाई व्यवस्थित गर्न थुप्रै कार्यक्रम ल्याएको बताएपनि त्यसमा आफ्नो पहुंच नपुगेको उनले गुनासो गरिन् । ‘आप्रवासनबाट फर्केका महिलाको सवालमा सामाजिक विभेद र लाञ्छना बढी हुने भएकाले कतिपय महिला परिवारमै पुर्नस्थापित हुन नसक्ने र मानसिक समस्यामा फस्ने गरेका छन्,’ उनले भनिन्,‘यस्ता महिलाले समाज र राज्यबाट सहयोग पाउदैनन् ।’

लेखक रामचन्द्र श्रेष्ठले राज्य अभिभावक बनेर काम थालेमात्रै वैदेशिक रोजगारीलाई व्यवस्थीत गर्न र त्यसको आयबाट उचित प्रतिफल निकाल्न सकिने बताए । ‘वैदेशिक रोजगारीमा जान चाहनेलाई सीप र क्षमता विकासदेखि वैदेशिक रोजगारीमा उचित पारिश्रमिक दिन श्रम सम्झौता गर्ने र उनीहरुको आम्दानीलाई आयमूलक काममा लगाइदिने काम राज्यको हो । यो भूमिका राज्यले पूरा गर्नुपर्छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP